सम्पादकीय

क्रिकेटको कठोर कथन

वानखेडे रंगशालाको आकाशमुनि त्यो साँझ नेपाली समर्थकका आँखा आँसुले भरिएका थिए। हार थियो, तर हारभित्र पनि गर्व मिसिएको थियो। दुई पटक विश्वकप जितिसकेको इंग्ल्यान्डलाई आइतबार नेपालले अन्तिम बलसम्म थर्काएको थियो। चार रनको झिनो अन्तरले पराजित भए पनि त्यो खेलले नेपाली क्रिकेटको उचाइ कति बढिसकेको छ भन्ने सन्देश दिएको थियो। लोकेश बमका छक्का, दीपेन्द्रसिंह ऐरीको आत्मविश्वास, सन्दीप लामिछानेको कसिलो बलिङ– सबैले देखाएका थिए, नेपाल अब केवल सहभागी टोली होइन, जुझारु प्रतिस्पर्धी हो।

तर केही दिनमै त्यही रंगशालामा देखिएको अर्को दृश्यले भने मन झस्कायो। इटालीविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भयो। इंग्ल्यान्डसँग लडेको टोली अचानक निरीह देखियो। प्रशंसाको शिखरबाट एकाएक कठोर यथार्थमा खस्दा उठेको प्रश्न गहिरो थियो– के हामी भावनामा बग्यौं र जमिनको यथार्थ बिर्सियौं? इंग्ल्यान्डसँगको खेलले आत्मविश्वास दिएको थियो, इटालीसँगको खेलले आत्मचिन्तन गर्न बाध्य बनायो। खेलाडी स्वयंले स्विकारे– परिस्थितिको सम्मान हुन सकेन। आक्रामक बन्ने हतारमा धैर्य गुम्यो। साझेदारी टिकेन। योजना मैदानमा उतार्न सकिएन।

क्रिकेटलाई निर्दयी खेल भनिन्छ। इंग्ल्यान्डसँगको हार पीडादायी भए पनि प्रेरणादायी थियो। तर इटालीसँगको हार झकझक्याउने थियो। १२३ रन वानखेडे जस्तो ब्याटिङमैत्री मैदानमा, यो स्कोर आफैंमा चेतावनी थियो। सुरुवातदेखि देखिएको हतार, परिस्थिति नबुझी खेलिएका प्रहार, साझेदारी टिकाउन नसक्ने कमजोरी–यी सबैले देखाए, नेपालले खेलको परिस्थिति बुझेर संयमित ढंगले अघि बढ्न सकेन।

कप्तान रोहित पौडेलले हार स्विकारेर भने– टोलीले परिस्थिति सम्मान गर्न सकेन। त्यो स्वीकारोक्ति इमानदार थियो। किनकि ठुलो टोली बन्नु भनेको केवल बलियो टोलीसँग बराबरीमा पुग्नु होइन, आफूभन्दा कमजोर मानिएको टोलीविरुद्ध पनि अनुशासन र योजनासहित खेल्नु हो। इंग्ल्यान्डविरुद्ध नेपाल दबाब झेलेर लड्न सक्यो। इटालीविरुद्ध भने नेपाल आफैं दबाब सिर्जना गर्न असफल भयो। इटालीका जस्टिन र एन्थोनी मोस्का दाजुभाइले बिनाविकेट गुमाई लक्ष्य पूरा गर्दा नेपाली बलिङ निरीह देखियो। स्पिनमैत्री मानिएको रणनीति उल्टै धराप बन्यो। विपक्षी अध्ययन गरेर आएको थियो, नेपाल भने आफ्नै लयमा हरायो।

खेलपछि धेरैले यो हारलाई ‘लज्जास्पद’ भने। निराशा स्वाभाविक थियो। विश्व क्रिकेटले प्रशंसा गरिरहेको क्षणमै यस्तो पराजय आउँदा मन दुख्नु स्वाभाविक नै हो। तर खेलकुदमा हार अपमान मात्र होइन, पाठ पनि हो। इंग्ल्यान्डसँगको खेलले नेपालसँग प्रतिभा छ भन्ने देखाएको थियो। इटालीसँगको खेलले सम्झायो– प्रतिभा मात्र पर्याप्त हुँदैन। निरन्तरता, अनुशासन र रणनीतिक परिपक्वता अनिवार्य हुन्छ।

अब प्रश्न उठ्छ, के गर्नुपर्छ?

