सम्पादकीय

कसरी भनौं शुभकामना!

मुलुक यतिबेला महान् पर्व दसैंको माहोलमा छ। तर, यस वर्षमा जस्तो उमंग हुनुपर्ने हो त्यो छैन। यतिबेला सिंगै मुलुक शोकमा छ। यस्तो अवस्थामा हामी कामना गर्न सक्दैनौं -सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र राष्ट्रिय तथा व्यक्तिगत संस्थामा भएको आगजनीका कारण मुलुकमा पीडाको वातावरण छ।

देशले बेलाबेलामा यथास्थितिबाट परिवर्तन खोज्छ । त्यो परिवर्तनको चाहना कहिलेकाहीं सोचेभन्दा कठिन र अप्ठ्यारो हुन्छ। यसपटकको आन्दोलनमा ७३ जनाको अनाहकमा ज्यान गरेको छ। त्यसबाहेक राष्ट्रिय सम्पत्तिमा ठुलो नोक्सानी भएको छ। नेपाललाई घुँडा टेकाउने गरी यस्तो अवस्थामा पुर्‍याइका कारण धेरैको मनमा चोट र सन्ताप छ।

यो चोटमा मलमपट्टी त्यतिबेला मात्र लाग्छ, जतिबेला दोषीमाथि कारबाही हुन्छ। एक, पहिलो दिन भदौ २३ मा भएको निहत्था नागरिकको हत्यामा संलग्नमाथि कारबाही हुनुपर्छ। दुई, राष्ट्रिय धरोहर तथा व्यक्तिको सम्पत्तिमाथि छानीछानी योजनाबद्ध रूपमा आक्रमण गर्नेहरूको पहिचान र कारबाही पनि उत्तिकै आवश्यक छ। सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड गर्नेलाई पक्राउ नगर्न प्रहरीलाई गृहमन्त्रालयको तर्फबाट दिइएको दबाबले भने चिन्ताको वातावरण सिर्जना गरेको छ। यसले मुलुकमा दण्डहीनतालाई प्रश्रय दिने खतरा बढेको छ।

अरूका सम्पत्तिमाथि आगजनी गर्ने क्रमको थालनी केहीयताका आन्दोलनमा नियमित देखिन्छ। त्यसो त २०४६ सालको जनआन्दोलनलगत्तै पनि तत्कालीन सत्ता निकट केही व्यक्तिको निजी सम्पत्तिमा आगजनी भएको थियो। प्रहरीमाथि सांघातिक आक्रमण पनि भएको हो। त्यही अवस्था पछिल्ला आन्दोलनका क्रममा पनि अनुभव भयो। तर, व्यक्तिमाथि छानीछानी आक्रमण गर्ने र सार्वजनिक सम्पत्तिमा आगो लगाउने कामको व्यापकता भने २०६१ भदौ १६ गते भएको थियो। देशभित्र त्यो बेला पनि छानीछानी मिडिया, मेनपावर र मस्जिदमा आगजनी र तोडफोड भएको थियो। त्यसबेला निकै ढिलो गरेर मात्र नेपाली सेना परिचालन भएको थियो।

यसरी सार्वजनिक सम्पत्ति र आफूसँग रिस उठेकाहरूविरुद्ध आक्रामक गतिविधि गर्ने प्रचलन निरन्तर रह्यो। मुलुकलाई हिंसा, आगजनी र तोडफोडको दुश्चक्रमा हालेको तत्कालीन माओवादीले हो। नेपाली समाजले त्राहीत्राहीमा एक दशक गुमाएको हो। माओवादी मुलुकको राजनीतिक मूलप्रवाहमा आएपछि समस्याको समाधान हुन्छ भने पनि त्यस्तो भएन। बरु नेपाली समाजमा हिंसा, आगजनी र तोडफोडको शृंखला सुरु भएको छ। आफ्ना विरोधीलाई उठिबास लगाउने यो प्रवृत्तिले बिस्तारै नेपाली समाजलाई प्रतिशोधी बनाउने र त्यसले हिंसा र हत्याको दुश्चक्रमा फसाउने अवस्था आइरहेको छ। यही अवस्था रहे आगामी दिन त्यति सुखद हुने छैनन्। यही डरले धेरैलाई देशबाट पलायन हुन बाध्य पार्छ।

