अर्थ

पोखरा-दुबईको हवाई भाडा काठमाडौं भन्दा ५ हजार सस्तो, अझै घटाउन सुझाव

पोखरा-दुबई उडान हुने समय नजिकिँदो छ। फ्लाई दुबईले २३ सेप्टेम्बर अर्थात् असोज ७ गतेदेखि पोखरा-दुबई उडान सुरु गर्दैछ।

पर्यटनको राजधानी पोखराबाट नियमित अन्तर्राष्ट्रिय फ्लाइटको प्रतीक्षा भइरहँदा हुने यो रुट दिगो हुने अपेक्षा पोखरेलीको छ। त्यसैले पोखरेलीहरू चाहन्छन् कि यो रुट सस्तो भइदेओस्।

पोखरेलीको चाहना अनुसार नै फ्लाई दुबईले पोखरा-दुबई फ्लाइटको फेयर सस्तो बनाएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न फ्लाई दुबईले यस रुटमा काठमाडौं भन्दा फेयर सस्तो हुने फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक (जिएम) नवराज शाहीले सोमबार पोखरामा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीले आयोजना गरेको कार्यक्रममा जानकारी दिए।

‘एक सय ५० डेष्टिनेसनमा पोखराबाट हुने फ्लाईट काठमाडौंभन्दा कम्तीमा पनि पाँच हजार सस्तो हुन्छ, उनले भने,‘हामीले हाम्रो वाचा पुरा गर्‍यौं, अब वाचा पूरा गर्ने पालो तपाईंहरुको।’

उनले सस्तो टिकट भएको अवसरमा धेरै टिकट बेचेर पोखरा-दुबई फ्लाईट दिगो गराउने वाचा पूरा गर्नुपर्ने उनको भनाइ थियो। जिएम शाहीले पोखरा-दुबई उडानमा एकजना मात्रै यात्रु भए पनि उडान हुने बताए।

‘यो हाम्रो सेड्यूल फ्लाईट हो,’ उनले अगाडि थपे, ‘यहाँबाट एक जना मात्रै भए पनि फ्लाइट हुन्छ, यताबाट यात्रु कम भए पनि दुबईबाट आउने भएकाले फ्लाइट तलमाथि हुँदैन।’

तर पोखरेली पर्यटन व्यवसायीहरुले भने पोखरा-दुबई उडान थप सस्तो बनाउन आग्रह गरे। काठमाडौंभन्दा सस्तो भनिए पनि पर्यटकहरूले यो रुटको फेयर महँगो भन्ने गरेको भन्दै उनीहरुले तोकिएको टिकट मूल्यमा पुर्नविचार गर्न सुझाव दिए।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखरा-दुबई फ्लाईट दिगो बनाउनका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

‘यो रुटमा हुन लागेको उडान हाम्रो लागि अवसर हो,’ उनले भने, ‘अवसरलाई छोप्न सकेनौं भने अवसर गुम्छ, त्यसैले यसमा आउने चुनौतीसँग लड्न तयार हुनुपर्छ।’

यो रुटमा हुने उडान दिगो भयो भने पोखराले मात्र नभई देशले नै फाइदा लिनसक्ने उनको भनाइ थियो। ‘त्यसैले हामी सबै यसलाई सफल बनाउन लाग्नुपर्छ, म पनि नेपाल पर्यटन बोर्ड र सरकारसँग समन्वय गर्न सघाउँछु’ उनले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा-दुबई उडान पोखराको पर्यटनको हिसाबले मात्रै नभई देशकै समृद्धिको हिसाबले हेरिनुपर्ने बताए।

‘यहाँबाट हुने उडान उडानलाई पूरै विश्वमा पुग्ने द्वारका रुपमा हेरिनुपर्छ,’ उनले भने, ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ, तर यो कतिलाई थाहा छ ? विश्वका धेरै मुलुकका नागरिकलाई यो सुन्दर गन्तव्यबारे जानकारी नै छैन। यसको प्रोमोसनका लागि हामीले खासै गरेको पाइएको छैन, यतातिर ध्यान दिनुपर्छ।’

नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गीता पौडेलले वर्षौँदेखिको पोखरेलीको सपना पूरा हुने चरणमा पुगेको बताइन्। त्यसैले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठीले यो रुटमा हुने उडानप्रति पोखरेलीको आशा र अपेक्षा ठूलो रहेको बताए। यसलाई जसरी पनि सफल बनाउनुपर्ने भन्दै उनले थपे, ‘त्यसका लागि पोखरेलीको शतप्रतिशत साथ र सहयोग रहन्छ।’

होटल संघका प्रथम उपाध्यक्ष राजेश पहारीले फेयर महंगो हुँदा यात्रुले टिकट लिन गाह्रो मानेको गुनासो गरे। ‘पोखराबाट हुने फ्लाइटका लागि सरकारले हवाई इन्धनमा १ सय डलर छुट दिनेदेखि विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा छुट दिएको छ,’ उनले भने, ‘तर भाडाचाहिँ किन महँगो ? यसमा फ्लाई दुबईले पुर्नविचार गरोस्।’ 

उनको भनाइमा अन्य व्यवसायीले पनि सहमति जनाएका थिए।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले प्रस्तुति गर्दै पोखरा-दुबई उडानलाई दिगो बनाउन पोखरेलीको सहयोग आवश्यक रहेको बताए। ‘यो सुरुवात मात्रै हो,’ उनले भने, ‘यो दिगो भयो भने अन्य एयरलाइन्स पनि आकर्षित हुन्छन्।’

सेप्टेम्बर २३ देखि उडान सुरु गर्ने फ्लाई दुबईले एक महिना दैनिक एउटा फ्लाईट गर्ने उडान तालिका बनाएर अनुमति लिइसकेको छ। सन् २०२७ सम्मकै लागि टिकट बुकिङ गरिरहेको फ्लाई दुबईका नेपाल जनरल म्यानेजर नवराज शाहीले जानकारी दिए।

प्रकाशित: २३ भाद्र २०८३ २१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App