सम्पादकीय

कल्याणी धरती

अहिले धेरैको मुखबाट सुनिने वाक्य हो– यहाँ कामै पाइन्न। अवसरै छैन। भविष्य अन्धकार छ। यो सोचाइ यति गहिरोसँग गडेको छ कि उनीहरू विदेश जानेबाहेक कुनै सम्भावना नै देख्दैनन्। त्यसैले विद्यार्थीको दिमागमा एसइई वा प्लस टु सिध्याएपछि विदेश जानैपर्छ भन्ने पारिन्छ। जो पढ्दैनन्वा पढ्न अल्छी मान्छन् उनीहरू पनि विशेषगरी खाडी राष्ट्रमा गएर श्रम बेच्ने सपना पाल्छन्।

‘नेपालमा केही नहुने’ यही निराशाजनक सोचकै कारण हो  कि आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मात्र तीन लाख २५ हजार आठ सय नौ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिए। जबकि अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने यस्तो स्वीकृति लिनेको संख्या दुई लाख ७४ हजार पाँच सय १७ थियो। पछिल्लो चार वर्षमा उच्च शिक्षा अध्ययनका लागि भनेर एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिनेको संख्या तीन लाख ३८ हजार नौ सय  ७४ पुगेको छ। उच्च शिक्षा अध्ययन भने पनि यो धेरैजसो रोजगारीसँग जोडिएको छ।

नेपालमा भविष्य नदेखेर बाहिर जानु आफैंमा नराम्रो होइन, किनभने मानव स्वभाव जहाँ आफ्ना लागि अनुकूलता हुन्छ, त्यहाँ जाने हो। तर, केहीले यहीं आफ्नो भविश्य देखेका छन्। संघीय राजधानी काठमाडौं इन्द्रचोककी ४८ वर्षीया मन्दिरा महर्जन एक प्रतिनिधि पात्र हुन्। आकाश भैरव बारा पसल खोलेकी यिनले विशेषगरी बारा र योमरी बेचेरै करोडौँ रूपैयाँ आर्जन गरेकी छिन्। काम नगरी बस्दा अर्थात् आम्दानीको मेसो थाहा नपाउँदा हजारको नोटै देख्न मुस्किल पर्ने यी मन्दिरा अहिले सुत्नुअघि हरेक दिन लाखौँको बिटो थन्काउँछिन् भन्दा कमैले पत्याउलान्। नपत्याए पनि वास्तविकता यही हो।

मूर्ति बनाउने कारखानामा सानोतिनो रोजगारी गर्ने मन्दिराका पतिको कमाइले महिना दिनको खाना धान्नै गाह्रो हुन्थ्यो। उनीहरूले यसबीचमा दुःखका थुप्रै कहानी बेहोरे। फलस्वरूप श्रीमान्सँग सल्लाह गरी बारा पसल सुरु गरिन्। त्यो पनि मन्दिरअगाडिको खुला ठाउँमा बिक्री गर्ने। यसरी खुला ठाउँमा डुलाएर बारा र योमरी बेच्नु धेरैका लागि लाजको विषय थियो तर मन्दिरा दम्पतीका लागि भने यो लाज नभएर कर्मप्रतिको सम्मान थियो। जब हरेक दिन उनीहरूका बारा र योमरी खाने ग्राहक बढ्दै जान थाले, त्यसले यो दम्पतीलाई हौस्याउँदै गयो। फलस्वरूप आज उनीहरू यो अवस्थामा आइपुगे।

