गएको आइतबार बिहानै करिब २ बजे सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित छोटकी टोली कचनारीमा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण यादवको गाडीले किचेर हत्या गरियो । त्यहाँबाट गाडीमा मदिरा तस्करी गरेर भारतको सीमापारि झलोनतर्फ लगिँदै थियो । पूर्वजानकारीका आधारमा अन्य सुरक्षाकर्मीसहित त्यहाँ पुगेका थिए लक्ष्मण । जब उनले उक्त गाडी रोक्न खोजे, त्यसपछि तस्करीको मदिराले भरिएको स्कारपियो गाडी उनलाई किचेर तीव्र गतिमा भारतीय सीमातर्फ लाग्यो । यतिबेला उनका दुई छोरी र श्रीमती मात्र हैन, आफन्तजन र छिमेकीसमेत शोकमा डुबेका छन्।
कर्तव्य पालन गर्ने क्रममा एकजना सुरक्षाकर्मीको ज्यान लिइयो । त्यो पनि तस्करबाट । यो घटनाको निष्कर्ष यतिमा टुंगिदैन। यसले हाम्रो देशमा मौलाउँदै गएको तस्करीको जालो बुझ्न सघाउँछ। अर्कोतर्फ सुरक्षाकर्मीको टोलीलाई समेत नटेर्ने र उल्टै ज्यानै लिएर अघि बढ्ने तस्करहरूको मनोबल कतिसम्म उच्च भइसकेको रहेछ भन्ने पनि बुझिन्छ। कानुन पालना गराउने र आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने मुख्य कर्तव्य हो सुरक्षाकर्मीको। त्यसबाहेक समाजमा अमनचैन कायम राख्ने र शान्ति सुरक्षा खल्बलिन नदिन हरदम जागरुक रहनु उसको अर्को कर्तव्य हो। यही कर्तव्य पूरा गर्ने सिलसिलामा खटिएका सुरक्षाकर्मीलाई समेत हत्या गर्न पछि नपर्ने तस्करहरूको आँटले भारतीय सीमावर्ती क्षेत्रहरू तस्करहरूको ठूलै गिरोहले राज गरेको ठाउँ बनिसकेको पुष्टि हुन्छ ।
कचनारी मात्र हैन, सिरहाको ठाडी, अभयनगर, वरियारपट्टी, नरगी, जानकीनगर, माडर, लडिगगोठ, बुधौरा, झाझपट्टी नाकाबाट व्यापकरूपमा मदिरा तस्करी हुने गर्छ। भारतीय क्षेत्रमा मदिरा निषेध गरिएकाले नेपालतर्फबाट पारि कटाउने र त्यहाँबाट अन्यत्र आपूर्ति गर्ने क्रम पहिलेदेखि नै जारी छ। तर सुरक्षाकर्मीले भने अथक प्रयासका बाबजुद पनि पूरै नियन्त्रण गर्न सकेको छैन। यो घटनाबाट पनि मदिरा तस्करीको प्रयास पूर्णत: सफल नभएको प्रष्टिन्छ। अझ कतिपय स्थानीय त बाहिर आएका एकाध घटनाबाहेक अरू तस्करीमा उच्च तहका सुरक्षाकर्मीको समेत समर्थन रहने आरोप लगाउँछन् । जे होस्, मदिरा तस्करी यी क्षेत्रका लागि त्रास र विकृतिको मुख्य स्रोत भएकामा शंका छैन।
सीमावर्ती क्षेत्रमा हुने कुनै पनि तस्करी रोक्ने उद्देश्यले नेपाल सरकारले सशस्त्र प्रहरी परिचालन गर्दै आएको छ। हतियार, तालीम, बसोबास र बन्दोबस्तीका अन्य सामग्री कम होलान् वा जनशक्ति अपुगलगायत सशस्त्र प्रहरीका आफ्नैखाले समस्या होलान् । तर कारण जेसुकै भए पनि वा जस्तासुकै बहानामा पनि तस्करलाई उन्मुक्ति दिने काम सही हुन सक्दैन । यो घटनाले कतै तस्करहरूले साना पदका सुरक्षाकर्मीलाई मान्छे नै नगनेका हैनन् कि भन्ने पनि देखाएको छ। यदि यस्तो हो भने सुरक्षा निकायले यसबारे गम्भीर समीक्षा गर्नुपर्छ । किनकि सुरक्षाकर्मीको भूमिका पद, ज्यान, वर्ण र आकारले निर्धारित गर्दैन । यो त उसले राष्ट्र र जनताप्रति खाएको शपथमा आधारित हुन्छ । त्यसैले पदका आधारमा मूल्यन/अवमूल्यन नै गलत छ।
तस्करहरू नेपाल र भारतका मात्र हैन, विश्वको जुनसुकै कुनाका किन नहुन् उस्तै हुन् । यी जहिले पनि कानुन र सुरक्षाकर्मीभन्दा एक कदम अघि नै हुन्छन्। त्यसैले हाम्रो सुरक्षा निकायले यही पक्षमा विचार पुर्याउन कमजोरी भएको यो घटनाले देखाउँछ । जस्तो सुरक्षाकर्मीहरू पर्याप्त भइदिएको भए, नछरिएर एकै ठाउँमा बसिदिएका भए, गाडी तीव्र गतिमा हुँदासाथ हतियार प्रयोग गर्न सकेको भए अवस्था यस्तो दु:खदायी नहुन सक्थ्यो। आखिर मदिराको सुराकी पहिल्यै प्राप्त भइसकेकै थियो। यो पक्षमा सुरक्षा निकाय चुकेको देखिन्छ । यसो भन्न किन पनि सकिन्छ भने तस्करहरूले गाडी हुइँक्याएर सुरक्षाकर्मीलाई नै किचेर अघि बढेका घटना यो पहिलो होइन । यसअघि पनि यस्ता घटना भइसकेका तिनै सुरक्षाकर्मी साक्षी छन् । त्यसैले यो पक्षमा विचार नपुर्याउनु ठूलै कमजोरी हो।
घटना हुन्छन्। कमजोरी पनि हुन्छन्। तर तिनबाट पाठ नसिक्नुचाहिँ फेरि उस्तैखाले र अझ त्योभन्दा पनि ठूलो आपराधिक घटनालाई निम्तो हो। त्यसैले यो घटनाबाट पाठ सिकेर अघि बढ्नु सुरक्षा निकायका लागि बुद्धिमानी हुनेछ । अर्कोतर्फ नेपाल–भारत सीमामा संगठित जालो बनाएर बसेका तस्करहरूको पहिचान गरी तिनलाई कारबाहीको दायरामा ल्याउन भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरेर अघि बढ्नुपर्छ। जहाँसम्म हत्या गरिएका यादवको परिवारको सवाल छ, तिनलाई त राज्यले उचित सम्बोधन गर्नैपर्छ ।
प्रकाशित: १८ मंसिर २०८१ ०५:५८ मंगलबार