सम्पादकीय

‘सुत्केरी मसला’ सूत्र

घरमा सुत्केरी हुँदा महिलालाई पीडा हुने, विभिन्न जोखिम आइलाग्ने, रक्तस्राव भइ आमा र शिशु दुवैको स्वास्थ्य स्थिति खराब हुन सक्ने जस्ता समस्यालाई मध्यनजर गर्दै बैतडीस्थित दशरथ चन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आकर्षित गराउने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरेको छ। ‘उपमेयरको कोसेली’ नामक यो कार्यक्रमको मुख्य उद्देश्य घरमै सुत्केरी हुने कार्यलाई शून्यमा झार्नु रहेको जानकारी पालिकाले दिएको छ।

जो स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन्छन् उनलाई कोसेलीबापत हर्लिक्स, काजु, बदाम, दाल, नूनलगायतका खाद्य सामग्री उपलब्ध गराइन्छ। आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र शिशुको स्वास्थ्यका विषयमा परिवारका सदस्यलाई जागरुक गराउने तथा शिशु मृत्युलाई शून्य दरमा झार्ने जस्ता उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको जानकारी पालिकाको स्वास्थ्य शाखाले दिएको छ। एकातिर अस्पतालको तुलनामा घरमै सुत्केरी हुँदा विभिन्न समस्या आइलाग्ने जोखिम हुने र अर्कोतर्फ सुत्केरी हुनुअघि र भइसकेपछि पनि पोषिला खानेकुराहरू आवश्यक पर्ने दुवै अवस्थालाई दृष्टिगत गरी पालिकाले थालेको सुत्केरी मसलायुक्त यो कार्यक्रम नवीन सोचको कार्यान्वयन होभन्दा फरक पर्दैन।

त्यसो त गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसैगरी अन्यत्रझैँ सरकारको मापदण्डअनुसार आठ पटक गर्भ जाँच गराउने आमालाई दुई हजार आठ सय रूपैयाँ प्रोत्साहन भत्तासमेत दिइँदै आएको छ। टिटी खोप, जुकाको औषधि र आइरन चक्कीका लागिसमेत गर्भवती तथा सुत्केरीले पैसा तिर्नुपर्दैन। तर पनि अझै धेरै महिला स्वास्थ्य संस्थामा भन्दा घरमै सुत्केरी हुने गरेका छन्। यस्तो अवस्थाबीच पालिकाले घरमै हुने सुत्केरीलाई शून्यमा झार्न थालेको यो प्रयास सलामलायक मान्नुपर्छ।

पछिल्लो समय देशैभर सुत्केरी हुन स्वास्थ्य संस्था रोज्ने क्रम बढ्दो छ। संघीय राजधानीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मात्र आर्थिक वर्ष २०८०/८१ मा २२ हजार दुई सय ७० जना सुत्केरी भए। जसमध्ये ४३ प्रतिशत अर्थात नौ हजार ६ सय महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए। यसबाट देखिन्छ कि स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरू बढिरहेका छन् र अझ त्यसमा पनि शल्यक्रिया प्रविधि अपनाउनेहरू पनि क्रमशः बढिरहेका छन्। तर बैतडी तथा पहाडी जिल्लामा मात्र हैन, मधेस प्रदेशका समथर ठाउँमा समेत अझै पनि धेरै गर्भवती सुत्केरी हुन स्वास्थ्य संस्था जाँदैनन्। जसका कारण विभिन्न भए पनि वास्तविकताचाहिँ यही हो। यस्तो अवस्था चिर्न दशरथ चन्द नगरपालिकाले जुन थालनी गरेको छ, त्यो यसर्थ पनि अनुशरणीय छ।

विशेषगरी पहिलोपटक सुत्केरी हुनेले बढी पीडा महसुस गर्ने भएकाले शल्यक्रिया गराउने गरेका छन् भने पीडा खप्न नसक्ने र ढिलो उमेरमा बच्चा जन्माउनेले पनि यो तरिका अपनाउने गर्छन्। जुन सुविधा घरमा हुने कुरै भएन। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा नजानेहरू बढी प्रताडित हुने नै भए। त्यसैगरी पहिलोपटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रूपमा बच्चा जन्माउनुपर्नेखालका परामर्श दिने, प्रसूति दुखाइरहित तुल्याउने जस्ता कार्यका लागि स्वास्थ्य संस्था उपयुक्त थलो हुन सक्छन्। त्यसैले पनि स्वास्थ्य संस्थाको सुत्केरी कार्य घरमा भन्दा सहज र कम दुःखी बन्न सक्छ। यही जागरणका लागि पनि दशरथ चन्द नगरपालिकाले थालेको अभियान सराहनीय मान्न सकिन्छ।

उसै पनि नेपालमा मातृ मृत्यु दर प्रति एक लाखमा १५१ र बाल मृत्यु दर एक हजारमा २१ जना छ। अर्कोतर्फ हामीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पनि पूरा गर्न सकेका छैनौँ। जसअनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपथ्र्यो। तर हामी ४० बिरामी बराबर तीन नर्सको सेवामै चित्त बुझाउन बाध्य हौँ। अझ कतिपय दुर्गम स्थानका स्वास्थ्य निकायमा त आवश्यक सामान्य औषधिसमेत उपलब्ध छैन। स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति नभएका कारण पनि धेरै गर्भवतीहरू सुत्केरी हुने अवस्थामा वा भइसकेपछि पनि मृत्यु वरण गर्न बाध्य छन्। तर पनि धेरैलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने वातावरण अझै बनेको छैन। अहिले दशरथ चन्द नगरपालिकाले थालेको यो अभियान यसै अवस्थाको पुष्टि हो।

आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य र निःशुल्क भनेको छ नेपालको संविधानले। त्यसैले प्रविधिले गगन चुमेको अहिलेको अवस्थामा पनि सुत्केरी हुँदा र भइसकेपछि आमा र शिशुले ज्यानै अर्पण गर्नुपर्ने अवस्था कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। यो अवस्थाबाट मुक्तिका लागि सुगम/दुर्गम सबै ठाउँका स्वास्थ्य संस्थालाई सबैभन्दा पहिले निरोगी तुल्याउनुपर्छ। त्यसपछि आवश्यक स्वास्थ्य उपकरण, दक्ष जनशक्ति र सर्वसाधारणको पहुँच सुनिश्चित गर्नुपर्छ। तब मात्र यस्तो संस्थाले सही उपचार दिन सक्छ र सरकारी स्वास्थ्य संस्थामाथि विश्वास नभएकाको पनि मन जित्न सक्छ। यस्तो मन जित्ने कार्यको श्रीगणेश भने दशरथ चन्द नगरपालिकाले अपनाएको सूत्र लागु गरेर गर्न सकिन्छ।  

प्रकाशित: २२ जेष्ठ २०८२ ०६:०२ बिहीबार

# sampadakiya # Nagarik # Basic health care