सम्पादकीय

निर्यात निरन्तरता

निर्यात व्यापारमा सम्भावना भएर पनि नेपालले यसमा खोजी गरेको छैन। हाम्रो मुलुकले नयाँनयाँ क्षेत्र पहिचान गरी निर्यात व्यापार बढाउन सक्छ। हाम्रो मुलुकका निम्ति सम्भावना भएको क्षेत्र सोयाबिन तेल रहेछ भन्ने यसपटक थाहा भएको छ। एक वर्षमै नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रूपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको खबर आफैंमा सुखद छ। यो अवधिमा देशको निर्यात व्यापार सबा खर्बले बढ्नु निकै आशालाग्दो पक्ष हो। स्वदेशमै उत्पादन गरेको सोयाबिनको कच्चा पदार्थबाट तेल तयार गरी निर्यात गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।

एक आर्थिक वर्षमै निर्यात व्यापार ८२ प्रतिशतले बढेको छ। यो वृद्धिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत् खुसीसमेत व्यक्त गरेका छन्। निर्यातमा इतिहासमै ‘उच्च विन्दु’ हासिल भएको धारणा प्रधानमन्त्रीले व्यक्त गरेका छन्। गत आर्थिक वर्ष एक खर्ब २४ अर्ब रूपैयाँको निर्यात भएकोमा अहिले दुई खर्ब ७७ अर्ब तीन करोड रूपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यो खुसीयाली पछाडिको दिगोपन भने उल्लेख्य छ।

वास्तवमा हामीले जानीबुझी निर्यात व्यापार बढाउने काम गरेका छैनौं। कतिपय आन्तरिकरूपमा उत्पादन भएका वस्तुलाई प्रतिस्थापन गर्ने काम भएन। देशभित्रै उत्पादन हुन सक्ने फलफूल, तरकारी र खाद्यान्न विदेशबाट आयात गर्नुभन्दा यहीं उत्पादन गरेर उपभोग गर्नु राम्रो हो। त्यसका लागि यस्तो उत्पादन बढाउन सहयोग गर्नुपर्छ। आफ्नै देशमा उत्पादन भइरहेका वस्तु आयातमा जोड दिनुभन्दा तिनलाई सस्तो र सुलभ हुनसक्ने वातावरण तयार गर्नुपर्छ। देशमै गुणस्तरीय वस्तु उत्पादन हुने र आयातितभन्दा सस्तो हुने हो भने स्वदेशीलाई प्रोत्साहन हुन्छ।

वास्तवमा हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने गरी वस्तु र सेवा उत्पादन गर्न सकेका छैनौं। हाम्रा वस्तु विश्व बजारका लागि महँगा हुन्छन्। वस्तु महँगो नहुन उत्पादन लागत कम हुनुपर्छ। उत्पादन लागत कम गर्न वस्तुको उत्पादन धेरै ठुलो मात्रामा हुनुपर्छ। चिनियाँ वस्तु संसारभरि धेरै सस्तोमा पाइनुको कारण यसको ठुलो मात्रामा हुने उत्पादन हो। त्यसै गरी चिनियाँ जनशक्ति सस्तो पनि छ। त्यही भएर संसारभरिका ठुला कम्पनीले चीनमा आएर उत्पादन बढाएका छन्। हाम्रो मुलुकले पनि आफ्नो जनशक्तिलाई विदेशी श्रम बजारमा कामका लागि पठाउनुभन्दा यहीं वस्तु र सेवा उत्पादन गरेर निर्यात बढाउन सकिन्छ। त्यसका लागि दीर्घकालीन सोच राखेर काम गर्न सक्नुपर्छ।

अझै पनि हाम्रो मुलुकले अद्वितीय किसिमका सामग्री उत्पादन गरेर विदेशमा बेच्ने अवसर छ। विशेष गरी हस्तकला, चिया, अलैंची, फाइबर, चिया, छुर्पी, जडीबुटीजन्य पदार्थ यसमा पर्छन्। अहिले तेलले निर्यात व्यापारको सम्भावना बढाए पनि यो दीर्घकालीन हुन सक्दैन। विदेशबाट कच्चा पदार्थ आयात गरी तेल निर्यात गर्ने अवस्थामा पुगेको हो। आफ्नै मुलुकबाट अत्यधिक मात्रामा भटमास उत्पादन गरेर तेल उत्पादन गरी निर्यात गर्ने हो भने स्थिति भिन्न हुन सक्छ। त्यसैले मूल्य अभिवृद्धि गर्न सक्ने किसिमका वस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ।

अहिले सरकारले दिएको निर्यात अनुदानले केही हदसम्म भूमिका निर्वाह गरेको छ। नेपालले आफ्नै कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गरी निर्यात गर्ने हो भने त्यसले अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्छ। सिमेन्ट उद्योगले त्यो सम्भावना देखाएको छ। कच्चा पदार्थको स्रोत राम्रो भएका कारण हाम्रो मुलुकमा गुणस्तीय सिमेन्ट उत्पादन हुन सक्छ। त्यसैले आफ्नो मुलुकका सम्भावना हेरेर वस्तु उत्पादनमा लाग्नु व्यापार घाटा कम गर्ने उपाय हुन सक्छ। हाम्रो देशमा गुणस्तरीय जडीबुटी छन्, तिनको प्रयोग गरी औषधि उत्पादन र निर्यात गर्न सकिन्छ। त्यसैगरी यहाँ उत्पादन हुने कृषिजन्य वस्तु र यसैमा आधारित अन्य उत्पादन हुनसक्छ। थाइल्यान्डले आँप, डुरियनलगायतका फलफूल प्रयोग गरी अनेकन प्याकेटयुक्त खाना निर्यात गर्ने गरेको छ। त्यसतर्फ पनि ध्यान दिनु उचित हुन्छ।

कुनै बेला नेपालले धानचामल निर्यात कम्पनी नै खोलेको थियो। अचेल हामी आफैंले आफूलाई चाहिने अनाजसमेत उत्पादन गर्न सकेका छैनौं। तरकारी र सागपातसमेत विदेशबाट ल्याउनुभन्दा किसानलाई प्रोत्साहित गर्न सक्नुपर्छ। हाम्रो देशमा किसानी दुःखी पेशाजस्तो बन्न पुगेको छ। दुःख गरेअनुसार फाइदा नभएपछि सबै यसबाट बाहिरिन थालेका छन्। त्यसकारण पनि हामीले आयातित कृषिजन्य वस्तुमा निर्भर हुनुपरेको छ। यसमा मात्रै निर्भर नहुने हो भने पनि ठुलो हिस्सा रकम विदेशिनबाट जोगिन्छ।

निर्यात बढ्यो भनेर खुसी हुँदा आयात बढेको पक्षलाई बेवास्ता गर्न मिल्दैन। आर्थिक वर्ष २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात दुई खर्ब ११ अर्ब १३ करोड रूपैयाँले बढेको छ। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएकोमा गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रूपैयाँको आयात भएको छ। आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको ठाउँमा विद्युतीय वा हाइड्रोजन इन्धनतर्फ मुलुकलाई उन्मुख गराउन सक्नुपर्छ। यसले उल्लेख्यरूपमा हाम्रो आयात घटाउने छ। मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ। त्यसैले व्यापार घाटाको खाडल घटाउनेतिर ध्यान पुग्नु आवश्यक छ। 

प्रकाशित: ९ श्रावण २०८२ ०५:५८ शुक्रबार

# sampadakiya # Nagariknews