मुलुकमा उत्साह र खुसीका निम्ति धेरै गर्नै पर्दैन। सानातिना काम पनि भइरहे भने उत्साह थपिँदै जान्छ।
पहिलोपटक फ्लड लाइटमा ऐतिहासिक रूपमा डे/नाइट क्रिकेटको सुरुआत भएको छ। खेल प्रतियोगितालाई व्यवस्थित गर्ने काम सुरु भएको छ। यसले सिंगै मुलुकमा उत्साह थपेको छ। यसै पनि खेल आयोजना गर्न यसको पूर्वाधार तयार पार्नुपर्छ। नेपालले पनि यो पूर्वाधार तयार पारेर आफूलाई विश्वमानचित्रमा खेलको एउटा महत्वपूर्ण थलोका रूपमा प्रस्तुत गर्न सफल भएको छ।
नेपाली खेलप्रेमीले क्रिकेटलाई पहिल्यैदेखि आत्मसात गरेका छन्। तिनले खेलाडीलाई उत्साहित तुल्याउँदै आएको छ। खेल आयोजनास्थल वरिपरि जस्तै असुविधामा पनि समर्थक उपस्थित भएको हाम्रो विगत हो। एक समयअगाडि मात्र त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता हुँदा रुखमा बसेर पनि खेलसमर्थक खेलको आनन्द लिने गर्थे।
नेपालीको त्यो अवस्थालाई विश्वले नै तारिफ गर्ने गर्छ। क्रिकेटको अन्तर्राष्ट्रिय निकाय आइसिसीले पनि फ्यान इन्गेजमेन्टमा राम्रो भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रशंसा गरेको थियो। गत साउनमा मात्र सिंगापुरमा सम्पन्न आइसिसीको वार्षिक साधारण सभामा नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो। दोस्रोपल्ट नेपालले यो अवार्ड जितेको हो। मैदानमा पुगेर होस् या सामाजित सञ्जालबाट समर्थकहरू नेपाली क्रिकेटलाई पछ्याइरहन्छन्। जुन तथ्य लगातार प्राप्त अवार्डले पनि पुष्टि गर्छ।
क्रिकेटप्रति नेपालीको चासो भएकै कारण सरकार र राजनीतिक दलले पनि त्यसमा प्रतिक्रिया दिने गरेका छन्। नेपालले पाएको सफलता होस् या नेपाली क्रिकेटको आवश्यकता नै किन नहोस् ? त्यसमा सरकारले चासो लिने गरेको पाइन्छ। त्यसैले त खेल आयोजना व्यवस्थित गर्न हरेक सरकारले क्रिकेट पूर्वाधार विकासमा ध्यान दिने गरेको छ। छोटो समयम नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको पहिलोचरणको काम सम्पन्न हुनुले पनि सरकार यस खेलमा कति सतर्क छ भन्ने देखाउँछ। स्टेडियमको स्तरोन्नति गरेपछि पहिलो पटक सोमबार प्रतियोगिता सुरु भएको छ। यसले खेलाडी र खेलप्रेमी दुवै थरीलाई उत्साहित तुल्याएको छ।
सहरी विकास मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण उद्घाटनको अघिल्लो दिन मात्र त्रिवि क्रिकेट स्टेडियममा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको हो। पहिले खुला आकाशमा क्रिकेट हेर्दै आएका दर्शकका निम्ति सोमबार छुट्टै अनुभूति भएको छ। त्यति मात्र होइन, क्रिकेट खेलका निम्ति विश्व चर्चित क्रिकेट खेलाडीलाई यहाँ स्वागत गर्न पाउनु आफैंमा गौरवको विषय हो। एनपिएलको यस संस्करणमा ४८ जना विदेशी खेलाडी सहभागी छन्।
विश्वकप र विश्वका चर्चित व्यावसायिक लिग खेलेका खेलाडीहरूको आगमनले नेपाली क्रिकेटमा नयाँ उचाइ थपिनेछ। फाफ डुप्लेसिस, इमरान ताहिर, मार्टिन गप्टिल, रबि बोपारा, सोहल तनभिर, जिमी निसम जस्ता चर्चित र अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा नेपाली खेलाडीको आत्मबल पनि बढ्नेछ। साथै यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय चर्चाको शिखरमा पनि पुर्याउन सक्नेछ। भदौ २३ को जेनजी आन्दोलन र त्यसको आडमा भएको लुटपाट, आगजनी र ध्वंसले आक्रान्त नेपाल खेलप्रति उत्तिकै दिलचस्पी राख्ने मुलुक हो भन्ने सन्देश पनि यसले दिनेछ।
