सम्पादकीय

वयस्क गणतन्त्र

आज गणतन्त्र दिवस। २०६५ जेठ १५ गते अर्थात् आजकै दिन संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रलाई बिदा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। विश्वका बिरलै देशमा जस्तै जनताको सर्वाेच्च निकाय व्यवस्थापिका संसद् (संविधानसभा) बाट २४० वर्ष पुरानो राजतन्त्रलाई सधैंका लागि बिदा गरेको हो। यसो हुनुमा राजाले पटक पटक संसद् र सरकारमाथि धावा बोल्नु र प्रत्यक्ष शासनको महत्त्वाकांक्षा देखाउनुलाई कारण मान्न सकिन्छ। विभिन्न आन्दोलन, संघर्ष, बलिदान र आन्दोलनको परिणामस्वरूप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यो व्यवस्थालाई मुलुकले आत्मसाथ गरेको १८ वर्ष भएको छ। १८ वर्षमा नेपाली नागरिक निर्वाचनमा मतदान गर्न बालिग हुने हाम्रो कानुनी व्यवस्था छ। १८ वर्ष पूरा भएको नागरिक कानुनले प्रतिबन्ध लगाएकोबाहेक सबै काम गर्न योग्य हुन्छ। त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र पनि अब वयस्क भएको छ। यस दौरानमा विभिन्न आरोह–अवरोहलाई पार गर्दै आजको दिनमा आइपुगेका छौं।

एकातिर जनता गणतन्त्र दिवस उल्लासमय तवरले मनाउन जुटिरहेका छन् भने अर्कातिर गणतन्त्र मनै नपराउनेहरू पनि नभएका होइनन्। वंशवादको पक्षपोषण गर्ने केही व्यक्ति र संस्थालाई अहिले पनि मुलुकको सर्वोच्च निकायमा जनताका छोरा/छोरी पुग्ने र पुगेको कुरालाई रुचिकर लागेको छैन र उनीहरू भनिरहेका छन् - गणतन्त्रले मुलुक खत्तम पार्‍यो, राजतन्त्र पुनः ब्युँताउनुपर्‍यो।

गणतन्त्र स्थापना भएको जम्मा १८ वर्ष बितेको छ। यसबिच मुलुकलाई भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीजस्ता कहर सहन परेको छ। गणतन्त्रले केही गरेन र भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। अनि अवस्था परिवर्तन गर्नुको साटो फेरि व्यवस्था माथि नै प्रहार गर्ने र परिवर्तन गर्न सकिन्छ भन्ने कतिपयलाई लागेको छ। संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष भनेको नै त्यही हो, आफूलाई लागेको कुरा भन्न पाइन्छ। लोकतन्त्रमा आफ्नो धारणा राख्न पाइन्छ। आफ्ना गतिविधि शान्तिपूर्ण तवरले गर्न पनि सकिन्छ। यही अवस्थाका लागि राजतन्त्र फालेर गणतन्त्रको यात्रा तय गर्नुपरेको हो। त्यसैले कल्पनामा डुब्न पाउने केही व्यक्तिको अधिकारसँग डराउनुपर्ने आवश्यकता छैन तर त्यसको वस्तुनिष्ठ विश्लेषण आवश्यक छ। त्यसो नहुँदा धेरै अलमल र भ्रमहरू सिर्जना भएका छन्।

सबै बिग्रियो मात्र भन्ने चस्मा लगाउँदा बनेको केही देखिँदैन। जताततै खत्तम मात्र भयो भन्ने दृष्टिले त्यस्तै सृष्टि तयार पार्छ। आशा गर्ने ठाउँ नै छैन भन्दा निराशा मात्र हात पर्छ। गणतन्त्रपछि कैयन् क्षेत्रमा लोभलाग्दो काम पनि भएका छन्। नकारात्मक चिन्तन मात्र गर्दा भने यो देखिँदैन। शिक्षालय र शिक्षार्थीहरूको संख्या उल्लेखनीय ढंगमा बढेको छ। स्वास्थ्योपचारको दायरा फराकिलो भएको छ। अभिव्यक्ति स्वतन्त्रताले सबै मानकलाई उछिनेको छ। लिंग र जातका आधारमा हुने भेदभाव क्रमशः इतिहासको विषय बन्ने बाटोतिर लाग्दै छ। महिला सहभागिता र नेतृत्व कति तीव्रतर रूपमा बढेको छ भन्ने जान्न निजामती सेवामा कर्मचारीको लैंगिक अनुपात तुलना गरे पुग्छ । सडक, पुललगायत विकासका पूर्वाधारले पनि फड्को मारेका छन्।

त्यसो भए सबै ठिकठाक छ त? होइन, जति हुनुपर्ने र गर्नुपर्ने हो, त्यो भएको छैन। जनअपेक्षाअनुरूप आर्थिक विकास र समृद्धिको गतिलाई अझ तीव्रता दिनुपर्ने छ। भ्रष्टाचार नियन्त्रण र सुशासनमा विगतका सरकारहरू चुकेको र कछुवा गतिमा हिँडेको कुरा कसैलाई मन परेको थिएन। पुराना दल र तिनका केही नेताले आलोचना सुन्न नचाहँदा पछिल्लो पुस्तामा निराशा बढेको थियो। त्यसकै जगमा गत भदौ २३ र २४ गते सडकमा असन्तुष्टि पोखिन पुग्यो। मुलुक असमयमा आमनिर्वाचनमा होमिन पुग्यो । फागुन २१ गते निर्वाचन भयो। निर्वाचनले चार वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आमजनताले अधिक मत दिएका छन्। झन्डै दुईतिहाइ बहुमतसहित रास्वपाले सरकारको नेतृत्व गरेको छ। दल र तिनका नेता सुन्न तयार नभए जनताले निर्वाचनमार्फत सरकार मात्र परिर्वतन गर्दैनन्, दलहरूलाई पनि असान्दर्भिक बनाइदिन सक्छन्। जुन आमनागरिकले सम्पन्न निर्वाचनबाट थप प्रमाणित गरिदिएका छन्।

आफ्नो होइन, जनताको हितलाई केन्द्रमा नराखे फेरि पनि जनताले निर्वाचनमार्फत दल र तिनका नेतालाई सजाय दिन सक्छन्। अपवादमा कुनै दल र तिनका नेताविशेषलाई लिएर संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा जबर्जस्ती गलत भाष्य निर्माण गर्न खोज्नु शासनशैलीमाथि नै ठुलो अन्याय हो। अहिले व्यवस्था होइन, जनताको अवस्थामा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। दूरदराजमा रहेका जनताले विकास र आर्थिक समृद्धिका साथै सुशासनमार्फत परिवर्तनको अनुभूति खोजेका छन्। केही नेता र कर्मचारीका कारण गणतन्त्रमा खिया लाग्न थालेको छ भने सबै मिलेर हटाउनुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत देश र जनताको मुहार चम्काउनुपर्छ। व्यवस्थाको विकल्पमा समय खेर फाल्नुभन्दा समृद्धि र सुधारको मार्गलाई फराकिलो बनाउनुपर्छ। सबैलाई गणतन्त्र दिवसको शुभकामना!

प्रकाशित: १५ जेष्ठ २०८३ ०६:०३ शुक्रबार