सम्पादकीय

मंकीपक्सको आसन्न खतरा

अफ्रिका र कंगोलाई यतिबेला एमपक्स (मंकीपक्स)ले सताएको छ। त्यसबाहेक अन्य देशमा पनि यो क्रमशः सल्किरहेको छ। १६ हजार ६ सय जनामा मंकीपक्स संक्रमण पुष्टि हुनुले यसको तीव्र फैलावट बुझ्न सकिन्छ। यसको घातक प्रभावबाट पाँच सय ३७ जनाको मृत्यु भइसकेको छ। आजको औषधि विज्ञानले समृद्ध विश्वमा यतिका धेरै मृत्यु आफैंमा भयावह हो। यस अर्थमा पनि यसलाई सामान्य मान्न सकिन्न।

आजको विश्वमा अफ्रिकी मुलुकका जनतालाई सताइरहेको यो प्रकोप टाढाको घटना होइन। यो विगतको जस्तो अलगथलग विश्व होइन, जहाँ संक्रमण फैलिन समय लाग्थ्यो। आजको दिनमा विश्वको कुनै पनि कुनामा फैलिएको रोग अर्को कुनामा सजिलै पुग्न सक्छ। अहिलेको अवस्थामा रोग एउटा उडानबाट मात्र टाढा हुन्छ। संसारभरि मानिसको यात्राले संक्रमण विस्तारलाई सहज भएको छ। मंकीपक्सप्रति नेपाल अहिल्यै चिन्तित हुनुपर्छ। दक्षिण एसियाली मुलुक पाकिस्तानमा तीनजनामा यो देखिइसकेको छ। यो सरुवा मात्र छैन घातक पनि छ। त्यसैले मंकीपक्स ग्रस्त मुलुकबाट फर्किएका नेपाली तथा त्यहाँबाट आउने विदेशीले यसलाई सजिलै नेपाल ल्याउन सक्ने खतरा छ।

नेपालले अफ्रिकालगायतका अशान्त क्षेत्रमा राष्ट्रसंघीय शान्ति अभियानअन्तर्गत सेना पठाउने गरेको छ। त्यसैले यो नेपालसम्म आइपुग्न धेरै गाह्रो छैन। त्यति मात्र होइन नेपाली डायस्पोरा अहिले संसारभरि फैलिएको छ। नेपाल मूलघरमा तिनको नियमित आवतजावत हुन्छ। यस्तो अवस्थामा रोग संक्रमण हुन सक्छ। यो अवस्थालाई न्यून गर्न हामी आफैं कति तयार छौं ? हामीकहाँ यस्तो प्रकोपप्रति कमै सजगता देखिन्छ। अफ्रिकी मुलुक कंगोमा यतिका धेरै संक्रमण हुन्जेल पश्चिमा संसार खासै चनाखो भएको थिएन। अफ्रिकाबाहिर स्विडेनमा यससम्बन्धी पहिलो घटना भएपछि युरोप र पश्चिमा संसार जुर्मुराएको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालकै घोषणा गरेको छ। कहिलेकाहीं यस्तो लाग्छ, पश्चिमा संसार जुर्मुराउन पनि तिनका एउटा घटना हुनै पर्छ। अन्य मुलुकमा मात्र भएको घटनाले तिनीहरूको समेत ध्यानाकर्षण हुँदैन।

खतरनाक भाइरस अर्थोपोका कारण एमपक्स अर्थात् मंकीपक्स हुन्छ। यो भाइरसको औषधि बनेको छैन तर यसलाई खोपमार्फत नियन्त्रण गर्न भने सकिन्छ। असुरक्षित र जथाभावी यौन सम्पर्क, चुम्बन र थुकको छिटाबाट टाढै रहनुपर्नेबारे जनचेतना व्यापक पार्नु रोग लाग्नै नदिने उपाय हो। त्यसैगरी यो भाइरसको असर करिब तीन सातासम्म रहने भएकाले मंकीपक्सको संक्रमण भएका सम्भावित व्यक्तिलाई अलग्गै राख्ने व्यवस्था मिलाउन पनि उत्तिकै जरुरी छ।

हाम्रो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको उपचार निर्देशिका तयार पारिसकेको र आफ्नातर्फबाट अपनाउनुपर्ने सतर्कता अपनाइएको दाबी गरेको छ । तर आममानिसमा मंकीपक्सबारे चेतना र त्यसको असरबाट बच्ने जानकारी अभाव देखिन्छ। हाम्रो सन्दर्भमा यो अझै अपरिचित रोगजस्तो देखिएको छ । सार्वजनिक सञ्चार माध्यमबाट यसबारे व्यापक जानकारी गराउन सक्दा मात्र रोकथामप्रति आममानिस जागरुक हुने सम्भावना रहन्छ।

मंकीपक्सको लक्षणबारे सर्वसाधारणमा जानकारी व्यापक गर्नुपर्छ। ज्वरो आएमा, आँखा रातो भएमा, छालामा बिमिरा आएमा र मुखमा घाउ आएमा मंकीपक्स हुन सक्ने भएकाले तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्ने हुन्छ। आराम र शरीरको प्रतिरक्षा बढाउनेखालका दरिला खानेकुरा नै यो संक्रमणको मुख्य उपचार हो। यसबाहेक मंकीपक्स संक्रमित मुलुकबाट फर्केका नेपाली वा त्यहाँबाट आएका विदेशीसँग सोझै घुलमिल नगरी पहिले तिनको परीक्षण गराउनु योबाट बच्ने राम्रो उपाय हुन सक्छ। स्वास्थ्य क्वारेन्टिनको व्यवस्थालाई सशक्त बनाउनु आवश्यक छ। कतिपयमा यो भाइरसले आक्रमण गरे पनि लक्षण देखिन तीन सातासम्म लाग्ने भएकाले त्यस्ता व्यक्तिलाई यो अवधि अलग्गै बस्न भन्ने वा राख्ने गर्नाले पनि यसबाट निर्धक्क हुन सकिन्छ। यस्तो पक्षमा सरकारको स्वास्थय प्रणाली नै सशक्त हुनु आवश्यक छ।

महामारीको सुरुवात थोरै व्यक्तिबाटै हुन्छ। चीनको वुहानबाट सुरु भएको कोभिड– १९ ले विश्वलाई थर्कमान गराएको अनुभव अझै ताजा छ। सुरुमा यो पनि धेरै टाढा पुग्ला भन्ने थिएन। तर संसारलाई यसले आतंकित तुल्यायो। अर्थतन्त्र धरासायी बनायो। त्यसैले मंकीपक्स वा यस्तै अन्य प्रकोपबाट जोगिन सरकारको तयारी सशक्त हुनुपर्छ। 

प्रकाशित: ४ भाद्र २०८१ ०६:०६ मंगलबार