सम्पादकीय

हुलाक बचाउने म्याग्दी मोडल

हुलाक भन्दासाथ चिठीपत्र ओसार्ने आ बुझिन्छ। अनि हुलाकी भन्दासाथ कसैको चिठी बोकेर ल्याउने मानिस ठानिन्छ। त्यसैले गाउँघरमा मात्र हैन, सबैतिर हुलाक र चिठीपत्र एकअर्काका पर्याय बन्दै आएका छन्। पछिल्लो समय हुलाकको लोकप्रियता घट्दो भए पनि आममानिसले बुझ्नेचाहिँ अहिले पनि यही हो। यसरी हेर्दा हुलाक र हुलाकी खबर र सूचनासँग जोडिँदै आएका छन्, लामै समयदेखि। तर अब भने हुलाक खबर र जानकारीसँग मात्र सीमित रहेन। यो आले मानिसलाई आवश्यक पर्ने सामानसमेत ओसारपसार गर्न थालेको छ। त्यो पनि गाउँ–गाउँसम्म। म्याग्दीको हुलाक कार्यालयका कर्मचारी यतिबेला चिठीपत्र मात्र बोक्दैनन्। उनीहरूका झोलामा गुन्द्रुक हुन सक्छ। मोबाइल हुन सक्छ। कपडा हुन सक्छ। अनि अन्य अत्यावश्यक सामग्री पनि हुन सक्छ। जुन पठाउनेबाट लिएर पाउनेसम्म ढुवानी/पैठारी गरिदिन्छन्। हुलाकीको फेरिएको यस्तो चर्या देखेर स्थानीय दंगै पर्न थालेका छन्।

त्यसो त नेपालमा हुलाक कार्यालयको चमक गुमेको धेरै वर्ष भइसकेको छ। कर्मचारीसमेत हुलाक कार्यालयमा सरुवा हुनुलाई दण्ड/सजाय दिइएको रूपमा बुझ्छन्। त्यसैले समयअनुसार हुलाकले आफ्नो कार्यशैली परिवर्तन गर्नैपथ्र्यो। म्याग्दीबाट यस्तो कार्यशैली परिवर्तन गरेर उसले राम्रो सुरुवात गरेको मान्नुपर्छ। अब विश्व डिजिटाइज्ड भइसक्यो। धेरै काम इन्टरनेट र मोबाइलले गर्छ। त्यसैले हुलाकको दायरा संकुचन हुनु अनौठो हुँदै होइन। यस्तो वास्तविकता ढिलै भए पनि बुझ्न सकेकोमा हुलाक कार्यालयलाई पनि धन्यवाद भन्नैपर्छ।

एकातिर सरकारी स्वामित्वको हुलाक कार्यालय सुक्दै जाने अर्कोतिर यसैको फाइदा उठाएर निजी स्तरबाट सञ्चालित कुरियर कम्पनीहरू भने फुक्दै गएका दृश्य सबैसामु छर्लंगै छ । सयौँ कुरियर व्यवसायीले यसबाट राम्रै प्रगतिसमेत गरेका छन्। यसरी हेर्दा खबरसँगै सामानसमेत ओसारपसारको व्यवसाय राम्रै ठान्दा फरक पर्दैन। त्यसैले प्रविधिको बढ्दो उचाइसँगै हुलाक सेवाले आफूलाई उहिल्यै समयानुकूल बनाइसक्नुपथ्र्यो। तर हुलाकको यो कदमलाई ‘ढिलै भए पनि बुद्धि पलाएको’ रूपमा लिनु उचित हुनेछ।

म्याग्दीको हुलाक कार्यालयले दाबी गरेअनुसार यसरी सामान ओसारपसार गरेबापत लिइने शुल्क निकै सस्तो छ। निजी कुरियर कम्पनीको तुलनामा तीन गुना कम भएको उसको दाबी छ। त्यति मात्र हैन, सरकारी निकाय भएकाले सुरक्षाको सुनिश्चिततासमेत तुलनात्मकरूपमा राम्रो रहेको दाबीसमेत यो कार्यालयका पदाधिकारीको छ। छिमेकी जिल्लामा समेत यस्तो सेवा विस्तार हुन सक्नुको कारण प्रमाणका रूपमा देखिन्छ पनि। त्यसैले ‘एक पालिका : एक हुलाक’ अवलम्बन गरेर म्याग्दी हुलाकले यस क्षेत्रमा जुन अग्रसरता लिएको छ, त्यो पक्कै पनि अनुशरणीय छ।

मुलुक संघीय संरचनामा गइसकेको छ। यस्तो अवस्थामा संघीयताको मुख्य पिलर स्थानीय तहको सहयोगबिना कुनै पनि कामकुरा सम्भव हुन्न नै। हुलाक कार्यालयको यो नवीनतम् प्रयास सफल हुनुमा पनि स्थानीय तहको मुख्य भूमिका रहेको हुलाकले नै स्वीकार गरेको छ। त्यसैले म्याग्दीले अपनाएको यो मोडल अन्यत्र पनि स्थानीय तहहरूकै साथ सहयोगमा सञ्चालन गर्न सके धेरैको कल्याण हुने देखिन्छ। मुख्य कुरा अहिलेको पुस्ताले स्तरीयता, समय बचत र नवीनता खोज्छ। त्यसैले उनीहरूको विश्वास जित्न यस्ता पक्षमा पनि ध्यान दिने हो भने यस्तो उदाहरण अन्यत्र पनि प्रभावकारी हुन सक्छ।

अर्को कुरा, हुलाकलाई पुनर्जीवन दिने ‘सञ्जीवनी बुटी’ पनि हो यो। समयअनुसार चल्ने र नयाँ सोच सिर्जना गर्न सक्ने हो भने कोही पनि अल्पायुमै मर्नुपर्दैन भन्ने प्रमाण पनि हो। अहिलेको जमानामा आफ्ना लागि आफैँले सोच्नुपर्छ। सधैँ अर्काले सोचिदिएर र पालिदिएर मात्र सधैँ टिक्न सकिन्न। यो वास्तविकतालाई मनन गर्ने हो भने मुलुकभरका हुलाक कार्यालयले यस्तै यस्तै नवप्रवर्तनका काम नगरी सुखै छैन। म्याग्दी हुलाक कार्यालयको आफू पनि जीवित रहने र सेवाग्राहीलाई पनि सन्तुष्ट पार्न सकिने यो गतिविधि साँच्चै समयसान्दर्भिक छ। त्यसैले अरूले पनि म्याग्दी हुलाककै पथ पछ्याउनुको विकल्प छैन, यदि डायनोसरको नियति नभोग्ने हो भने।

प्रकाशित: २३ आश्विन २०८१ ०६:०३ बुधबार

#myagdi #hulak