कर्णालीको दुर्गम जुम्लास्थित गुठिचौर गाउँपालिका–१ ले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
करिब १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यालय भवनको बुधबार एक समारोहका बीच उद्घाटन गरिएको हो।
गुठिचौर गाउँपालिकाका ५ वडाहरूमध्ये वडा नम्बर १ ले पहिलो पटक आफ्नै पक्की भवन ठडाएको हो। नवनिर्मित भवनको संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारी र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन गरे।
भवन उद्घाटन गर्दै वडाध्यक्ष अर्जुनकुमार महताराले वडा अब स्थानीय शासनको संरचनात्मक पूर्वाधारमा एक कदम अगाडि बढेको सुनाए।
विगतमा भौतिक संरचनाको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उनले भने, ‘पूर्वाधार अभावले सिंगो सेवाको गतिलाई खुम्च्याइरहेको थियो। अब यो नयाँ संरचनासँगै कर्मचारीको कार्यदक्षता बढ्नेछ र सेवाग्राहीले पनि सहज रूपमा सेवा पाउनेछन्।’
नयाँ भवन सञ्चालनमा आएपछि अब योजना निर्माण, बजेट व्यवस्थापन, नागरिक सेवा र सामाजिक सुरक्षाका कामहरू ‘एकद्वार प्रणाली’ मार्फत प्रभावकारी रूपमा सञ्चालन हुने वडाले जनाएको छ।
समारोहमा बोल्दै पूर्व कानुनमन्त्री भण्डारीले नयाँ भवनलाई ‘गाउँको संस्थागत पहिचान’ को संज्ञा दिए। ‘हामी बलियो हुन चाहन्छौँ भने जग र माटोलाई बलियो बनाउनुपर्छ,’ भण्डारीले भने, ‘स्थानीय पूर्वाधारको मजबुती नै समग्र विकासको मेरुदण्ड हो।’
उनले जुम्लाको सडक, खानेपानी र शिक्षा क्षेत्रमा गरिएको लगानीले नतिजा दिन थालेको दाबी समेत गरे।
यस्तै, प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले यस्तै साना तर आधारभूत संरचनाबाटै विकास अघि बढ्ने बताए। उनले जुम्लाको विकासका लागि दलहरूबीचको हातेमालो अत्यावश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकायाले विकास पार्टीसँग नभई समुदायसँग जोडिने बताए। ‘सहकार्यका ढोका बन्द हुँदा जनताको सम्भावना बन्द हुन्छ,’ उनले भने।
प्रकाशित: १० मंसिर २०८२ २२:०१ बुधबार