अर्थ

जेन-जीको दबावपछि सञ्चालनमा आयो उदयपुर सिमेन्ट

जेन-जीको माग र दबावपछि जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड’ सुचारु भएको छ । ओली सरकारले निजीकरण गर्ने निर्णयसँगै ८ महिनायता ठप्प रहेको उद्योग सोमबार फाईरिङ भएको हो ।  

त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उद्योग विगत ८ महिनायता पूर्णरुपमा बन्द थियो । गत वैशाख अन्तिमतिर ओली सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग, गोरखकाली रबर उद्योगलगायत विभिन्न ७ वटा पूर्ण सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना निजीकरण गर्ने निर्णय गर्दै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।  

स्थानीयको विरोधका बावजुद सरकारले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग निजीकरण गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वका उद्योगबाट सिमेन्ट उत्पादन हुन रोकिएको थियो ।  

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि निजीकरणको प्रक्रिया केही समय रोकिएकै बेला स्थानीय युवाहरुको टोलीले उद्योगमन्त्रीलाई भेटेर तत्काल उद्योग सुचारु गर्न माग गरेका थिए । त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्का नेतृत्वमा युवाहरुको प्रतिनिधिमण्डल टोलीले उद्योगमन्त्री अनिलकुमार गुप्तासँग भेट्दै उद्योग तत्काल सुचारु गर्न माग गरेको थियो ।  

युवाहरुको माग बमोजिम मन्त्री गुप्ताले केही दिनभित्रै उद्योग सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धता बमोजिम उद्योग सुचारु गर्ने गरि सोमबार फाईरिङ भएको वडा सदस्य खड्काले बताए ।  

खड्काले कुनै पनि हालतमा सरकारी उद्योग निजीकरण नगर्न चेतावनी दिदै मन्त्री गुप्तालाई सो निर्णय कार्यान्वयन नगर्न पनि माग गरेको बताएका छन् । खर्बौँको सम्पत्ति कौडीको भाउमा बेच्नलाई निजीकरणको निर्णय गरिएको निश्कर्ष आफुहरुको रहेको भन्दै सो निर्णयप्रति स्थानीयबासी र युवाहरुको कडा आपत्ती रहेको उनले बताए । निजीकरण गर्ने निर्णयविरुद्ध जुनसुकै र जस्तोसुकै कदम चाल्न पनि युवाहरु बाध्य भएको खड्काको भनाई छ ।  

‘उदयपुर सिमेन्ट उद्योग नेपाली सिमेन्ट बजारमा दक्षिण एसियामै कहलिएको र मानक बनिसकेको गैँडा ब्राण्ड उत्पादक कारखाना हो’ खड्काले भने ‘अर्को कुरा यो मित्र राष्ट्र जापानको अनुदान सहयोगमा स्थापित पूर्ण सरकारी स्वामित्वको उद्योग हो । त्यसैले यसको निजीकरण गर्ने कुरै हुन्न, बरु के गरि, कति बजेट लाग्छ, मर्मत र स्तरोन्नति गरेर निरन्तर उत्पादन गर्नेगरि सञ्चालनमा ल्याउन मन्त्रीलाई आग्रह गरेका छौँ ।’  

उद्योग व्यवस्थापनले हाललाई २५ दिनसम्म चल्न पुग्ने कच्चा पदार्थ (कोइला, डिजल, जिप्सन, रातोमाटो र चुन ढुङ्गा)को व्यवस्था गरि फाईरिङ गरिएको जनाएको छ । प्रशासन महाशाखा प्रमुख गम्भीरजङ खत्रीले अहिले २५ दिनसम्म चल्ने १ हजार ५ सय टन कोईला मौज्दात रहेको र आवश्यक डिजललगायत कच्चा पदार्थ रहेको बताए । उनका अनुसार रातोमाटो र चुन ढुङ्गा आफ्नै खानीमा रहेकाले कोईला, डिजल र जिप्सन मात्र किन्नु पर्ने हुन्छ ।  

२५ दिन पुग्ने कोईला र डिजेल व्यवस्थाका लागि आवश्यक रकम यसअघि १० दिन उद्योग सञ्चालन हुँदा उत्पादित सिमेन्ट बिक्रीबाट गरिएको खत्रीले बताए । एक वर्षदेखि मर्मत नहुदा बन्द भएको उद्योग अवकाश प्राप्त निमित्त महाप्रवन्धक महेशकुमार साहले जागीरको उत्तराद्र्धमा गत वैशाखमा १० दिन सञ्चालन गरेका थिए । बजेट अभावले मर्मत हुन नसक्दा बन्द हुन पुगेको उद्योगलाई पुँजीगत खातामा रहेको रकम चालुमा परिणत गरेर वैशाख ४ गतेदेखि १४ गतेसम्म सञ्चालन गर्दा झण्डै १ लाख बोरा सिमेन्ट उत्पादन भएको थियो । 

प्रकाशित: ८ मंसिर २०८२ २१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App