यतिबेला मन्दिराले १४ जनालाई त रोजगारी नै दिएकी छिन्। एउटै र मनमर्दो स्वाद कायमै राखेका कारण उनका पाँच–सात वर्षदेखि उही ग्राहक दोहोर्‍याइतेहेर्‍याइ आउने गरेका छन्। गुणस्तरमा सम्झौता नगर्नु उनको पसल चल्नुको अर्को कारण हो। उनको पसल यति चर्चित छ कि मान्छे सोध्दैखोज्दै र अरू पारखीबाट ठेगाना लिइवरी आउने गर्छन्। केही समयअघि मात्र छोरीको बिहेको व्यस्तताका क्रममा पसल बन्द गर्दा धेरै ग्राहकबाट ‘किन नखोलेको, कहाँ गएको ? हामी त बन्द पो गरेको हो कि भनेर चिन्तित थियौँ’ जस्ता धेरै प्रतिक्रिया सुन्नुपर्‍यो उनले। जसलाई उनी अहिलेसम्म आफूले कमाएको पैसाभन्दा पनि ठूलो  सम्पत्ति ठान्छिन्।

काम सानो र ठूलो हुँदैन। न यो कसले गर्न हुने र नहुने भन्ने नै हुन्छ। जसलाई मन्दिराले प्रमाणित गरेकी छिन्। आफू कसरी जीविका धान्ने भन्ने सोचमा रहेको एउटा सानो परिवार यतिबेला अन्य १४ परिवारको समेत जीविका चलाइदिने अवस्थामा पुगेको छ भने काम गर्न चाहनेलाई योभन्दा प्रेरणा अरू के हुन सक्छ ? न धेरै पढ्नुपर्ने न त खासै ठूलो लगानी नै। ग्राहकको चाहना र रुचि बुझेर त्यहीअनुसार व्यवसाय सञ्चालन गर्न सक्दा यहीँ सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन मन्दिरा।

हामी नेपाली घर/खेत बेचेर वा मिटरब्याजमा पैसा ऋण गरेर हजारौँ किलोमिटर जंगल अनि समुद्रको बाटो पार गर्न तयार हुन्छौँ अमेरिका र युरोप जानका लागि। अनि ज्यान जोखिममा राख्न पनि पछि पर्दैनौँ। तर केही लाख (अझ कतिपय व्यवसायमा त केही हजार नै काफी हुन्छ) खर्चेर व्यवसाय गर्न भने हामीलाई ‘यहाँ केही नहुने’ निराशावादी सोच अवरोध बनिदिन्छ। हामी वर्षौँ बिचौलियाको भरमा पर्न सक्छौँ वैदेशिक रोजगारमा जान, कुर्न सक्छौँ तर ५–६ महिनामा सम्पन्न हुने तालिम र त्यसपछि पाइने कामका लागि धैर्य गर्ने समय भने हामीसँग हुँदैन। यस्तो अवस्थामा मन्दिराले देखाएको मार्ग वैदेशिक रोजगारीबाहेकको दोस्रो दुनियाँ पनि छ भनेर खोजी गर्न यो एउटा प्रेरणा हो। यस्ता कैयन उपाय देशभित्रै छन्।

सबैभन्दा पहिला सकारात्मक सोच निर्माण गर्नुपर्छ दिमागमा। केही पनि हुन्न भन्ने सोच प्रगतिको बाधक हो। विदेश जानु, कमाउनु नराम्रो हैन तर यो दीर्घकालीन हुन्छ कि हुन्न भन्ने मुख्य सवाल हो। अर्को कुरा यहाँ कुनै सम्भावना नै नभएपछि वा केही गर्ने वातावरण नै नभए बल्ल त्यता ताक्ने हो तर यहाँ अवसर छैन भन्ने कुरा गलत सावित गर्न एक हैन, थुप्रै मन्दिरा तयार छन्। मुख्य कुरा हामीले कामको सम्मान गर्न सिक्नुपर्छ। विदेश वा स्वदेश जहाँ बसेर पनि कर्म गर्नु अहिलेको आवश्यकता हो। यहाँकी धरती कल्याणी छन्, तिनलाई सिञ्चन गर्न सक्नुपर्छ। 

प्रकाशित: १८ पुस २०८१ ०६:२४ बिहीबार

# Foreign employment # sampadakiya # Kalyani Dharti