भोटेकोसीमा मंगलबार बिहान एक्कासी चीनतर्फबाट आएको बाढीले अहिलेसम्म कैयनको ज्यान गएको छ भने बेपत्ताको संख्या पनि ठुलो छ। रसुवागढीमा रहेको नेपाल चीन जोडने मितेरी पुलसहित अन्य कैयन भौतिक संरचना नष्ट हुँदा अर्बाैं रूपैयाँ बराबरको भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले भन्सार कार्यालयको सुक्खा बन्दरगाहमा राखिएका २३ कन्टेनर ट्रक, ३५ विद्युतीय गाडी बाढीले बगाएको जनाएको छ। यससँगै, ६ ट्रक र इभी चार्जिङ स्टेसन क्षतिग्रस्त भएका छन् भने स्याफ्रुबेंसी रसुवागढी सडकखण्ड बाढीले पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणले वुधबार दिएको जानकारी अनुसार बाढीका कारण त्रिशूली करिडोरको रसुवागढी, त्रिशूली–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाँडी गरी करिब दुई सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ।
भोटेकोसीमा आएको उक्त बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले मगलबार बिहान जारी गरेको प्रारम्भिक अध्ययनमा ‘बाढी वर्षाका कारण उत्पन्न भएको देखिँदैन’ भनिएको छ। यसरी ठूलो स्तरमा वर्षा नभए पनि त्यो क्षेत्रमा किन आकस्मिक बाढी आयो भन्नेमा विभिन्न अडकलबाजी भएका छन् र केही दाबीसमेत सार्वजनिक भइसकेका छन्।
भूउपग्रह तस्बिरका आधारमा रसुवागढी भन्दा ३५ किलोमिटर माथि रहेको ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा हिमताल विस्फोट भएका कारण बाढी आएको दाबी सबैभन्दा बलियो देखिएको छ। यद्यपि आधिकारिक निकायले यसको औपचारिक पुष्टि गर्न अझै बाँकी छ।
वर्षाका बेला बाढी आउनु र त्यसले जनधनको क्षति गर्नु नेपालको सन्दर्भमा कुनै नौलौ कुरा होइन। बर्सेनि अर्बाै रूपैयाँ बराबरको क्षति र सयौंको ज्यान जाने गरेको सरकारी तथ्यांकले देखाउँछ। मंगलबारको बाढीको उत्पत्ति नेपालको उत्तरी छिमेकी चीनबाट भएको हो। यस सन्दर्भमा यो बाढी आउँदै गर्दा कतिबेला यसको सूचना समुदाय तथा आधिकारिक निकायलाई प्राप्त भयो र त्यसको सम्प्रेषण र प्रवाह भयो–भएन भन्ने विषय अहम् हुन्छ। प्रष्ट छ, यो घटनाले नेपाल र चीनबिच विपद्जन्य सूचनाको आदानप्रदानमा अभाव रहेको देखाएको छ। बाढीबारे समयमै पूर्वसूचना भएको भए त्यो स्तरको क्षति नहुनेमा कसैको दुई मत हुन सक्दैन। फाट्टफुट्ट यसअघि बाढीजन्य सूचना आदान–प्रदान हुने गरे तापनि दुई देशबिच प्रत्यक्ष सञ्चार सम्बन्ध र प्रणाली विकास गर्न यस्ता घटनाको बेला सिमापार सूचना आदान प्रदानका लागि दुई देशबिच प्रत्यक्ष सञ्चार सम्बन्ध स्थापना हुनुपर्छ। व्यवस्थित सीमापार पूर्व सूचना प्रणालीको विकास भए मात्र ठुलो मात्रामा जनधनको क्षति हुन पाउँदैन। अहिलेसम्म पनि यसप्रकारको आधिकारिक तथ्यांक तत्काल साझेदारी गर्ने निकाय नहुनु चिन्ताको विषय हो। त्यही अभावका कारण यति ठूलो स्तरमा धनजनको क्षति भएको मान्न सकिन्छ।
रसुवागढीको घटना न पहिलो हो, न अन्तिम नै। यसप्रकारको घटना भविष्यमा नदोहोरिएला भन्न सकिन्न। विशेषगरी नेपाल र चीनबिच रहेको हिन्दकुश हिमालय शृंखलामा रहेको कैयन हिमताल विस्फोटका संघारमा छन्। पछिल्ला वर्षमा भएका हरेक अध्ययनले हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र गतिमा बढेको देखाएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र युएनडिपीले प्रकाशित गरेको ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोसी, गण्डकी एन्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एन्ड तिब्बत’ शीर्षकको प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्न सक्ने जोखिममा छन्। यी हिमतालमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा रहेका छन्। उच्च हिमाली क्षेत्रमा हुने हिमताल विस्फोटका घटनाले तल्लो तटमा बनेका महत्त्वपूर्ण भौतिक संरचना लगायत जनजीवन प्रभावित हुने गरेका छन्। यसले समग्र पारिस्थितिक प्रणाली, जलसुरक्षा र मानव जीवनमा गहिरो असर पारिरहेको छ र यो चुनौती बढ्दो क्रममा छ।
युएनडिपी र इसिमोडको प्रतिवेदनले भविष्यमा हुने विस्फोटनको खतरालाई न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी र क्षति भएको अवस्थामा अनुकूलित हुने कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ। विशेषगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तापमान वृद्धिले हिमालय क्षेत्र झन् धेरै आक्रान्त छ। हिउँ पर्ने समय फेरिएको छ, हरेक सिजनमा हिउँपर्ने मात्रामा फेरबदल भएकोछ। हिमनदी पग्लने क्रममा छन्, हिउँ पहिरो र हिमतालको विस्फोटको जोखिम बढ्दै गएको छ। यस्तो अवस्थामा आसन्न संकटलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ठूलो बहस र प्रयास आवश्यक छ।
हिमनदी र हिमतालहरू राजनीतिक सीमारेखाबाट बाहिरका विषय हुन्। यिनको संरक्षण र सम्बर्धनमा पनि आपसी सहकार्य र समन्वयको आवश्यकता छ। नेपाल र चीनले सिमापार पूर्वचेतावनी प्रणाली स्थापना गर्न र विस्फोटको संघारमा रहेका हिमतालको अनुमगनका लागि हातेमालो गर्न सके धेरै हदसम्म यो चुनौतीको समाधान गर्न सकिन्छ। दुई देशको उच्च नेतृत्वले यो विषयमा तत्काल पहल गर्न आवश्यक देखिएको छ।
प्रकाशित: २६ असार २०८२ ०६:०१ बिहीबार