गल्ती गर्नेविरुद्ध भिडले न्याय गर्ने होइन। त्यसका निम्ति राज्यका तोकिएका निकायले कानुनी कारबाही गर्नुपर्छ। आफूलाई मन परेको समूह भए त्यसलाई सजिलै छाडिदिने र विरोधीलाई मात्र कारबाही गर्ने प्रवृत्तिले समाजलाई कहीं पुर्‍याउँदैन। हामीकहाँ दण्डहीनताले प्रश्रय पाइरहने अवस्था देखिएको छ। भदौ २४ मा मुलुकमाथि ज्यादती गर्नेले छानबिन आयोग बनेको निहुँमा उन्मुक्ति पाउने हो भने दण्डहीनताले अवसर पाउनेछ। गृहमन्त्री ओमप्रकाश अर्याल आफैं मुलुकमा दण्डहीनताका विरुद्धमा सक्रिय भएका कानुन व्यवसायी हुन्। कुनै आयोग बनेकै नाममा तिनले उन्मुक्ति पाउने हुन् भने भोलि अर्को समूहले आन्दोलनका नाममा फेरि यस्तै वितण्डा मच्चाउनेछ।

तोडफोड, लुटपाट र आगजनीमा संलग्न भएका एक सयभन्दा बढीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन खोज्दा प्रहरीलाई रोक्न खोजेको यसको विज्ञप्तिबाटै देखिएको छ। तोडफोड र आगजनीलाई प्रोत्साहित गर्ने हो भने हाम्रो मुलुक आगामी दिनमा बस्नलायक हुने छैन। यसले हिंस्रक गतिविधि गर्नेलाई मौका दिने मात्र होइन, त्यसतर्फ प्रेरित गर्नेछ। संसारका लोकतन्त्रवादी भनिएका मुलुकमा कतै पनि यस्तो छुट दिएको देखिँदैन। आफूलाई सत्ताशिखरमा पुग्न सहयोग गरेकै आधारमा छुट पाउने हो भने भोलि ‘जसको लाठी उसैको भैंसी’ हुने अवस्था आउँछ।

यसै पनि जेल तोडेर भागेका, जथाभावी तोडफोड र आगजनी गरेका व्यक्तिका कारण नेपालको अन्तर्राष्ट्रिय छविमै नकारात्मक प्रभाव परेको छ। नेपालमा कानुनको शासन बहाल रहेको सन्देश दिनु पनि यति बेलाको अनिवार्य आवश्यकता हो। यस्तो अवस्थामा प्रहरीले तिनीहरूको खोजी गरी कारबाही गर्न पाउनुपर्छ। त्यति मात्र होइन, आज प्रहरी र अन्य सुरक्षा निकायको मनोबल नराम्ररी धराशायी भएको छ। दण्डहीनतालाई प्रोत्साहन दिँदा तिनले भोलि राम्ररी काम गर्न नसक्ने अवस्था आउँछ।

दसैं यसै पनि अन्यायमाथि न्यायको विजयको पर्व हो। मुलुकमा चौतर्फी आतंक मच्चाउने यस्ता व्यक्तिमाथिको कारबाहीको जगमा मात्र भविष्यमा नेपालको न्यायपूर्ण छवि बन्न सक्छ। अतः हाम्रो स्वतन्त्रता र खुसीमा धावा बोल्नेमाथि कारबाही भयो भने मात्र यथार्थमा न्याय हुनेछ। त्यसो भयो भने मात्र आगामी वर्ष बल्ल चाडपर्वको उमंग आउनेछ। आम मानिसको खुसी खोस्ने काम नगरौं। यही नै यस समयको कामना हो।  

प्रकाशित: १३ आश्विन २०८२ ०६:११ सोमबार