अर्थ

तामझामपूर्ण पोखरा सडक महोत्सव

पोखरामा तामझामसहित सडक महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं शृंखला आइतबारदेखि सुरु भएको हो।

महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्।

महोत्सव उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको र्‍याली निकालिएको थियो। र्‍यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आआफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टिभिटी बढाउनुपर्ने बताए।

पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टिभिटी सहज बनाउनुपर्ने उनको भनाइ थियो। उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए।

स्थानीय र प्रदेश सरकारले फेवातालको संरक्षणको प्रयास गरिरहेको थाहा पाएँ, उनले भने, ‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, यसका लागि म प्रयास गर्छु।’

फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए। चुनावले देशलाई स्थायित्वतर्फ लैजाने भन्दै उनले भने, ‘फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ।’

उनले चुनाव नभए देश अस्थिरतामा जानेछ चेतावनी दिए। उनले चुनाव हुँदैमा समस्या समाधान नहुने बरु चुनावपछिको सरकार कसको हो भन्नेले महत्त्वपूर्ण अर्थ राख्ने उनको भनाइ छ। चुनावमा जनता पनि सचेत हुनुपर्ने उनले बताए।

चुनावपछि देशले आर्थिक परिवर्तनमा फड्को मार्नुपर्छ र त्यसका लागि देशमा सही नेतृत्व आवश्यक रहेको भन्दै उनले अगाडि थपे, ‘संसद् र सरकारमा सही व्यक्तिलाई चुन्नुहोला। यसमा विशेष ध्यान दिनुहोला।’

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमति बनाउन पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे।

उनले भने, ‘जियो पोलिटिक्सको कुरा के हो हामीलाई थाहा भएन र मतलब पनि भएन तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण मिलाउन म आग्रह गर्छु।’

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको अवसरमा लेकसाइडको खहरेदेखि अम्बोटसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरू व्यवसायीहरूले पस्किनेछन्।

महोत्सव स्थल लेकसाइडलाई अहिले दुलहीझैं सिँगारिएको छ। जहाँ सडक क्षेत्रको आकाशमा ध्वजापताका लगाइएको छ भने बिजुली–बत्तीले धपक्क बालिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।

महोत्सवमा मुख्य आर्कषणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने जानकारी कार्यक्रम संयोजक वसन्त गौतमले दिए।

त्यस्तै महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि हुने उनले बताए।

सडक महोत्सवसँगै सांगीतिक उत्सव

पोखरा सडक महोत्सव सुरु भएसँगै पोखराको लेकसाइड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि सुरु भएको छ। रेवान पोखराको आयोजनामा सुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा अल टेक नेपालको संयोजनमा सांगीतिक उत्सव पनि सुरु भएको हो। जहाँ एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ।

न्यु ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने जानकारी अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले दिए।

सो दिन न्युइयर इभ विशेषमा उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्यान्डको पनि लाइभ प्रस्तुति रहने उनले बताए। उनका अनुसार नयाँ वर्ष विशेषका रूपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरूमा प्रस्तुति दिनेछन्।

त्यस्तै पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम हुने जानकारी उनले दिए। उनका अनुसार सो दिन ल्होसार विशेष कार्यक्रमसँगै स्वप्न सुमन, केहर एन्ड द लुंगा, चक्र व्यान्डलगायतको लाइभ प्रस्तुति रहनेछन् भने प्रिती आले, देउराली व्यान्डका पुराना गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले प्रस्तुति दिनेछन्।

सोही दिन दिउँसो दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए।

पुस १४ गते भने अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल व्यान्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जानकारी उनले दिए।

प्रकाशित: १४ पुस २०८२ ११:१० सोमबार