नेपालीहरू क्रिकेटप्रति निकै आकर्षित छन्। उद्घाटन खेलको टिकट खुल्नासाथ सम्पूर्ण बिक्री भइहाल्नुले यो उत्साहलाई प्रतिविम्बित गरेको छ। यसपटक क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठुलो फ्रेन्चाइज प्रतिस्पर्धा हुनु आफैंमा एउटा गौरव हो। सोमबारदेखि सुरु भएको यो प्रतियोगिता रात्रिकालीन समयमा आगामी २४ दिन सञ्चालन हुनेछ।
उज्यालोले भरिएको रंगशालामा रात्रिकालमा आयोजना हुने खेलले ल्याउने तरंग र उत्साह पछिसम्मका लागि सम्झनायोग्य हुनेछ। आठ पे्रmन्चाइज टोलीले प्रतिस्पर्धा गरेको यो संस्करणदेखि नेपालमा रात्रिकालीन पनि प्रतियोगिता पनि सुरु भएको छ। टेस्ट राष्ट्र बन्नका लागि मिहेनत गरिरहेको नेपालका लागि डे/नाइट क्रिकेट हुनुले विशेष अर्थ पनि राख्नेछ। विश्वभर डे/नाइट क्रिकेटको सुरु भइसकेको छ। तर, नेपालमा पनि सोमबारदेखि थालनी हुँदैछ। नेपाली खेलाडी पनि रात्रिकालीन समयमा खेल्न अभ्यस्त हुनेछन्।
साथै यसको सुरुआतले समर्थकमा उत्साहको वातावरण ल्याएको छ। यसै पनि खेलका यस्ता ठुला गतिविधि भइरहनु आवश्यक छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। ठुला खेल आयोजनाका निम्ति आउने खेलाडी, खेल पदाधिकारी र दर्शकले नयाँ संस्कार र संस्कृति पनि ल्याउँछन्। अचेल मैदानमा गएर मात्र होइन, आफ्ना स्मार्ट फोनमा यसको अवलोकन गरेर आनन्दित हुने समूह पनि निकै ठुलो छ। यसले समग्रमा सबैतिर सकारात्मक प्रभाव पार्छ।
यस्तो ठुलो खेल आयोजनामा नेपाली समर्थकले उत्साहपूर्वक गुन्जाउने आवाजको बहुआयामिक प्रभाव हुन्छ। यसले समाजको निराशा चिर्न पनि विशेष भूमिका खेल्छ। खेलमैदानलाई उज्यालो पार्न सरकारको पनि विशेष भूमिका रहेको छ। सहरी विकास मन्त्री कुलमान घिसिङले क्रिकेट मैदानलाई उज्यालो पार्न पाउँदा निकै खुसी लागेको बताएका छन्। क्रिकेट मैदानको पहिलो चरणको काम सम्पन्न भएपछि क्यानलाई आइतबार हस्तान्तरण गरेको थियो। मैदान निर्माणको कामले केही वर्षमै पूर्णता पाएपछि अझ ठुलो स्तरका खेल आयोजना हुन पाउनेछन्।
वास्तवमा पछिल्ला वर्षहरूमा स्थानीय सरकारले समेत खेल मैदान र रंगशाला निर्माणमा पहल गरेको देखिएको छ। स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेल आयोजना गर्न यसले मद्दत गर्छ। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका खेल आयोजनातर्फ हाम्रो मुलुक क्रमश: अग्रसर हुँदै जाने देखिन्छ। पछिल्ला वर्षमा नेपालले क्रिकेटमार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने क्रम सुरु भएको छ। यसपटकको खेलबाट नेपालमा ठुला आयोजना सञ्चालन गर्न प्रेरणा प्राप्त हुनेछ। खेल क्षेत्रमा यो सुरुआत हो। नेपालीहरूले पछिल्ला वर्षमा खेलप्रतिको आफ्नो उत्साह प्रदर्शन गर्दै आएका छन्।
यसलाई थप अगाडि बढाउन सरकारले विशेष भूमिका खेल्नु उचित हुन्छ। खेलमार्फत् प्रकट हुने भावनाले सम्बन्धित मुलुकलाई गौरवान्वित तुल्याउँछ। साना मुलुकले पनि खेलमार्फत् विश्वका अन्य प्रभावशाली मुलुकको हाराहारीमा आफूलाई उभ्याउने अवसर प्राप्त हुन्छ। त्यति मात्र होइन, खेलबाट उत्पादित जनशक्ति अनुशासित र मेहनती हुन्छन्। तिनले आफू मात्र होइन, समग्र मुलुकको इज्जत बढाउँछन्। अन्तर्राष्ट्रिय स्तरका खेलाडीले आफूलाई मात्र होइन, देशलाई चर्चित बनाएका हुन्छन्। त्यसकारण पनि हामीले खेलाडीको उत्पादन र सफलतामा ध्यान दिनु उचित हुन्छ। यो खेल आयोजनाले नेपालको त्यस दिशातर्फको यात्रालाई सहज बनाउन मद्दत छ।
प्रकाशित: २ मंसिर २०८२ ०६:०९ मंगलबार