सम्पादकीय

समीक्षा र एलिनालाई सलाम!

आफ्नो स्वर प्रतिभाका कारण युवा गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहान चर्चामा छन्। अहिलेको चर्चा भने उनीहरूको कुनै गीतका कारण होइन सामाजिक सञ्जालमा थालिएको एक अभियानको उपजले गर्दा भइरहेको हो। यो अभियानको नाम हो– ‘एक्सपोज अभियान’। सामाजिक सञ्जालमार्फत आफ्नो मानमर्दन, गाली, बेइज्जती र चरित्रहत्या गर्नेलाई सामाजिक सञ्जालमै एक्सपोज (खुलासा वा सार्वजनिक) गरिदिने अभियान। यो अभियानकै कारण यतिबेला समीक्षा र एलिनाको चर्चा मात्र होइन, प्रशंसासमेत हुन थालेको छ। दुई गायिकाको उद्घोषको पक्षमा कलाकार मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुख खोलेका छन्। ओलीले शनिबार आफ्नो फेसबुक पोस्ट्मा गायिकाद्वय समीक्षा र एलिनालाई ‘साहसी छोरीहरू’ भनेर सम्बोधन गर्दै लेखेका छन्– ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।

अभिनेता दीपकराज गिरीले अभियानलाई शुभकामना दिँदै यसको प्रवृत्तिगत विशेषता औंल्याउन खोजेका छन्। यौन दुर्व्यवहारको पीडा भोगेर संघर्षपश्चात् पुनः लयमा फर्कन सफल समीक्षा र केही समयअघि मात्रै सम्बन्धविच्छेद गरेर एकल जीवन बिताइरहेकी एलिनाको साहसको सम्मान गर्दै गिरीले लेखेका छन् – ‘सामाजिक सञ्जाल कस्तो छ? आफूले समाज, परिवार र राष्ट्रका लागि दुई कौडीको काम नगर्ने तर जो काम गर्छन् तिनिहरूलाई नैतिकता सिकाउने, गालीगलौज गर्ने, तँ यस्तो, तँ उस्तो भनेर अभद्रता देखाउने, चरित्रमाथि औंला उठाउने ! ...पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार, पेशाकर्मी सबै नैतिकताहीन, चरित्र खराब, देशमा सबै अज्ञानी, आफू मात्रै साधु, सन्त, ज्ञानी। यसो भन्दै गिरी राज्य प्रणालीमाथि पनि प्रश्न गरेका छन्, ‘यस्ता उच्छृङ्खलताविरुद्ध साइबर (प्रहरी) मा गयो कानुन नै कमजोर, ठूला नेतालाई गाली गर्‍यो समातेर तु कारबाही सुरु गरिहाल्ने तर अन्य जनसामान्यलाई गरिएको गालीगलौज विरुद्ध उजुरी गरिए पनि कसले सुन्ने ? आक्कलझुक्कल सुने पनि कारबाही गर्न वर्षौं लाग्ने, त्यसकैपछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि?’

एक समय थियो, जहाँ सामाजिक सञ्जाल लोकतन्त्रको उपहार थियो। इन्टरनेटको बढ्दो पहुँचसँगै व्यापक बनेका यस्ता भर्चुअल सार्वजनिक मञ्चहरू संसार नै एउटा वैश्विक गाउँ बनिरहेका बेला सूचना, जानकारी, विश्लेषण आदानप्रदान गर्ने, सञ्जाल निमार्ण गर्ने साधनका रूपमा थियो। यस्ता सञ्जालहरूमा आफ्ना विचार निर्धक्क राख्ने सुविधा भएकाले यसलाई वैकल्पिक मिडियाका रूपमा पनि लिइन्थ्यो। लोकतन्त्र बलियो बनाउने औजारका रूपमा यसलाई परिभाषित गरिन्थ्यो तर अहिले के भइरहेको छ? यसबारे हामीले घोत्लिने बेला भइसकेको छ।

