सम्पादकीय

उद्यम र अपराध

हाम्रो मुलुकमा व्यापार व्यवसाय गर्नु र आर्थिक उपार्जन गर्नुलाई ‘अपराध’को कोटीमा राखिँदै आएको छ। उद्यमशील समाजमा भने यस्तो दृष्टिकोण राखिँदैन। बरु व्यापार व्यवसाय सञ्चालन गर्न नियम कानुनलगायतले सहयोग गर्छन्। हामीकहाँ भने सामान्य गल्तीमा पनि ठुलो सजाय गर्ने र परिआए उद्यमीले थुनिनैपर्ने अवस्था सिर्जना गरिन्छ। असल अभ्यासमा कुनै पनि व्यक्तिविरुद्ध प्रमाण भए त्यसमा छानबिन गरिन्छ। त्यसपछि मात्र मुद्दामामिलाका विषयमा प्रवेश गर्छ। यहाँ भने ‘पहिले थुन्ने अनि सुन्ने’ विधि अपनाइएको छ। त्यही भएर बेलाबेलामा हामीकहाँ प्रतिष्ठित व्यापारी र व्यक्तिलाई पनि पहिल्यै थुनेर मनोबल गिराउने काम हुन्छ।

यसरी अनुसन्धान गरिँदै गरेका व्यक्तिबारे पनि पहिल्यै सूचना सार्वजनिक गरिँदैन। सूचना दिनुपर्ने भए पनि पक्राउ परेका व्यक्तिको संख्या र त्यस अनुसन्धानसँग सम्बन्धित संकेत मात्र जारी गरिन्छ। उद्यम व्यवसाय गरिरहेका व्यक्तिलाई यसरी पक्राउ गरी मानमर्दन गरेपछि तिनको प्रतिष्ठामा अदातल नपुग्दै ध्वस्त भइसकेको हुन्छ। यही विषय सञ्चार माध्यममा समेत अनुसन्धान गर्ने निकायले छरपस्ट पार्ने गरेको छ। सकेसम्म प्रमाणित भइनसकेका विषयलाई सार्वजनिक नहुने व्यवस्था गर्नुपर्ने देखिन्छ। त्यसो नहुँदा पक्राउ पर्नेबित्तिकै प्रहरीले नै दोषीजस्तो गरी प्रेसविज्ञप्ति जारी गर्ने र त्यही विषयलाई सबैले पत्याउने गर्दा अदालतको कुनै भूमिका नभएकोजस्तो अवस्था देखिने गरेको छ। अदालतबाट भोलि दोषी प्रमाणित नहुने व्यक्तिलाई समेत पहिल्यै पक्राउ गरेर थुनामा राख्दा सजाय पहिल्यै भइसकेको हुन्छ । पछि यसबाट मुक्ति प्राप्त गरे पनि आरोपबाट कहिल्यै अलग नहुने अवस्था छ।

हामीकहाँ कतिपय सामान्य किसिमका विषयलाई पनि गम्भीर बनाएको पाइन्छ। चेक कारोबारमा कतिपय अवस्थामा नियत नराख्दा पनि ‘कालोसूची’मा पर्ने खतरा हुन्छ। नेपाल राष्ट्र बैंका गर्भनर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा आउन सक्ने यस्ता विषयमा भइरहेको कारबाहीबारे अध्ययन भइरहेको जनाएका छन्। यस्ता प्रावधानलाई दुरुपयोग गरेर असल नियतले नै काम गरिरहेका व्यक्तिलाई समेत फसाउन सक्ने अवस्थाबाट उन्मुक्ति दिलाउन सक्छ। कुनै चेक बाउन्स हुनासाथ ‘कालोसूची’मा राख्ने प्रावधानले आज मुलुकभरि कैयन् व्यक्ति यसको सिकार भएका छन्। बैंक ब्यालेन्स नभएर पनि चेक काट्ने व्यक्तिलाई सजग गराउन सक्ने अन्य प्रावधान हुनु आवश्यक छ।

