सम्पादकीय

शान्तिको याचना

मुलुकमा यतिबेला निर्वाचनको चर्चा भइरहेको छ। फागुन २१ का लागि प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीमा मुलुक छ। यसबिच बाराको सिमरामा उत्पन्न झडपको स्थितिले चुनावी वातावरण बिगार्ने संकेत दिएका छन्। त्यसैले सरकार, दल, जेनजी समूह र सुरक्षा संयन्त्र सबैले गम्भीर भएर काम गर्नुपर्ने देखिएको छ। सिमरामा जेनजी समूह र नेकपा एमाले कार्यकर्ताबिचको झडप, विमानस्थलनजिकै कफ्र्यु, उडान स्थगन र राजनीतिक कार्यक्रम रोक्नुपरेको छ। शान्तिपूर्ण ढंगले निर्वाचन गर्न यस्ता अवरोध हुनुहुँदैन। घटना आकस्मिक देखिए पनि यसले देशको राजनीतिक संरचना, राज्य संयन्त्र र नागरिक आन्दोलनको वर्तमान मनोविज्ञान सबैलाई बुझाएको छ।

निर्वाचन सामान्य र नियमित प्रक्रिया मात्र होइन, यो लोकतन्त्रको आत्मा हो। चुनावमार्फत् नागरिकले आफ्नै भविष्य कोर्ने हो। निर्वाचनमा बुद्धि नपुर्‍याउँदा देशको भविष्य संकटमा पर्छ भन्ने चेतना जागृत गर्ने समय पनि हो यो। यस्तो महत्त्वपूर्ण प्रक्रियामा अवरोध, हिंसा, असुरक्षा र दलगत मनमुटावले जरा गाड्दै गयो भने संविधानले सुनिश्चित गरेको प्रक्रियामा प्रश्न उठ्छ। सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबिच उत्पन्न मतभेदले भित्रभित्र सल्किरहेको विद्वेषको आगोलाई सम्झाएको छ। यो घटनाले राज्य संयन्त्रको संवेदनशीलता, दलहरूको संगठनात्मक जिम्मेवारी, युवाको आक्रोश र आगामी चुनावका सम्भावित जोखिम एकैसाथ सतहमा ल्याइदिएको छ। यसकारण पनि सबैले जिम्मेवारीबोध गर्नु आवश्यक छ।

घटनाले आगामी दिन झन् संवेदनशील हुने चेतावनी दिएको छ। त्यसैले पूर्वतयारी बलियो हुनुपर्छ। जेनजी आन्दोलनले नेपाली समाजमा जागेको एउटा नयाँ राजनीतिक चेतना स्पष्ट देखिन्छ। युवाहरू वर्षौंदेखि थिचिएको भ्रष्टाचार, अन्याय, लक्ष्यविहीनता र कमजोर शासनविरोधी आवाज बनेका छन्। त्यति मात्र होइन, पुराना दलले आफूलाई सच्याउने अवसर पनि हो। लोकतन्त्रमा युवा आवाज सुन्नु राज्य र दल दुवैको कर्तव्य हो। सिमरा घटनाले जेनजी आन्दोलनसमक्ष पनि एउटा कठोर प्रश्न गरेको छ। असन्तोष जतिसुकै गहिरो भए पनि विरोध हिंसात्मक हुन दिनु हुँदैन। आन्दोलनको नैतिक उचाइ जोगिनु भनेको शान्तिपूर्ण विधिभित्रै रहनु हो। विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा तनाव सिर्जना हुनु, गेट भत्किनु र सुरक्षाअंगसँग झडप हुनुले आन्दोलनको वैधानिकताको चिन्तनलाई कमजोर बनाइदिन्छ। युवा परिवर्तनका ऊर्जा हुन्, तर यही ऊर्जा मर्यादाभन्दा बाहिर निस्कँदा सुधार होइन, अव्यवस्था जन्मिन्छ।