लोकतन्त्र संवर्धक र प्रवर्धकको दृष्टिबाट हेर्ने हो भने यतिबेला सामाजिक सञ्जालहरू आफ्नो वास्तविक अस्तित्वको अवसान यात्रामा छन्। यी विचार होइनन् बजारको अस्त्र बनेका छन्। इन्टरनेट यो विश्वमा एउटा खोपीमा बस्ने र अरूलाई गाली गरेर आफूतिर ध्यान खिच्ने, जहाँ जसरी पनि भाइरल हुने एक मात्र अभिष्ट बन्न पुगेको छ। सामाजिक उत्तरदायित्वलाई देखाउने दाँत मात्र बनाएका यिनका संस्थापकहरूलाई जसरी हुन्छ केवल पैसा कुम्ल्याउनुछ। यसका लागि उनीहरू जे पनि गर्न तयार देखिन्छन्। कसैलाई रातारात चर्चित र धनी त सामान्य कुरा, अहिलेको समयमा सामाजिक सञ्जालहरू कति शक्तिशाली बनेका छन् भने जसले चाहेमा कुनै देशमा खराब नेतालाई चुनाव जिताउन सक्छन्। असल नेताको पत्तासाफ गराउन सक्छन्। कुनै देश, त्यहाँका शासक, व्यापारीलाई तपाईं हाम्रै व्यक्तिगत डेटा दुरूपयोग वा बिक्री गरेर हाम्रै जीवनमा द्वन्द्व, झगडा निम्त्याई दिन सक्छन्।

नाम सामाजिक सञ्जाल भनिए पनि यसले समाजमा सुधारभन्दा बिगार बढी गरिरहेको छ। हामी यसप्रति विमति राख्न पनिसक्छौं तर यसले मन्द विषसरी हामीलाई धीर, थीर र संयमित होइन अधैर्य, अस्थिर र आक्रोशित बनाइरहेको छ। हामीलाई सही र गलतको यस्तो कित्तामा ध्रुवीकृत गरिरहेको छ जहाँ मध्यमार्गको कुनै स्थान नै छैन। त्यसकारण हामी आलोचनामा पनि गाली देख्छौं। हाँसो वा ख्यालठट्टा होइन अर्कालाई लज्जित तुल्याउन तल्लीन हुन्छौं।

अल्गोरिदमको यो भुलभुलैयाले पलभर हामीलाई सबल बनाएजस्तो लागे पनि अन्ततः यसको सिकार हुने भनेका समाजका कमजोर, गरिब, महिला, दलित, अल्पसंख्यक समूह हुन्। समीक्षा र एलिनाहरू नै हुन्, जो पुरुषवादी सोचग्रस्त स्त्रीद्वेषी जमातको आक्रमणमा पर्छन्। यसको दोष सामाजिक सञ्जाल, सञ्जालका कुलती र त्यसबाट विकसित समाजको एक समूहलाई मात्र दिएर पुग्दैन। अर्थात् यस्तो हुँदा पनि राज्य मूकदर्शक बनेर नागरिकप्रतिको दायित्व पूरा हुँदैन। हाम्रोजस्तो ‘डिजिटल साक्षरता’ न्यून भएको देशमा इन्टरनेटलाई कुन हदसम्म व्यापक बन्न दिने, सामाजिक सञ्जालका के कस्ता कुरामा नियमन गर्ने, बन्देज गर्ने भन्नेतर्फ सोच्न ढिलो भइसकेको छ। नियम, कानुन बनाउन समय घर्किसकेको छ।

एकातिर सामाजिक सञ्जालको नकारात्मक पक्षको विरोध गर्ने तर सामाजिक सञ्जालकै लागि ‘कन्टेट’ सिर्जना गर्न हरदम क्रियाशील हुने, युट्युबे भन्ने तर त्यही युट्युबमा अन्तर्वार्ता दिन मरिहत्ते गर्ने, मूलधारभन्दा तिनै ‘नयाँ मिडिया’ भनिएकाहरूलाई अन्तर्वार्ता दिने, एकातिर साहसी छोरी भन्दै समीक्षा र एलिनालाई स्याबास भन्ने अर्कोतर्फ स्वयं भाइरल सामाजिक सञ्जालमा ‘म पनि झोले’ जस्ता अभियानबाट प्रशंसा पाउने लोभ गर्ने कार्य आफैंमा विरोधाभासयुक्त छ। सामाजिक सञ्जालको यसखाले विषाक्त वातावरणबाट बच्ने पहिलो शर्त भनेकै यसको जञ्जालबाट मुक्त हुनेतर्फ लाग्ने हो। हाम्रो सुझाब छ– आत्मसमीक्षा गरौं, त्यसतर्फ लागिहालौं ।

प्रकाशित: १५ असार २०८२ ०५:५८ आइतबार

# Nagarik # Singers Samiksha Adhikari and Alina Chauhan # The pain of sexual abuse