सम्पादकीय

सहकारी पुराण

यतिबेला सहकारी शब्द सुन्दासाथ झस्कनु पर्ने अवस्था आएको छ। सयौँ मानिस यही शब्दसँग जोडिएका कारण कारागार जीवन बिताउन बाध्य छन्। राजनीतिको छोटो जीवनकालमै उत्कर्षमा पुगेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहकारी प्रकरणमै जोडिएर यतिबेला थुनामा छन्। खासमा सहकारीको नेतृत्वमा बस्नेहरूले यसको मर्मअनुसार काम नगरेका कारण शब्ददेखि नै झस्कनुपर्ने दयानीय स्थिति आइपरेको हो।

सहकारी खासमा देहाती जनताले खाइ/नखाइ जोगाड गरेको पैसा बचत गर्ने ठाउँ हो। जुन आफू र छिमेकलाई समस्या परेका बेला गर्जो टार्न उपयोगी हुने अपेक्षा राखिएको हुन्छ। त्यसैले गाउँका सामान्य मानिसले कुखुरा बेचेको, दही, घिउ बेचेको, सागपात बेचेको र ज्याला मजदूरी गरेर खाइवारी बचेको पैसा जम्मा गर्ने ठाउँलाई सहकारीका रूपमा बुझ्छन धेरैले। कतिपय सहकारी त यसरी एकाध रूपैयाँ जम्मा गर्दागर्दै पनि करोडौँको मालिक भइसकेका छन्। यसरी धेरै पैसा जम्मा भएको देख्न नसक्नेहरूले सर्वसाधारणको यस्तो पसिना/श्रममिश्रित रकममाथि आँखा लाएपछि समस्या सुरु हुन थालेको हो।

यस क्रममा कतिपयले सहकारीबाट लगेको ऋण नतिर्ने वा नतिर्ने मनसायले नै लैजाने, कतिपयले बचत भएको पैसा कागजपत्र मिलाएर खाइदिने त कतिपयले चाहिँ नामोनिसानै नराखी बिउसमेत मासिदिने गर्नाले सहकारीमा विश्वास गरेर पैसा राख्ने धेरैको बिजोग भएको छ। कतिपय सहकारीचाहिँ यही बिजोगबाट बच्ने उपाय रचिरहेका छन् भने कतिपयले यस्तो संकट नआओस् भन्नका लागि तयारी नै थालिसकेका छन्।

यही क्रममा बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालेको कदम निकै उन्नत शैलीको पाइएको छ। सिवाइसीले सहकारी पुराण आयोजना गर्‍यो ऋण उठाउने उद्देश्यले। जहाँ पुराण भनिरहेका नामुद पण्डित निम्त्याइए। जसले कसैको ऋण खाएमा पाप लाग्ने र नेपालीहरूले मान्दै आएका सर्वमान्य धार्मिक शास्त्रहरूमा समेत यो उल्लेख भएको जानकारी गराए। यो सहकारीले धेरैले लगेका ऋण नउठेको र ताकेता गर्दा पनि नसुनेकाले हैरान भएर यस्तो उपाय अपनाएको हो।

हाम्रा शास्त्रले पनि साझा स्वार्थका लागि सहकारी आवश्यक पर्ने उल्लेख गरेका सुनाउँदै पुराणवाचक नारायनाचार्यले त्यस क्रममा धर्मले पनि सञ्चयलाई प्राथमिकता दिएको बताएका थिए। उनले मितव्ययी बनेर थोरै खर्च गर्नु, अरूलाई देखाउन अनावश्यक खर्च गर्नेले दुःख पाउने तथा धनको यही महत्त्व बुझेर जोगाउन बचत गरेकाहरूको धन लगेर नतिरे उनीहरूको आँसुले कल्याण हुन नदिने कुरालाई धार्मिक प्रसंगहरूसाथ सुनाएका थिए। त्यतिमात्र हैन, वेद र पुराणमै पनि ऋण खाएर नतिर्नु पाप हो भनिएकोमा जोड दिएका थिए। समग्रमा पुराणवाचकहरूको एउटै कुरामा जोड थियो कि ऋण लगेपछि तिरेन भने पाप लाग्छ।

समाजशास्त्रीय सिद्धान्तअनुसार धर्म पनि समाज नियन्त्रणको एउटा भरपर्दो माध्यम हो। त्यसैले सर्वसाधारणले थोरै थोरै गरेर बचत गरेका पैसा ऋणका रूपमा लैजाने र नतिर्नेहरूलाई जति ताकेता गर्दा पनि नमानेपछि सिवाइसी सहकारीले ऋण उठाउन अपनाएको यो प्रक्रिया वास्तवमै सराहनीय छ। धर्ममा अधिक आस्था र विश्वास राख्ने समुदाय भएकाले र पुराण तथा धार्मिक शास्त्रहरूका हवाला दिँदै पण्डितहरूले नै बताएपछि धेरैले पत्याउने नै भए। उनीहरूलाई यही वास्तविकता पत्याउने पार्न यो सहकारीले जुन उपाय अपनायो, त्यसका लागि यसका नेताहरूलाई धन्यवाद दिनै पर्छ।

ऋण नतिर्नेलाई पत्र काट्ने, धितो सम्पत्ति लिलामीमा निकाल्ने, धम्क्याउने, गुण्डा लगाउने, सार्वजनिक बेइज्जत गर्ने जस्ता हर्कत वित्तीय संस्थाले गर्दै आएका छन्। यस्तो प्रवृत्तिबाट ऋणी बिच्किएर ऋण पनि नउठ्ने र सहकारी तथा वित्तीय संस्था पनि डुब्ने अवस्था बन्दै आएको हो। त्यसैले अहिले बागलुङको यो सहकारीले आयोजना गरेको सहकारी पुराणको सन्देश यो हो कि हामीले जहिले पनि काम गर्दा फरक र नयाँ सोच अपनायौँ भने त्यसले गन्तव्य चाँडो समात्छ। पुरानै ढर्रा र तौरतरिकाले काम फत्ते हुन अब सम्भव हुन्न। त्यसले अहिले आफ्नो शंकास्पद ऋण उठाउन यो सहकारीले जुन तरिका अपनायो, त्यसले प्रमाणित गर्छ कि हामीले गर्ने काम समयानुसार हुनुपर्छ।  

प्रकाशित: २९ चैत्र २०८१ ०६:०२ शुक्रबार

# sampadakiya # Nagarik # Sahakari Puran