वैदेशिक रोजगारीमाथिको मुलुकको निर्भरतालाई लिएर बेलाबेलामा चिन्ता व्यक्त हुने गरेको छ। अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले भविष्यमा जनशक्ति ह्रास हुनसक्ने जोखिम रहेको उल्लेख गरेको छ। अहिले चर्को रूपमा देशमा रोजगारीको अभाव रहेको बताइँदै आएको छ। देशभित्रै अत्यावश्यक दक्ष जनशक्तिको अभाव छ। कैयन् प्रतिष्ठानहरूले योग्य जनशक्तिका निम्ति प्रयास गरेको देखिन्छ।
पहिलो, जोसुकैलाई वैदेशिक रोजगारी मात्र विकल्प हो भन्ने लागेको छ। यसले गर्दा धेरैले सिप सिक्नेभन्दा पनि साधारण काममा आफूलाई लगाएको देखिन्छ। सिप नचाहिने कामका लागि औपचारिक शिक्षाको पनि आवश्यकता हुन्छ। दोस्रो, देशभित्रै उपलब्ध हुने पेसा र व्यवसायलाई बेवास्ता गर्ने र विदेश जानमै जोड दिने गरेको देखिन्छ। विदेशमोह एक किसिमको देखासिकी पनि हो। तल्लोघर, पल्लोघर वा आफन्त बिदेसिएको देखेपछि सबैलाई त्यता जान मन लाग्नु स्वाभाविक हो।
देशभित्रै पनि कतिपय रोजगारीका अवसर छन्। तैपनि अपेक्षित अवसर यहाँ छैनन्। खासमा सबैभन्दा ठुलो रोजगारदाता भनेकै राज्य हो। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सार्वजनिक संस्थानमा रोजगारी सीमित मात्रामा उपलब्ध छ। राज्यकै निकायमा भइरहेको जनशक्तिलाई प्रभावकारी बनाउने हो भने थोरैबाट काम चल्छ। यस्तो अवस्थामा रोजगारीका निम्ति विदेश जानुको विकल्प देखिँदैन। यहाँ प्रतिस्पर्धाका आधारमा काम पाउन सजिलो पनि छैन। सबैले लोकसेवा आयोगका परीक्षा उत्तीर्ण गर्ने अवस्था पनि रहँदैन।
चौथो, नेपाल जीवनस्तर सर्वेक्षणअनुसार मुलुकमा बेरोजगारी दर १२.६ प्रतिशत रहेको छ। सर्वसाधारणले रोजगारी अवसरको अभावमा विदेश जानुको विकल्प नपाउन पनि सक्छन्। आखिर दैनिक जीविका चलाउनैपर्ने हुन्छ। वैदेशिक रोजगारीका लागि बितेको एक दशकमा नेपाली कामदारको वार्षिक औसत २८.६ प्रतिशत वृद्धि भएको देखिएको छ। वास्तवमा वैदेशिक रोजगारीमा जाने संख्या घट्दै जाने र जाने नै भए पनि सिप भएका व्यक्तिको संख्या बढेको भए भिन्न चित्र देख्न सकिने थियो। आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने पाँच लाख ६ हजार र पुन: श्रम स्वीकृति लिने तीन लाख ३३ हजार गरी आठ लाख ३९ हजार कामदार रहेका छन्। यो संख्या हाम्रो जस्तो मुलुकका निम्ति निकै ठुलो हो। देशभित्रै रोजगारी सिर्जना हुने हो भने यी सबैले विदेश जानैपर्ने थिएन।
त्यसो त मानिस अवसरका निम्ति विभिन्न ठाउँमा पुग्ने गर्छ। यही घुमक्कड बानीले गर्दा मानिसको विकास भएको पनि हो। तैपनि आफ्नो थातथलो छाडेर हिँड्ने पक्ष त्यति सजिलो हुँदैन। देशभित्रै उद्योगधन्दाको विकास हुने हो भने तिनले यहीं रोजगारीमा सरिक भएर परिवार चलाउन सक्ने थिए। देशको अवस्थाका कारण तिनले बाहिरिनुपरेको छ। चालु आर्थिक वर्षको चैत १२ सम्ममा श्रम स्वीकृति लिएका दुई लाख ८३ हजार पुन: श्रम स्वीकृति लिएका दुई लाख ७४ हजारसहित पाँच लाख ५७ हजार कामदारले श्रम स्वीकृति लिएको देखिएको छ। यो सबै बाध्यताको उपज हो।
सर्वसाधारण विदेशमा काम गर्न गएका कारण अर्थतन्त्रका बाह्य सूचक भने सकारात्मक देखिएका छन्। यसले गरिबी निवारणमा योगदान गरेको छ। सर्वसाधारणले वैदेशिक रोजगारीमार्फत गरेको कमाइबाट सन्तानको लालनपालन, शिक्षा र स्वास्थ्यमा उपयोग गरेका छन्। तिनले स्वास्थ्योपचारमा पनि खर्च गरेका छन्। विदेशमा थोरै भए पनि कमाइ भएका कारण सर्वसाधारणले किनेरै भए पनि सहजै खाद्यान्न र अन्य उपभोग्य सामग्री पाएका छन्।
यसले एक हदसम्म परिवारहरूलाई सहयोग गरेको छ। तर, कैयन् परिवारका बारी बाँझा छन्। देशभित्रै कामदार खोज्दा पनि नपाइने अवस्था छ। कामदार नपाएपछि स्वाभाविक रूपमा देशमा गर्नुपर्ने काम समयमा सम्पन्न नहुन सक्छ। यही अवस्था रहिरहने हो भने हाम्रा विकास निर्माणका काममा पनि यसको प्रभाव पर्ने निश्चित छ। यसकारण पनि देशभित्र पर्याप्त रोजगारी सिर्जना गरी सर्वसाधारणलाई यहीं अवसर दिलाउन प्रयास गर्नुपर्ने देखिन्छ। वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले विदेशमा गइरहेको ताँतीलाई कम गर्न चुनावमा वाचासमेत गरेको हुँदा मुलुकमा दीर्घकालीन उपाय खोजी गर्ने विश्वास गर्न सकिन्छ।
प्रकाशित: १५ वैशाख २०८३ ०६:०८ मंगलबार