मुलुकले फेरि एक पटक फागुन ७ को दिन प्रजातन्त्र दिवस धुमधामसँग मनाएको छ। फेरि एक पटक पूर्वराजादेखि राष्ट्रपति हुँदै तल्ला पदाधिकारीले समेत शान्ति, समृद्धि र सुखद भविष्यको कामना गरेका छन्।
यसपटकको प्रजातन्त्र दिवसमा यही महिनाको २१ गते आयोजना हुन गइरहेको आमनिर्वाचनमा ध्यान दिनसमेत सर्वसाधारण मतदातालाई आग्रह गरिएको छ। नि:सन्देह मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाले आगामी दिनमा थप उन्नति गर्ने वा अवनतितिरै लाग्ने भन्ने मार्गदर्शक हुनेछ आगामी निर्वाचन। मुलुकले खोजेको विकासको बाटो मात्र तय गर्नेछ। हाम्रो मुलुकले आगामी दिनमा बदलिँदो भूराजनीतिक अवस्थालाई कसरी सामना गर्ने हो भन्ने प्रश्न पनि गम्भीर रूपमा उभिएका छन्। यस्तो अवस्थामा सन्तुलनकारी भूमिका कसले निर्वाह गर्नसक्छ भन्ने पनि हेर्ने बेला हो।
मुलुकमा भएको २००७ फागुन ७ को परिवर्तनयता ७५ वर्ष व्यतीत भएका छन्। यतिका वर्षमा हाम्रो मुलुकले हासिल गर्न नसकेको उपलब्धि के हो ? किन हामी सधैं अस्थिर रह्यौं ? किन हामीले कहिल्यै एउटा सरकार पनि पाँच वर्षका निम्ति निरन्तर चलाउन सकेनौं ? किन हामी आन्तरिक रूपमा सधैं विभाजित भइरह्यौं र त्यसको दोष अन्यत्र कतै थोपर्ने प्रयास गरिरह्यौं ? के हाम्रा आन्तरिक अस्थिरतापछाडि कसैको हात थियो ? जहिले जहिले नेपालले कुनै पनि ठुलो राजनीतिक परिवर्तन गरेको छ, तहिले तहिले त्यो सफल भएको छ। जहिल्यै हामी सफलता हासिल गर्न सक्षम भयौं तर त्यसलाई टिकाएर अगाडि बढाउने सामथ्र्य हामीमा भएन। कवि भूपि शेरचनलाई सम्झिन्छौं हामी जहिल्यै– हामी कहिल्यै आफूखुसी मिल्न नसक्ने।
आज हामीसरहका मुलुक धेरै अगाडि पुगिसकेका छन्। विकासको गति समात्न हामीलाई धेरै गाह्रो छैन। विगतमा विकास गर्नेहरूले बाटो देखाइसकेका छन्। समृद्धिका निम्ति जति धेरै समय लाग्ने हो, त्यो लाग्दैन। तर यसका निम्ति बाटो समात्नु आवश्यक देखिएको छ। हाम्रोजस्तो मुलुकले अझ संवेदनशील भएर अगाडि बढ्दा अवसर नआउने भन्ने छैन। आगामी दिनमा विकास र समृद्धिको क्षेत्र भनेको हाम्रैतिर हो। भारत र चीनजस्ता विशाल र आर्थिक गतिविधिको केन्द्र–मुलुकका बिचमा रहेको हाम्रो मुलुकका निम्ति अवसरै अवसर छन्। त्यसलाई बेलैमा बुझेर अगाडि बढ्न सक्ने सक्षम नेतृत्वको अभाव अहिले छ। त्यस्तो व्यक्ति नचिनी हावामा उडेको भरमा धेरै असुविधामा पुगिन्छ भन्ने उदाहरण अहिले संसारका कैयन् घटनाक्रमले बुझाइसकेका छन्। गैरजिम्मेवार बोली र व्यवहार भएका व्यक्ति कि जवाफदेही भएर अगाडि बढ्न सक्ने राजनीतिक नेतृत्व ? यसले हाम्रो भविष्य तय गर्ने निश्चित छ।
