राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई आज मुलुकले प्रधानमन्त्रीका रूपमा प्राप्त गर्दै छ। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा उनलाई चिन्ने जति थिए, त्योभन्दा व्यापक स्तरको लोकप्रियतामा उनी अहिले पुगेका छन्। उनको प्रधानमन्त्रीत्वकालमा देशले उन्नति गर्नेछ भन्ने आशालाग्दा नजरले यतिबेला हेरिरहेको अवस्था छ। देशैभरिको निर्वाचनमा उनको नाममा जसरी लहर आयो, त्यसले आज उनलाई मुलुकको प्रधानमन्त्रीको गरिमामय स्थानमा पुर्याएको हो।
रास्वपा आफैंले पनि यसपटक मुलुकमा इतिहास रचेको छ। यसका सभापति रवि लामिछानेले समयको मागलाई बुझेर राजनीतिलाई अगाडि बढाएको परिणाम हो यो। उनी आफैं प्रधानमन्त्री नबनेर मुलुकका लोकप्रिय युवा बालेन्द्रलाई यसको जिम्मेवारी दिनुले उनको महत्ता पनि स्थापित भएको छ। इतिहासमा यदाकदा मात्रै यस्ता अनुपम दृश्य देखिन्छन्। कहिलेकाहीं मात्रै त्यागका कथाहरू सिर्जित हुन्छन्।
जनताले चाहे भने तीन वर्षमै कुनै दललाई झन्डै दुईतिहाइको बहुमत दिएर संसद् पठाउन सक्छन् भन्ने उदाहरण पनि यसपटक स्थापित भएको छ। त्योभन्दा पनि महत्त्वपूर्ण वर्षौं राजनीति गरेर केश नपकाए पनि मुलुकको सर्वोच्च स्थानमा जनताले नयाँ मानिसलाई पनि पठाउन सक्छन्। लोकतन्त्र सक्रिय भएका मुलुकमा शान्तिपूर्ण ढंगले पनि परिवर्तन सम्भव छ भन्ने यसले चरितार्थ गरेको छ।
मुलुकको लोकतान्त्रिक राजनीतिक इतिहासमा पछिल्लो पटक जेजस्ता परिवर्तनका संकेत देखिँदै छन्, तिनीप्रतिको उत्सुकता पनि उत्तिकै छ। तुलनात्मक रूपमा नयाँ दलहरूले यसपटकको निर्वाचनमा पाएको सफलताका पछाडि आमनागरिकको नवीनतम उपलब्धिप्रतिको आकांक्षाका रूपमा मनन गर्नुपर्ने हुन्छ। यो मुलुकका नागरिक परिवर्तनप्रेमी छन्। त्यस्तो नहुँदो हो त प्रत्येक दशकमा यहाँ परिवर्तनको शंखघोष हुने थिएन। र, ती परिवर्तन गरिरहन्छन्, जहिलेसम्म तिनले सोचेजस्तो हुँदैन।
गत भदौसम्म यो मुलुकको राजनीतिबारे निराशाबाहेक केही सुनिँदैनथ्यो। यहाँको राजनीतिप्रतिको गुनासो पनि उत्तिकै रहेको हो। आमनागरिकले राजनीतिप्रति चासो देखाउनै छाडेको अनुभव पनि नभएको होइन। अहिले आएर मुलुकका कुनाकन्दराबाट देशमा निर्वाचनपछि आइरहेको यो नवीन समयको प्रतीक्षा भइरहेको छ। कुनै पनि लोकतान्त्रिक शासन त्यतिबेला मात्र लोकमान्य हुन्छ, जतिबेला लोकलाई ध्यानमा राखेर शासन गरिन्छ।
लोकतन्त्रमा नागरिकले आफ्नो शासक चुनेको होइन, सेवकको छनोट गरेको हो। सरकारले आमनागरिकका आकांक्षालाई ध्यानमा राखेर फुकीफुकी कदम चाल्न थालेको खण्डमा सफलता अवश्यम्भावी छ। यो मुलुकले वयोवृद्ध व्यक्तिहरूलाई असम्मान गर्दैन तर कतिपय अवस्थामा तिनका अकर्मण्यताले देशलाई परिवर्तन खोज्नैपर्ने अवस्थामा पुर्याएको हो। एउटा ३६ वर्षको युवालाई देशको जिम्मेवारी दिएर आमनागरिकले यतिबेला ठुलो भरोसा गरेका छन्।
