अर्थ

तरकारीको मूल्य आकासियो

गाईघाटमा बेच्न राखेको तरकारी

उदयपुरमा पछिल्लो समय हरिया तरकारीको मूल्य आकाशिएको छ । ठूला चाडपर्वहरु दसैँ, तिहार र छठ नजिकिएसँगै एकाएक महँगिएको तरकारीको भाउ चाडबाड सकिए पनि घट्ने सुसार छैन ।  

मूल्य महँगो हुनुका साथै सागसब्जी पाउनै पनि मुस्किल भईरहेको छ । सदरमुकाम गाईघाटमा दसैँ तिहारदेखि नै दुर्लभ बन्दै गएको सागसब्जी र तरकारी छठ सकिइसक्दासम्म पर्याप्त पाउन सकिएको छैन । बजारमा रायको साग ८० रुपैँया पाउ अर्थात किलोको ३ सय २० सम्ममा किनबेच भईरहेको छ । सागको यो मूल्य गाईघाटमा अहिलेसम्मकै सबैभन्दा महँगो परेको व्यापारीहरु स्वयं बताउँछन् ।  

दसैँ अघिसम्म ४० रुपैँया पाउ अर्थात किलोको १ सय ६० मा किनबेच भईरहेको रायोको साग तिहार र छठसम्म आईपुग्दा दोब्बर बढी मूल्य पुगेको तरकारीका थोक व्यापारी रविन राईले बताए । उनका अनुसार गाईघाटमा आयातित तरकारीले उपभोक्ता धान्नुपर्ने भएकाले चाडबाडका बेला आयात रोकिएको महँगो हुन पुगेको हो ।  

‘अरु बेला दिनहु गाईघाटमा तरकारी आपूर्ति हुन्छ तर, दसैँ, तिहार र छठको बेला सबै चाडपर्व मान्ने हुँदा आयात रोकियो’ राईले भने ‘चाडबाडमा गाडी घोडा नचल्ने हुनाले पनि तरकारी आउन छाडेर भाउ बढेको हो ।’ अरु बेला दैनिक २/३ सय टन तरकारी आउनेमा दसैँ तिहारको बिदामा ५० सय टन मात्र आपूर्ति भएकोले पनि भाउ अचाक्ली बढेको राईले बताए ।  

अर्को तर्फ चाडबाडका बेला मासु मङ्सको बढी प्रयोग हुने भएकाले नबिक्ने चिन्ताले पनि बजारमा तरकारी आयात कम हुने गरेको छ । दसैँ, तिहारमा घरलौरीजसो खसी, कुखुरा, सुङ्गुर, राँगा काट्ने हुनाले पनि तरकारी नबिक्ने चिन्ताले आयात कम हुने गरेको भाउ आक खुद्रा व्यापारी सन्तोष साहले बताए । त्यै नबिक्ला भन्ने चिन्ताले थोरै तरकारी मगाउँदा बजारमा अभाव भएर भाउ महँगो भएको साहले बताए ।  

बजारमा सागसँगै आलु, बन्दा, निउरो, डोँठे, स्कुसको मुन्टा, कर्कलो, लौका, करेला, स्कुस, मिस्टङ्गा, काउली, बोडी, तोरीको साग र फर्सीको पनि दोब्बर हाराहारी मूल्य बढेको छ । सागसब्जी मात्र होईन, मसलाजन्य लसुन, प्याज, अदुवा, खुर्सानी र फलफुलजन्य काँक्रा, मुला, गाँजरजस्ता उपभोग्य बस्तुको मोल पनि उत्तिकै बढेको छ ।  

तरकारीको मूल्य बढ्नुको तेस्रो कारण यसवर्ष लामो झरी पर्नाले सागसब्जी उत्पादनमा बाधा भएर हो । तरकारी फुल्ने र फल्ने बेलैमा साउनयता पटक पटक अविरल वर्षा भएकाले राम्रो उत्पादन हुन नपाएर यस्तो समस्या आएको व्यापारीहरु बताउँछन् । विगतमा दैनिक २५ टनसम्म तरकारी आयात हुने ठाउँबाट यसवर्ष १०–१५ टनभन्दा बढी नआएको उनीहरु बताउँछन् । धेरै परिमाणको तरकारी माग गर्दा पनि उत्पादन नै नभएको भन्दै किसानले थोरै परिमाणको तरकारी पठाउने गरेको व्यापारीहरुको भनाई छ ।  

आधा दसशक अघिसम्म धनकुटा, इनरुवा, सर्लाही र सप्तरी सिराहाको तरकारीले धान्दै आएको गाईघाटलाई पछिल्लो केहीवर्षयता उदयपुरकै पहाडी भेग र खोटाङको उत्पादनले बजार कब्जा गरेको थियो । खोटाङबाट दैनिक ५ हजार टनसम्म तरकारी र फलफुल गाईघाट ल्याएर सुनसरी र मोरङसम्म निर्यात हुन थालेको थियो । उदयपुरकै पहाडी भेगबाट आउने दैनिक २–३ सय टन तरकारीले स्थानीय उपभोक्तालाई भरथेग गर्न थालेपछि तराईबाट आयात रोकिएको थियो ।  

तर, गतवर्ष असोज १२ गते उदयपुर र खोटाङ सीमा फोक्सिन्टारस्थित सुन नदीको पक्की पुल बगाएपछि गाईघाट–दिक्तेल जोड्ने सोझो यातायात सम्बन्ध टुटेपछि सब्जी आयात रोकिएको छ । पुल भत्केपछि खोटाङबाट आउने तरकारीको हिस्सा लगभग ७५ प्रतिशत घटेसँगै गाईघाटमा हरिया सागसब्जीको आपूर्ति उदयपुरकै स्थानीय किसानमा निर्भर हुनु परेको हो ।  

 

प्रकाशित: १२ कार्तिक २०८२ २०:१७ बुधबार