सम्पादकीय

आन्दोलनपछिका अजेन्डा

गत भदौ २३ मा जेन-जीले आह्वान गरेको आन्दोलन अनायासै अरूले अपहृत गरेपछि स्थिति अत्यन्त भिन्न भएको छ। स्व:स्फूर्त युवाहरू जो सन् १९९७ देखि २०१२ सम्म जन्मिएका हुन्, तिनीहरू जेनरेसन–जी हुन्। 

सूचना प्रविधिको विकासको यो समयमा जन्मिएर कम्प्युटरसँगै हुर्केका यी युवाको जानकारीको स्रोत र संज्ञान अरूभन्दा भिन्न छ। उनीहरू यथार्थमै विश्वग्रामका सदस्य हुन्। विश्वको कुनै कुनामा भएको उपलब्धि वा आन्दोलनले तिनलाई सजिलै प्रेरणा दिन सक्छ। त्यही प्रेरणाबाट उनीहरू अगाडि बढेका हुन्।

जेन-जी आन्दोलनको पहिलो दिनमै स्थितिलाई आफूअनुकूल बनाउन ढुकेर बसेका तत्त्वले आक्रामक विन्दुमा पुर्‍याई २० युवा बलिदानको अवस्थामा पुर्‍याएको हो। त्यसैको परिणामस्वरूप भोलिपल्ट भदौ २४ मा मुलुकले जुन तहको तोडफोड, आगजनी र विध्वंस अनुभव गर्न पुगेको हो। 

मुलुकका पटक पटकका राजनीतिक परिवर्तनमा यो तहको उदण्डता प्रकट भएको थिएन। जेन-जी भन्नेबित्तिकै त्यो उमेर समूहका नागरिकको आन्दोलन भए पनि कुनै सर्वमान्य नेता वा संस्था यसमा थिएनन्। एउटा पवित्र भावनाले भएको आन्दोलनलाई यो तहको हिंसात्मक बनाएर प्रतिरक्षात्मक बनाउनुपछाडि योजनाबद्ध प्रयोगकर्ताको भूमिका प्रस्ट भएको छ।

वास्तवमा २४ गते गरिएको व्यापक दंगाका कारण जेन-जीमाथि अनावश्यक दबाब र नोक्सानीबाहेक केही भएको छैन। आफ्नै मुलुकका सम्पदा, सम्पत्ति र स्रोत नोक्सान गर्ने यो आन्दोलनका लागि तिनले गर्व गर्न सक्ने अवस्था रहेको छैन। आन्दोलनयता पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको झन्डै दुईतिहाइ बहुमतको बलियो सरकार मात्र ढलेको छैन, संसद् विघटन भएको छ। विगतको शासन व्यवस्था सञ्चालन गर्नेहरू अत्यन्त कमजोर अवस्थामा पुगेका छन्।

मुलुकमा गरिएको क्षतिका कारण जेन-जी युवामाथि पनि प्रश्न उठेका छन्। तिनको काँधमा राखेर अरू कसैले बन्दुक पड्काएको यहाँ महसुस भएको छ। त्यसैले आफ्नो आन्दोलनलाई बदनाम गराउने र मुलुकका सम्पदा र सम्पत्तिमाथि आक्रमण गर्ने लुकेका तत्त्वहरूलाई सार्वजनिक गर्नुपर्ने दायित्व पनि जेन-जी युवाहरूको हो। तिनको आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने हो भने ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै आगजनी गर्नेहरूको पहिचान हुनैपर्छ। त्यो आन्दोलन कुनै शत्रु राष्ट्रले गरेको थिएन। त्यो आफ्नै युवाहरूको असन्तुष्टि र आक्रोशलाई दुरुपयोग गरी लुकेर नेपालको मुटुमाथि प्रहार गरिएको घटना हो। 

आन्दोलनका क्रममा नेपाललाई खरानी बनाउन खोज्नेहरूलाई पहिचान गरी कारबाही नगर्ने हो भने कसैले पनि भोलि आन्दोलन उठाएर निष्कर्षमा पुर्‍याउने अवस्था रहने छैन। बरु यस्तो अवस्थाले कुनै तानाशाही प्रवृत्तिलाई मलजल गर्नेछ। नेपालमा सबैले असुरक्षित गरेपछि तानाशाही चलाउन खोज्ने व्यक्तिहरू सुरक्षाको प्रत्याभूति दिँदै आउने निश्चित छ। मानिसले जिन्दगीभरिको कमाइ एकैछिनमा स्वाहा पार्न लुकेर आक्रमण गर्नेहरूको फेहरिस्त सार्वजनिक भइरहेको छ। यसकारण पनि त्यो आन्दोलनलाई बदनाम गर्न लुकेर बसेका तत्त्वहरूमाथि कारबाही हुनुको विकल्प छैन। 

जेन-जी युवाको कुनै एउटा मात्र समूह छैन। बरु ‘जेन-जी युनाइटेड फर चेन्ज’ नामक युवा समूहले विभिन्न नाममा विभाजित अभियानलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्। यो अभियानलाई एकताबद्ध गर्न उनीहरूले सरकारसँग अभिभावकत्वको भूमिकाका निम्ति पनि आग्रह गरिरहेका छन्। वास्तवमा यस्तो काम सरकारले गरिदिने होइन, यो युवाहरू आफैंले अभियानका रूपमा लैजाने हो। 

प्रमुख दलका सबैजसो नेताहरू विगतमा अहिलेको जेन-जी पुस्ताकै युवाहरूको उमेर समूहमा रहेकै बेला राजनीतिमा सक्रिय भइसकेका हुन्। अहिलेका जेन-जी युवाले पनि अब राजनीतिमा प्रवेश गरिसकेका छन्। देश हाँक्ने र राजनीतिलाई सही बाटोमा लैजान उनीहरूले आफूलाई सक्रिय बनाउँदै लैजानुको विकल्प छैन। तिनले विकल्प दिएनन् भने जसले भदौ २४ को ध्वंस गरायो, त्यसैका हातमा राजनीति जाने निश्चित छ।

हाम्रो मुलुकमा शासन व्यवस्थामा सुधारभन्दा पनि सुशासनको अभाव हो। सुशासन भइदिने हो भने जस्तोसुकै शासन व्यवस्थाले सकारात्मक प्रतिफल दिन सक्छ। तानाशाही भनिएका व्यवस्थामा पनि सुशासन दिनसक्ने असल नेता पाउँदा भिन्न परिणाम प्राप्त भएको छ। हाम्रो मुलुकमा लोकतन्त्रलाई समेत अफापसिद्ध तुल्याउने काम भएको छ। त्यो अरू कसैले गरिदिएको होइन, व्यवस्थाकै सञ्चालकले यस्तो अवस्था ल्याएका हुन्। 

धेरैले पहिलेदेखि भन्दै आएका हुन्– गणतन्त्रविरुद्ध गणतन्त्रवादीबाटै खतरा छ। वास्तवमा अहिलेको व्यवस्थामा खतरा यिनै दलले ल्याएका हुन्। हाम्रो मुलुकलाई असफल बनाउन खोज्ने नयाँ नयाँ प्रणालीको खोजीभन्दा पनि सन्तुलन र नियन्त्रणको सशक्त प्रयोगयुद्ध लोकतान्त्रिक व्यवस्थाभित्रै सुशासनको खोजीतर्फ लाग्नु उचित हुन्छ। आन्दोलन अपहृत भएजस्तै अजेन्ड पनि अपहृत नहुन्।

प्रकाशित: १२ कार्तिक २०८२ ०६:१२ बुधबार

Download Nagarik App