हो, यही भरोसा नै भोलिको सरकारको सफलता हो। यो सरकारले काम गरेको हेर्ने चाहना आमरूपमा देखिन्छ। यसलाई काम गर्न दिनुपर्छ भन्ने छ। संसारका कैयन् मुलुकले यतिबेला विकासको फड्को मारिसकेका छन्। हामी भने आधारभूत पक्षमै पनि संघर्ष गरिरहेका छौं। शिक्षा, स्वास्थ्यजस्ता जीवनका दैनिक अत्यावश्यक पक्षसँग पनि संघर्ष गर्नुपरेको छ। यो मुलुकको सरकारले आमनागरिकका चुनौतीलाई आत्मसात गर्नुमै पहिलो सफलता जोडिएको छ।
आज हामीलाई विश्वस्तरमा जानु छ। विदेश भ्रमण गर्दा हेपिएको हाम्रो पासपोर्टको गरिमा बढाउनुपर्ने छ। देशबाट विदेश गई काम गर्दा पनि विशेषज्ञ जनशक्ति जान पाए धेरै फरक हुन्छ। त्यसतिर हाम्रो ध्यान पुग्नुपरेको छ। देशभित्रै पनि खोजेको जस्तो शिक्षा र त्यसैका आधारमा रोजगारीको अपेक्षा छ। प्राकृतिक स्रोतसाधनले सम्पन्न हुँदाहुँदै पनि हामी धेरै पछि परेका छौं। देशभित्र उद्योगधन्दा वा अन्य उद्यम चाहिएको छ।
देशमा सुशासनको सर्वथा अभाव छ। देशमा लोकतन्त्र आएपछि समन्यायको अवस्था अपेक्षा गरेको हो। राज्यका नियुक्तिमा गुणवत्ताको खोजी गरेको हो। दल र दलभित्र पनि एउटा गुटले मात्र लाभान्वित हुने भनेको होइन। मुलुकलाई समृद्धि चाहिएको हो तर केही व्यक्तिको परिवारलाई मात्र यो चाहिएको होइन। यी यावत् चुनौतीबिच बालेन्द्रले मुलुकको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी ग्रहण गर्दै छन्। मुलुकको प्रधानमन्त्रीले चाहँदा धेरै पक्ष परिवर्तन हुन्छन्। मुलुकको सबैभन्दा माथिल्लो ओहदाको व्यक्ति असल भएपछि देश सुध्रिन धेरै बेर लाग्दैन।
मुलुकमा कार्यकारी प्रधानमन्त्रीको प्रसंग पनि विगतमा नउठेको होइन तर देशैभरिमा प्रधानमन्त्री हुने व्यक्तिको अनुहार हेरेर यसपटक मत आएको छ। यसकारण पनि यसपटकको संसद्को बनावट, सरकार निर्माण र मुलुकको आगामी यात्राले धेरै पक्षलाई निर्धारण गर्नेछ। हामीले न विदेश नीतिलाई ठिक राखेका छौं, न घरभित्रै नै सबै सन्तुष्ट छन्। एउटा असजिलो अवस्था छ। यही असजिलो अवस्थाबाट मुलुकले निकास खोजेको हो।
यही निराशाबिच आशा र विश्वासको अनुहारका रूपमा बालेन्द्र शाहलाई रोजिएको छ। उनले शुक्रबार विधिवत् सपथग्रहण गरेपछि देशको नयाँ यात्रा सुरु हुन्छ। मुलुकमा निर्वाचनपछि प्रत्येक पटक प्रधानमन्त्री फेरिन्छन्। त्यो सत्ताको सहज हस्तान्तरणको अवस्था हो। गत भदौको जेनजी अभियान र त्यसपछि घटित अवस्थापछि मुलुकले प्राप्त गरेका प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी पूरा गरिसकेकी छन्। उनले गराएको निर्वाचनपछि नयाँ सरकार देशको मुटु सिंहदबारमा आइपुगेको छ।
मुलुक अहिलेको अवस्थामा आइपुगेको विगतका अनेकन् आन्दोलन, अभियान र गतिविधिका कारणले हो। हामीले भोगिरहेको लोकतान्त्रिक शासन व्यवस्थाले आर्थिक उपलब्धि हासिल गर्न नसकेपछि आमरूपमा उदार अर्थतन्त्र, खुलापन र स्वतन्त्रताले हामीलाई एउटा राम्रो ठाउँमा राखेको छ। नयाँ सरकारले विगत आन्दोलनका उपलब्धिका रूपमा संघीयता, मानव अधिकार र लोकतन्त्रका उच्चतम अभ्यासलाई अझ फराकिलो बनाउँदै जानुपर्ने हुन्छ। नयाँ यात्राका निम्ति सुस्वागतम् बालेन्द्र शाह!
प्रकाशित: १३ चैत्र २०८२ ०६:०१ शुक्रबार