सम्पादकीय

महिनावारी अन्धविश्वास

प्रजनन् उमेर समूहका महिलामा महिनावारी स्वाभाविक शारीरिक घटनाक्रम हो। स्तरीय नेपाली भाषामा यसलाई रजस्वला भन्ने गरे पनि आधुनिक जीवनशैलीमा ‘मिन्स’ वा  ‘पिरियड’ जस्ता अंग्रेजी सम्बोधन सहज भएका छन्। सामान्यत: ११ देखि १५ का किशोरीमा यो शारीरिक प्रक्रिया सुरु हुन्छ। जीवनको उर्बरा शक्ति हो यो। समयले ल्याउने यो परिवर्तनलाई हाम्रो संस्कृति र संस्कारले भने अनेकन रूपमा ग्रहण गरेको छ।  

महिला शरीरमा आउने यो परिवर्तन अनिवार्य आवश्यकता हो। यो स्वास्थ्य स्थितिको मानक पनि हो। हाम्रो मुलुकमा यो सामान्य प्रक्रियालाई स्वाभाविक रूपमा ग्रहण नगर्ने प्रवृत्ति अझै छ। यतिबेला खाने/पिउने कुरा छुन नहुने, शुभकार्यमा सहभागी हुन र धार्मिक प्रसाद ग्रहण गर्न नहुने, घरमा सुत्न नहुने, दूध/दही आदि खान नहुने र विशेषगरी बाबु, भाइ, छोरा आदि पुरुषलाई छुनै नहुने र छोइएमा उनीहरूको आयु घट्ने, विभिन्न दुर्दशा आइलाग्ने अन्धविश्वास व्यापक छ।

यसको प्रमाण हेर्न धेरै टाढा जानै पर्दैन। दैलेखको आठबीस नगरपालिका काफी छ। यो नगरपालिकाको वडा नं.८ का छात्रा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित चिल्तडाको चण्डिका माध्यमिक विद्यालयमा पढ्छन्। तर उनीहरू महिनावारी भएका बेला घरै बस्छन्। विद्यालय जाँदैनन्। किनकि उनीहरू जुन पुल तरेर उक्त विद्यालयमा पढ्न जानुपर्छ, त्यो पुलको दुवैतर्फ नैनेल देवताको मन्दिर छ। महिनावारी भएका बेला पाँच–सात दिनसम्म पूजाआजा र पाठ गर्ने त के, मन्दिरको वरिपरिसमेत जान नहुने परम्पराका कारण यहाँका छात्रा त्यो अवधिभर घरै बस्न बाध्य हुन्छन्।  

दैलेख र आसपासका जिल्लामा अहिले पनि छाउपडी प्रथा कायम छ। महिनावारी भएका बेला घरमा बस्न नपाइने भएकाले घरभन्दा टाढा, अझ कतिपय स्थानमा त एकान्त र असुरक्षित ठाउँमा बनाइएका गोठ, झुपडीमा रात बिताउनुपर्ने अवस्था छ। यतिबेला वन्यजन्तुले आक्रमण गरेका, सर्पले डसेका, बलात्कारका घटना भएका दर्जनौँ खबर सार्वजनिक भइरहेका हुन्छन् तर पनि छाउपडी प्रथा भने रोकिन सकेको छैन। जसबाट माथि उल्लेख भएका जस्तै सयौँ किशोरी प्रताडित बन्दै आएका छन्।  

महिनावारीका बेला पेट तथा ढाड दुख्छ। हार्मोन आदिको प्रभाव देखिन सक्छ। रगत धेरै गएर कमजोर, शिथिल हुने हुन्छ। यस्तो बेला उनीहरूमा निराशासमेत उत्पन्न हुन्छ र यही कारण कहिलेकाहीँ अप्रिय घटनाको पात्रसमेत भइदिन्छन्। त्यसैले यो वास्तविकता बुझेर महिनावारीका बेला उनीहरूलाई पोषणयुक्त खानेकुरा दिने, सरसफाइमा ध्यान दिने, भारी काम नलगाउने, सुरक्षित र सफा प्याडको व्यवस्था मिलाइदिने तथा माया र सम्मान दिने गर्नुपर्छ। जसले रजस्वलाका बेला उनीहरूले भोग्नुपर्ने पीडा न्यून गर्न सघाउँछ।  

तर अहिले पनि नगरपालिका जस्तो क्षेत्रमा समेत महिनावारी भएका बेला वरपर गएमा देवता रिसाउने डरले बरु पढाइ नै छाडिदिने तर विद्यालय भने नजाने परिपाटीले हाम्रो चेतना स्तर कति पछौटे छ भन्ने प्रष्ट्याउँछ। दोष समाजमा छ, समस्या अभिभावक र शिक्षकमा छ। विकृति परम्पराका नाममा गलत अभ्यासलाई अंगालेरै बस्नुपर्ने मान्यतामा छ। अनि अवरोध गलत र सही चलन छुट्याउन नसक्ने सोचमा छ।

हाम्रा अधिकांश विद्यालय मात्र पुस्तक पढाउँछन्। पुस्तकमा नसमेटिएका तर पढाउनुपर्ने विषय हजारौँ हुन्छन् भन्ने ज्ञान उनीहरूले ग्रहण गरेकै छैनन्। त्यसैले आफ्नै घरमा भइरहेको, आफ्नै विद्यालयमा भोगिइरहेको, आफ्नै परिवार र आफन्तबीच चलिरहेको विकृतिको निरन्तरतालाई क्रमभंग गर्नुपर्ने धारणा उनीहरूको चेतभन्दा बाहिरको विषय बन्दै आएको छ। अहिले दैलेख र आसपासका छोरीहरूले झेल्नुपरेको अनावश्यक तनाव र शिक्षाबाट वञ्चित हुन पर्नुको मुख्य कारण यही हो। त्यति मात्र हैन, यसमा कम होला, तर अभिभावकको पनि भूमिका छ। जसले आफ्ना छोरीको नियमित र बिनातनाव पढ्न पाउने अधिकारको संरक्षण गर्नुको साटो उल्टै यसलाई प्रवद्र्धन गर्ने काम गरेका छन्।

मुख्य कुरा, यस्ता विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्छ। अहिले प्राय: सबै अधिकार स्थानीय तहमा गएकाले आफ्नो क्षेत्रका छोरीहरूको भविष्यप्रति चिन्ता गर्ने खास काम उसैको हो। आफ्नो क्षेत्रभित्र पर्ने बस्ती, सर्वसाधारण विद्यालयसमेत ऊअन्तर्गत नै हुने भएकाले यस्ता विकृति हटाउने र उस्तै परे कानुनी कारबाहीसमेत गर्न अग्रसर हुनुपर्ने निकाय पनि स्थानीय तह नै हो। त्यसैले विकासले फड्को मार्दै गरेको अहिलेको समयमा पनि महिनावारी जस्तो स्वाभाविक शारीरिक प्रक्रियालाई अन्यथा रूपमा चित्रण गर्नु उचित हुँदैन। यसलाई सहज मान्दै तदनुकूलकै व्यवहार गर्नु आवश्यक भइसकेको छ। 

प्रकाशित: १९ मंसिर २०८१ ०६:२६ बुधबार

#Sampadakiya #NagarikDaily