सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका शेयर वैशाख २९ गतेदेखि बिक्री खुला गरिनेछ। यसबाट कम्पनीले ७ करोड १८ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
यसअघि कम्पनीले आयोजनाको मुख्य प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता तथा अन्य प्रभावित क्षेत्रका लागि थप ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीले अति प्रभावित तथा प्रभावित क्षेत्रका लगानीकर्तालाई शेयर बाँडफाँड गरिसकेको जनाएको छ।
कम्पनीले ९३ करोड ७५ लाख जारी पूँजीको २० प्रतिशत, अर्थात रु १८ करोड ७५ लाख बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
अब खुला गरिने शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ बिक्री छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुने जनाइएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।
बाढी र पहिरोका चुनौतीबीच पनि छोटो अवधिमै निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्न सफल भएकाले यो आयोजना सफल र द्रुत सम्पन्न आयोजनाका रूपमा चिनिएको छ।
प्रकाशित: १५ वैशाख २०८३ १४:५८ मंगलबार