सबैभन्दा पहिले हतार त्याग्नुपर्छ। छोटो प्रारूपको खेल आक्रामक अवश्य हुन्छ, तर अन्धाधुन्ध हुँदैन। परिस्थिति पढ्ने क्षमता विकास गर्नुपर्छ। मध्य क्रमलाई स्थिर बनाउनुपर्छ। बारम्बार साझेदारी टुट्नु टोलीको ठुलो कमजोरी बनिरहेको छ। मानसिक सुदृढता पनि उत्तिकै महत्त्वपूर्ण छ। प्रशंसा र आलोचना दुवै खेलको हिस्सा हुन्। दुवैले खेलाडीको सोच र निर्णयलाई असर पार्नु हुँदैन। हजारौं समर्थकको प्रेम ऊर्जा बन्नुपर्छ, दबाब होइन।

संरचनागत सुधार पनि अपरिहार्य छ। अन्तर्राष्ट्रिय स्तरमा निरन्तर अवसर नपाउनु गुनासोको विषय हुन सक्छ, तर अवसर पाउँदा त्यसलाई परिणाममा रूपान्तरण गर्न सक्नु अझ महत्त्वपूर्ण हुन्छ। घरेलु संरचना, फिटनेस, मानसिक तयारी र दीर्घकालीन योजनामा ध्यान दिनुपर्छ। हामीले २०१४ को विश्वकपको जुझारुपनलाई आज पनि सम्झन्छौं। त्यो पुस्तालाई स्वर्णिम मानिन्छ। तर इतिहासको गौरवले वर्तमानको कमजोरी ढाक्न सक्दैन। नयाँ पुस्ताले पनि त्यही स्थिरता र समर्पण देखाउनुपर्छ।

आज नेपाली क्रिकेट एउटा दोबाटोमा उभिएको छ। एक बाटो प्रशंसामा रमाउने र हारलाई दुर्भाग्य ठान्ने। अर्को बाटो आत्म विश्लेषण गर्ने, कमजोरी स्विकार्ने र सुधारको मार्ग रोज्ने। इंग्ल्यान्डसँगको चार रनको हारले देखाएको सपना सुन्दर थियो। इटालीसँगको १० विकेटको हारले देखाएको यथार्थ कठोर छ। तर यही सपना र यथार्थको द्वन्द्वले टोलीलाई परिपक्व बनाउँछ। क्रिकेट खेल्दै आएका मुलुकहरूसँग नवीनतम पाइला चालिरहेको नेपालले सिक्नुपर्ने पक्ष धेरै छन्।

यो हार अन्त्य होइन। यो एउटा ऐना हो। जसमा हेरेर आफूलाई सच्याउने साहस गरियो भने भोलिको जित अझ अर्थपूर्ण हुनेछ। नेपाली क्रिकेट अब सहानुभूतिका लागि होइन, अपेक्षाका लागि खेल्दै छ। त्यसैले अब भावना मात्र होइन, अनुशासन र परिपक्वताले मार्गदर्शन गर्नुपर्छ।

पराजय असर केवल भावनामा सीमित छैन, अंकतालिकामा पनि स्पष्ट देखिन्छ। लगातार दुई हारसँगै नेपाल समूह ‘सी’ मा अंकविहीन बनेको छ। चार टोलीसँग अंक छ, नेपाल मात्र शून्यमा छ। अर्को चरणको ढोका अब सिधै खुल्ने अवस्थामा छैन। अब वेस्ट इन्डिज र स्कटल्यान्डविरुद्ध चामत्कारिक समीकरण बने मात्र सम्भावना जीवित रहनेछ। जित मात्र होइन, ठुलो अन्तरले जित र अरू खेलको परिणाम अनुकूल हुनुपर्ने जटिल समीकरणले बाटो देखाउँछ।

ठुला टोलीसँग नजिक पुग्नु उत्साहजनक हुन्छ, तर आफूभन्दा कमजोर मानिएको टोलीसँग स्थिर र योजनाबद्ध खेल्नु नै असली परिपक्वता हो। इंग्ल्यान्डविरुद्ध नेपालले दबाब झेलेर लड्न सक्यो। इटालीविरुद्ध भने नेपाल आफैं दबाब सिर्जना गर्न असफल भयो। अब बाँकी खेल केवल अंकका लागि होइनन्, आत्मसम्मानका लागि पनि हुन्। वेस्ट इन्डिजजस्तो बलियो टोली र अनुशासित स्कटल्यान्डविरुद्ध खेल्दा नेपालले नयाँ ऊर्जा, स्पष्ट रणनीति र संयम देखाउनैपर्छ। सुपर आठको सपना लगभग क्षीण भइसके पनि आशा पूर्ण रूपमा मरेको छैन। तर त्यो आशा भावनाले होइन, प्रदर्शनले जोगिनुपर्छ। खेलकुदमा हार अन्त्य होइन, शिक्षक हो। यो हारले नेपाली क्रिकेटलाई नम्र बनाएको छ। नम्रतासँगै यदि सुधारको साहस जोडियो भने यही कठिन क्षण भविष्यको बलियो आधार बन्न सक्छ।

प्रकाशित: ३ फाल्गुन २०८२ ०६:०३ आइतबार