निर्वाचनको अभ्यास हाम्रो मुलुकका निम्ति नयाँ होइन। तर, यसपटक हाम्रो मुलुक जस्तो अवस्थामा निर्वाचनमा सहभागी हुँदै छ, त्यसले पार्ने प्रभाव भने दूरगामी हुनेछ। गत भदौ २३ मा जेनजी अभियन्ताले चाहेको अपेक्षा एउटा थियो। त्यसलाई बिचैमा ‘हाइज्याक’ गरी देशलाई खरानी बनाइएको तथ्यतर्फ जानु आवश्यक छ। निर्वाचनका बेला यो विषय उठेको छ। अघिल्लो दिन भएको १९ युवाको सहादतलाई मात्र उठाउने तर भोलिपल्ट नेपाललाई क्षतविक्षत तुल्याउने घटनातर्फ ध्यान नदिने हो भने हामी कहिल्यै सत्यको नजिक पुग्ने छैनौं। त्यसमा पनि हामीजस्तो सात दशकभन्दा लामो समयदेखि लोकतन्त्रमा बाँच्न खोजेको र बिचबिचमा लोकतन्त्र अपहरित हुँदा पनि संघर्ष गर्न पछि नपरेको मुलुक आज अव्यक्त डरमा बाँच्नुपर्ने अवस्था आएको छ। भदौ २४ को ‘खरानी–पथ’ले हामी सबैको मुटु हल्लाइदिएको छ। आज हरेक व्यक्ति आतंकित छन्। भोलिको नेपाल पनि हामीले आतंकमै बाँच्ने बनाउने कि ढुक्क भएर अगाडि बढ्ने ? त्यसका निम्ति सक्षम नेतृत्वको खोजी हुनुपर्छ। सन्कीपन, अनुदारवादी अनुहार र हृदयमा घृणा बोकेर हिँड्नेहरूबाट सजग हुने बेला हो।
हाम्रो मुलुक कुनै अलोकतान्त्रिक शासन व्यवस्थाभित्र जान सक्दैन। तैपनि पटक–पटक त्यसका निम्ति कोसिस भएका छन्। कैयन् पटक हामीलाई चुप लगाउन खोजिएको छ तर हामी चुप रहन सकेका छैनौं। हामीलाई पटक–पटक लोकतान्त्रिक शासन व्यवस्थाकै निम्ति संघर्ष गर्नु नपरोस्। हामीलाई पटक–पटक अनुदारवादी शासनको छायाम लैजान नखोजियोस्। वास्तवमा हाम्रा राजनीतिक प्रश्न सकिएका छन्। हाम्रा आर्थिक प्रश्न हाम्रासामु उभिएकै छन्। आर्थिक समृद्धि हासिल गर्दै नेपालमै बसौं बसौं बनाउनुपर्ने अहिलेको चुनौती हो। बदलाको भाव लिएर फेरि पनि नेपाली–नेपालीबिच घृणाको बिउ रोप्ने होइन, सद्भाव खोज्न सक्ने व्यक्ति अहिले चाहिएको छ।
फागुन–चैतका महिना भनेका उमंगका समय पनि हुन्। यही बेला हामीले विगतमा राजनीतिक उपलब्धिका निम्ति संघर्ष गरेका छौं। यही समय हामीलाई परिवर्तन प्राप्त भएको छ। आसन्न निर्वाचनका निम्ति उम्मेदवार छानिरहँदा हिजोका काला दिन, हामीले भोगेका दुु:ख र प्राप्त उपलब्धिमा ध्यान पुग्नैपर्छ। अहिले बहकाउमा लाग्दा हिजोका उपलब्धि गुम्ने अवस्था नआओस्। हाम्रो एउटा निर्णयले हामीलाई भोलि टाउकोमा हात राखेर बस्ने अवस्था नआओस्। हाम्रो मुलुकको प्रजातन्त्र साना दु:खले आएको होइन।
प्रकाशित: ८ फाल्गुन २०८२ ०६:०८ शुक्रबार