पछिल्ला वर्षहरूमा नेपाली समाजमा अपराध-वृत्ति बढ्न थालेको देखिन्छ। व्यक्तिमाथि भौतिक आक्रमण गरिहाल्ने प्रवृत्ति समाचारहरूको अध्ययनबाट देखिन्छ। प्राय: हामीकहाँ सडक आक्रोश कम हुने गरेको हो। अचेल त्यो पनि देखिन थालिसकेको छ। यी सबै घटनाक्रमले हाम्रो समाजमा बढ्दो रिस, आक्रोश र कानुन हातमा लिने प्रवृत्तिलाई बुझ्न मद्दत गर्छ।
बितेका ६ महिनामा तराई-मधेसमा मात्र ५६ जनाको हत्या भएको समाचार सार्वजनिक भएको छ। व्यक्तिको ज्यानै लिन पनि पछि नपर्ने अवस्था आउनु भनेको समाजको नैतिक चरित्र कमजोर हुनु हो। व्यक्तिमाथि हात हाल्नुहुँदैन भन्ने सामान्य ज्ञानको समेत अभाव देखिएको छ। कानुन हातमा लिँदा त्यसको परिणाम गम्भीर हुन्छ। कसैले कानुन उल्लंघन गरेको छ भने त्यसमाथि कारबाहीको अधिकार पनि अदालत र राज्यका निकायलाई मात्र हुन्छ। राज्यका निकायले पनि यस्ता व्यक्तिमाथि आफैंले मुद्दा चलाउनेभन्दा पनि आवश्यक अनुसन्धान गरी सजायका लागि अदालतमा पेस गर्ने हो।
अपराधका घटना बढ्दै गर्दा प्राय: समाजमा नैतिक मूल्य-मान्यता कमजोर भएको बताइने गरेको छ। कतिपय अवस्थामा हामीले नयाँ परम्परा बसाल्दा पुरानालाई बिर्सन मिल्दैन। मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था आएपछि हामीले स्कुलका पाठ्यक्रमबाट नैतिक शिक्षा भन्ने विषय नै हटाइदियौं। आखिर हाम्रो समाजमा लुटपाट, चोरी, आक्रमण र ठगीका घटना बढ्नुमा नैतिक शिक्षाको कमी हो। यस्तो काम गर्नुहुँदैन भनेर सम्झाउने कुनै मानक हाम्रो समाजमा भएन। विगतमा ठुलाबडाले भनेको मान्नुपर्छ भन्ने सुनिन्थ्यो। अचेल त्यसरी अरूलाई सुन्ने वा तिनलाई रोडमोडल मानेर हिँड्ने भन्ने देखिँदैन। आफूलाई लागेको काम गर्न सबै मानिसलाई छुट छ। तर, केही आदर्शलाई पछ्याउनपट्टि लाग्नुपर्छ भन्ने पक्षलाई भने बेवास्ता गरेको देखिएको छ।
भौतिक आक्रमण मात्र होइन, पछिल्लो समय सूचना प्रविधिको विकासक्रमसँगै साइबर अपराध पनि बढ्दो रूपमा देखिएको छ। साइबर सञ्जालको प्रयोगबाट ठगी भइरहेको देखिन्छ। यसले पनि व्यक्तिको जीवनमा कठिनाइ ल्याउँछ। नयाँ प्रविधिको विकाससँगै अपराधका पनि नयाँ आयाम देखिन्छन्। विशेष गरी प्रहरीले यस्तो अपराधबाट नागरिकलाई जोगाउन विशेष भूमिका खेल्नुपर्ने अवस्था रहन्छ। यसका निम्ति पनि अपराध गर्ने व्यक्ति मात्र होइन, यसबाट जोगिनुपर्ने सर्वसाधारणले पनि ध्यान दिनुपर्ने हुन्छ। अपराधका नयाँ आयाम बुझेर कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलगायतका राज्यका निकायले पनि आफूलाई अद्यावधिक गर्नुपर्छ।
व्यक्तिमाथि भौतिक आक्रमण गर्ने प्रवृत्तिबाट समाजलाई जोगाउन अपराधबारे समाजलाई बुझाउनु बढी आवश्यक हुन्छ। कुनै पनि अपराधमा एकपटक संलग्न भइसकेपछि आगामी दिन सहज हुँदैनन्। व्यक्तिको जीवनसँग अपराधको यो अभिलेख जोडिएर आउँछ। यस्तो अवस्थामा कुनै राम्रो जिम्मेवारी लिन पाउने अवसरबाट व्यक्ति वञ्चित हुने अवस्था आउँछ। कुनै अपराधकर्मसँग जोडिनेबित्तिकै उसका हरेक काममा समस्या आउँछन्। समाजले यस्ता व्यक्तिलाई पत्याउँदैन। तैपनि समाजमा अपराध गर्नबाट डराउने प्रवृत्तिको कमी भने डरलाग्दोसँग देखिएको छ।
कतिपय व्यक्ति राजनीतिक कारणले पनि अपराधसँग जोडिएका हुन्छन्। कारणवश म अपराधमा जोडिए पनि मलाई मेरो दलले जोगाउँछ भन्ने विश्वासबाट पनि व्यक्ति अपराधमा लागेको देखिन्छ। कहिलेकाहीं राजनीतिक हिसाबले पनि व्यक्तिलाई जोगाएको देखिन्छ। तर, त्यो निश्चित हुँदैन। भोलि अदालतले पनि त्यस्तो पक्षलाई मान्यता नदिने अवस्था आउँछ। त्यसैले सकेसम्म यस्ता कार्यमा संलग्न हुनै नपरोस् भन्नेमा व्यक्तिको ध्यान पुग्नु आवश्यक छ। अहिलेको निर्वाचनकै बेला केही आपराधिक पृष्ठभूमिका व्यक्ति पनि निर्वाचनमा उम्मेदवार बनेका छन्। तर, तिनलाई आफ्नै विगतले पछ्याइरहेको हुन्छ। तिनले आफ्नो विगतबारे स्पष्टीकरण दिइरहनुपर्ने अवस्था रहन्छ।
अतः अपराधबाट आफूलाई टाढा राख्न व्यक्ति आफैंले केही मानक निर्धारण गर्नुपर्छ। म कस्तै अवस्थामा पनि अपराधमा संलग्न हुन्न भन्नेमा प्रतिबद्ध हुनु आवश्यक छ। के गर्दा कानुनको उल्लंघन हुन्छ भन्ने बुझ्न र तदनुकूल व्यवहार गर्न पनि सर्वसाधारण तत्पर हुनुपर्छ। यस्तो पक्षलाई बुझिएन र अपराधका कर्ममा संलग्न हुने अवस्था रह्यो भने जीवन असजिलो हुन्छ। त्यति मात्र होइन, अपराधमा संलग्न भएबापत पीडित र तिनका परिवारको जीवनमा गम्भीर असर पर्छ। अपराधमै संलग्न व्यक्तिले पनि पारिवारिक सान्निध्यबाट वञ्चित हुने अवस्था आउँछ। आपराधिक गतिविधि र घटनाबाट नेपाली समाजलाई जोगाउन सचेतना कार्यक्रम सञ्चालन गर्नु उचित हुने देखिन्छ।
प्रकाशित: ६ फाल्गुन २०८२ ०६:१४ बुधबार