कर्जालगायतका विषयमा ‘कालोसूची’मा राखिहाल्ने अहिलेसम्मको अभ्यासले धेरैलाई अप्ठ्यारोमा पारेको देखिन्छ। कतिपय अवस्थामा प्राविधिक कारणले पनि व्यक्तिले आफ्नो ऋण चुक्ता गर्न नसकेको वा यस्ता निकायले त्यसलाई अद्यावधिक गर्न छुटाएको पनि हुन सक्छ। ‘कालोसूची’का कारण केसम्म हुन्छ भन्ने तथ्य यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको छ। धनुषा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह मतका आधारमा विजयी भए पनि पहिल्यै ‘कालोसूची’लाई कारण देखाउँदै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो। अहिले सर्वोच्च अदालतले उनको नाम ‘कालोसूची’बाट हटाउन आदेश दिइसकेको छ। धन्य, मतदाताले उनलाई नै मत दिएका हुनाले उनीभन्दा दोस्रो वरियतामा रहेका नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवको विजय घोषणा भए पनि अब उनैका पोल्टामा सांसद पद पुग्ने देखिएको छ।

गभर्नर पौडेलका अनुसार कालोसूचीलाई कसरी छोटो बनाउने भन्नेमा राष्ट्र बैंक लागेको छ। कस्तालाई कालोसूचीमा राख्ने भन्ने अध्ययन भएपछि स्वाभाविक रूपमा अहिलेसम्म दुरुपयोग हुँदै आएको यो प्रावधानमा सुधार आउन सक्नेछ । पौडेलले यो पनि भनेका छन् – धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार/व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने रहेछ । यथार्थ पनि यही हो। व्यापार/व्यवसाय गर्ने व्यक्तिलाई सहजीकरण गर्नेभन्दा पनि निरुत्साहित गर्ने प्रवृत्तिले मुलुकको चौतर्फी विकास हुन सक्दैन । निजी क्षेत्रले उद्यम नगर्ने हो भने रोजगारी सिर्जना पनि हुन सक्दैन । सबै व्यक्ति सरकारी क्षेत्रमा मात्र पुगेर रोजगारीमा रहन सम्भव छैन।

हाम्रो मुलुकले निर्धन हुनुमा गर्व गर्ने होइन, कसरी धनी बन्ने, कसरी उद्यम गर्ने भन्नेमा व्यक्तिलाई प्रोत्साहित गर्न सक्नुपर्छ। नक्कली उजुरीका आधारमा व्यवसायीमाथि घात गर्ने प्रवृत्तिसमेत हामीकहाँ देखिन्छ। हाम्रो मुलुकका अनुसन्धान निकाय र प्रहरीहरूले दिइने गरेको उन्मुक्ति पनि उद्यमशीलताका निम्ति सकारात्मक छैन। गल्ती गरेको प्रमाणित नभई पहिल्यै ‘थुन्ने र सुन्ने’ किसिमका अभ्यासमा सुधार आजको आवश्यकता हो। कसैले ठेक्का लिएको काम पूरा भएन भने उसलाई कारबाही गर्ने अनेक तरिका छन् तर कालोसूचीमा राखेर सबै बाटा बन्द गर्ने अभ्यास उचित होइन। त्यस्तै सुध्रिँदा र सुधार्दा सबै क्षेत्रमा ध्यान पुग्नुपर्छ। गुरुप्रसाद मैनालीको ‘परिबन्द’ कथाकै शैलीमा आज पनि मानिसहरूलाई फसाउने र काम गर्न नदिने प्रवृत्ति छ। मानिसले जीवनभरि गरेको मेहनतलाई एकै छिनमा सखाप पार्ने गरी कसैले पनि भूमिका खेल्नु हुँदैन।  

प्रकाशित: २९ फाल्गुन २०८२ ०६:१५ शुक्रबार

Download Nagarik App