सिमरा प्रकरणमा फेरि पनि जेनजी आन्दोलनले कमजोर बनाएको सुरक्षा संयन्त्रमाथि नै आक्रमण भएको छ। राज्यको सम्पत्ति फेरि पनि तोडफोड गरिएको छ। यस्तो प्रवृत्तिले कहिल्यै आन्दोलनको गरिमा बढाउन सक्दैन। प्रशासन र सुरक्षा संयन्त्रले जेनजी समूहका गतिविधिबारे पहिलेदेखि जानकारी भएको दाबी गरे पनि विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रसम्म सजिलै भिड पुग्न दिनु गम्भीर कमजोरी हो। प्रदर्शनअघि नै यथोचित सुरक्षा तयारी हुनुपर्छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ मा सुरक्षा तयारी राम्रो नहुँदा मुलुकले ठुलो दुर्घटना भोग्नुपरेको पाठ सुरक्षा निकायले बिर्सन मिल्दैन। सरकारको पहिलो जिम्मेवारी देशलाई शान्ति दिनु हो। मतदाताले मताधिकार प्रयोगमा सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्छ।

राज्य र नागरिकबिचको विश्वास लोकतन्त्रको मेरुदण्ड हो। त्यो विश्वास घट्दै जाँदा सुरक्षा संयन्त्र बढ्ता परिचालन गर्नुपर्ने हुन्छ। सामान्य विरोध प्रदर्शनबाट पनि डराउनुपर्ने अवस्था आउँछ। शान्तिपूर्ण आन्दोलनबाट जुन उद्देश्य सजिलै प्राप्त हुन्छ, त्यही काम दंगाफसादबाट हुँदैन भन्ने बुझ्नु आवश्यक छ। अहिले जेमा पनि आक्रमण गरिहाल्ने, तोडफोडमा उत्रिहाल्ने र व्यक्तिमाथि सांघातिक आक्रमण गर्ने प्रवृत्ति बढेको छ। यो कुनै अर्थमा उचित होइन। यो पनि बुझ्नुपर्छ, प्रायः दलहरू स्वार्थवश वातावरणलाई जटिल बनाउन खोज्छन्। मुलुकमा भएको यत्रो ठुलो उथलपुथलपछि स्वाभाविक रूपमा दलहरूले फेरि आफ्नो औचित्य पुष्टि गर्न प्रयासरत हुनेछन्। त्यसकारण सबैका निम्ति अवसर सिर्जनाको सुनिश्चिता आवश्यक हुन्छ। यसो हुँदा मात्र सबै चुनावप्रति उत्सुक हुन्छन्। स्वतन्त्र नागरिकको सरकार भए पनि राजनीतिक दलहरूले आफ्नो भूमिका र जिम्मेवारी बिर्सन मिल्दैन। तिनले गम्भीर रूपमा आत्मसात गर्नुपर्छ।

देशलाई शान्तिको मार्गमा ल्याउनु नै अहिलेको सबैभन्दा ठुलो राष्ट्रिय प्राथमिकता हो। चुनाव गर्नु अनिवार्य छ। चुनाव भयमुक्त, हिंसारहित र विश्वासपूर्ण वातावरणमा हुन जरुरी छ। युवाहरूले जिम्मेवार ढंगले दबाब दिनुपर्छ, दलहरूले संयमित र परिपक्व भूमिका खेल्नुपर्छ र सरकारले सुरक्षित, निष्पक्ष र विश्वसनीय वातावरण बनाउने कर्तव्यबाट पछि हट्न मिल्दैन। शान्ति भंग गर्ने काम दल, युवा पुस्ता वा अरू कसैले गर्न हुँदैन। देशमा शान्तिको वातावरण बिगार्दै जाने हो भने अरू ठुला संकटोन्मुख भइने निश्चित छ।  

प्रकाशित: ७ मंसिर २०८२ ०६:०३ आइतबार

Download Nagarik App
Download Nagarik App