सम्पादकीय

कांग्रेसको कहर

मुलुकका प्रमुख दलमध्येको एक नेपाली कांग्रेस यतिबेला संकटको अवस्थामा छ। गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा यसले भोगेको असफलतापछि पुनः जुर्मुराएर अगाडि बढ्नुपर्ने चुनौती छ। त्यसमा पनि गत पुस २७–३० मा भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा कांग्रेस अगाडि बढेको हो। निर्वाचनमा अपेक्षित परिणाम नआएपछि दलभित्रकै एउटा पक्षले निरन्तर उनको राजीनामा माग गर्दै आएको हो। यसै परिप्रेक्षमा उनले राजीनामा दिइसकेको जानकारी बुधबार सार्वजनिक भएको छ।

निर्वाचन परिणामले कांग्रेसलाई प्रतिपक्षको पनि कमजोर स्थानमा उभ्याएको छ। निर्वाचनअघि कांग्रेस संसद्मा पहिलो स्थानमा रहेको हो। यसपटकको निर्वाचनमा कांग्रेसले २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सहित ३८ स्थान मात्र हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको स्थान मात्र लिएको छैन, यसले दुई तिहाइ नजिकको स्थान हासिल गरेको छ। रास्वपाले एक सय ८२ स्थानमा विजय हासिल गरेपछि स्वाभाविक रूपमा कांग्रेस नेतृत्वमा दबाब परेको छ। त्यसमा पनि सबैभन्दा बढ्ता दबाब महसुस गरेको सभापति थापाले हो।

निर्वाचनमा कांग्रेसले सय पार आफूलाई राख्ने लक्ष्य राखेको हो तर निर्वाचन परिणाम रास्वपाबाहेक सबैका निम्ति निराशाजनक रह्यो। त्यसमा पनि निर्वाचनको मुखैमा विशेष महाधिवेशनपछि दलको नेतृत्व लिएका कांग्रेसको युवा पंक्तिका निम्ति यो प्रदर्शनले अप्ठ्यारो पारेको महसुस गर्न सकिन्छ। सभापति थापा आफैंले सर्लाही ४ को निर्वाचनमा समेत पराजय भोग्नुपरेको छ। यो स्थितिलाई ध्यानमा राखी निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा गर्न चाहे पनि उनलाई त्यसबेला रोकिएको थियो । तर, अहिले थापाले राजीनामा गरिसकेपछि यसलाई दलको बैठकबाट टुंगो लगाउने भनिएको छ।

कांग्रेसको यो अधोगति थापाका कारण आएको होइन भन्ने बुझाइ धेरैको छ। यथार्थ पनि त्यही हो। वास्तवमा कांग्रेसका निम्ति निर्वाचन शून्यकै स्थितिमा जाने अवस्था नभएको होइन। त्यसमा पनि गुटगत राजनीतिको धेरै प्रभाव कांग्रेसलाई यसपटकको निर्वाचनमा परेको छ। गगन थापा लगायतका युवा नेतृत्वलाई देखाइदिनका निम्ति पनि कांग्रेसमा ‘अन्तर्घात’ भएको छ। कांग्रेसमा यो नयाँ रोग होइन। २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन दलभित्रैबाट अन्तर्घात भएको चर्चा त्यतिबेला चलेको थियो।

अन्तर्घातको रोग यो दलका निम्ति नौलो होइन । त्यसमा पनि गत भदौ २३ को जेनजी आन्दोलन, त्यसको आडमा भोलिपल्ट २४ गते भएको तोडफोड, आगजनी र ध्वंसको पृष्ठभूमिमा पुराना दलप्रति आमनागरिकको विरक्ति देखिएकै हो। त्यसैको प्रभाव यसपटकको निर्वाचनमा पनि प्रतिविम्बित भयो। कांग्रेस मात्र होइन, नेकपा (एमाले)का निम्ति पनि यो निर्वाचन निकै कष्टकर सावित भएको छ। यी दलको सदस्य संख्याका आधारमा पनि मत आएको छैन। यी दलभित्रको नेतृत्वलाई देखाइदिने आममतदाताको मात्र होइन, पार्टी पंक्तिको प्रभाव पनि यसपटक देखिएको छ।

कांग्रेसको पुरानो नेतृत्वले समयमै महाधिवेशन गर्न चाहेन। समयमै महाधिवेशन गरेर परिवर्तित दलले निर्वाचनमा भाग लिन पाएको भए स्वाभाविक रूपमा केही परिवर्तन आउन सक्थ्यो । थापा सभापति भएर कांग्रेस निर्वाचनमा जाने बेलासम्म धेरै ढिला भइसकेको थियो। त्यति मात्र होइन, यसपटक पुराना दलप्रतिको गुनासो चरम भइसकेको थियो। यस्तो अवस्थामा कांग्रेसप्रति आममतदाताको अविश्वास हुनु स्वाभाविक हो। तर, अहिलेको पराजयका निम्ति थापालाई मात्र जिम्मेवार ठहर्‍याउँदा त्यो अन्याय हुन जान्छ। गगन थापा नै यस्ता नेता हुन्, जसको जीवनमा संघर्षबाहेक केही पनि हात लागेको छैन। यो अवस्थामा उनले जेजस्तो प्रयास गरेर दललाई यसपटकको निर्वाचनमा खुट्टा टेक्नसम्म सक्ने अवस्थामा पुर्‍याएका हुन्।

यसै पनि हाम्रा निर्वाचनमा विजेता दललाई दोहोर्‍याउने अवस्था कमै छ। बरु सत्तारुढ दलविरुद्धको जनमत जहिल्यै बलियो हुँदै आएको छ। यो स्थितिलाई समेत विचार गर्दा यसपटक पुराना दलप्रतिका निम्ति सकारात्मक अवस्था नरहेकै हो। तसर्थ कांग्रेसले अहिल्यैदेखि संसद्मा प्रभावशाली प्रतिपक्षको भूमिका निर्वाह गर्नेदेखि आगामी निर्वाचनमा केन्द्रित भएर काम गर्ने हो। त्यसका लागि सभापति थापाजस्ता नेता र नयाँ व्यक्तिहरूलाई दलमा सहभागी गराउँदै यसलाई पुनर्जीवन दिने हो। अहिले थापालाई राजीनामा गराएर र पाखा लगाएर होइन, थप सशक्त र एकीकृत भएर कांग्रेस अगाडि बढ्नुपर्ने अवस्था छ। लोकतन्त्र भनेको सन्तुलन र नियन्त्रण हो। एकदमै बलियो सरकार बनेका बेला त्यसले गर्ने कामलाई सुझबुझपूर्ण ढंगले हेर्दै त्यसलाई सही बाटोमा हिँडाउने दायित्व प्रतिपक्षी दलको हुन्छ।

कुनै पनि संस्था वा व्यक्तिको पहिचान संकटका बेलामा हुन्छ। संकटमा गुज्रिरहेको कांग्रेसका लागि अब आयोजना हुने महाधिवेशनबाट अझ सशक्त हुँदै अगाडि बढ्नुको विकल्प छैन। यसपटकको निर्वाचन परिणामपछि वामपन्थी दलहरू कमजोर हुँदै जाने स्थिति देखिएको छ। बिस्तारै द्विदलीय अवस्थामा मुलुक जाने देखिन्छ। त्यसैले भोलिको एउटा सशक्त दलका रूपमा कांग्रेसलाई अगाडि बढाउने गरी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व नै कांग्रेसका निम्ति पुँजी हुन सक्छ।  

प्रकाशित: ६ चैत्र २०८२ ०६:०० शुक्रबार

Download Nagarik App