अर्थ

गुठीचौरले संकलन गर्‍यो ३३ लाख राजस्व, प्याराग्लाइडिङ मुख्य स्रोत

जुम्लाको गुठीचौर गाउँपालिकाले पर्यटकीय गतिविधिलाई प्राथमिकतामा राख्दै आन्तरिक आयमा उल्लेख्य वृद्धि गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकबाट कुल ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजस्व संकलन गरेको हो। जसमा प्याराग्लाइडिङ मुख्य स्रोत बनेको छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार स्थानीय स्रोतको प्रभावकारी परिचालन र पर्यटन प्रवर्द्धनमा दिइएको ध्यानका कारण राजस्व संकलन अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढेको हो।

राजस्व वृद्धिको मुख्य आधार पर्यटन बनेको छ। विशेषगरी गाउँपालिकाले प्राथमिकतामा राखेको प्याराग्लाइडिङ सेवाबाट मात्रै ८ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ।

‘यहाँको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पर्यटनले नै गाउँपालिकाको आर्थिक स्रोत वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ,’ अध्यक्ष बुढाले भने।

प्याराग्लाइडिङपछि पशु शाखा राजस्व संकलनको दोस्रो ठूलो स्रोत बनेको छ। प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढा (महत) का अनुसार पशु सेवा, खसीबोका निरीक्षण तथा खोप जस्ता कार्यबाट ७ लाख ८४ हजार ८ सय रुपैयाँ संकलन भएको छ।

यसैगरी, डोजर सेवा शुल्कबाट ५ लाख ५९ हजार ५ सय, मालपोत रजिस्ट्रेसन शुल्कबाट ३ लाख १३ हजार ९ सय ८१ र एम्बुलेन्स सेवाबाट ८१ हजार ३ सय रुपैयाँ राजस्व उठेको छ।

वडागत रूपमा हेर्दा, वडा नम्बर ४ ले सबैभन्दा बढी २ लाख ६८ हजार ७ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसपछि क्रमशः वडा नम्बर ५ ले २ लाख ५८ हजार ५ सय ३१, वडा नम्बर ३ ले १ लाख ५३ हजार ६ सय ८५ र वडा नम्बर २ ले १ लाख १२ हजार ६ सय ५ रुपैयाँ संकलन गरेका छन्।

भौगोलिक कठिनाइ र सीमित आर्थिक गतिविधिका कारण वडा नम्बर १ बाट सबैभन्दा कम ८२ हजार ७ सय ३० रुपैयाँ मात्र राजस्व उठेको अधिकृत बुढाले जानकारी दिइन्।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक १४ गतेसम्म नै ९ लाख ९७ हजार ७ सय ६३ रुपैयाँ राजस्व संकलन गरिसकेको छ।

‘हामीले सेवा शुल्क र पर्यटनसँग सम्बन्धित आयका माध्यमहरूलाई मजबुत बनाउँदैछौं। गाउँको प्राकृतिक सम्पदा र जनशक्तिलाई उपयोग गरेर आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउने हाम्रो मुख्य लक्ष्य हो,’ अधिकृत बुढाले भनिन्।

उनका अनुसार राजस्व संकलनमा पारदर्शिताका लागि डिजिटल अभिलेख प्रणाली अपनाइएको छ र संकलित रकम शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सडक पूर्वाधार जस्ता क्षेत्रमा लगानी गरिनेछ।

प्रकाशित: १९ कार्तिक २०८२ २१:४० बुधबार