अर्थ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार

बाढीपीडितको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छौँ : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटदेखि धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन कहालीलाग्दो अवस्थामा पुगेको उल्लेख गर्दै उनले पुनःनिर्माणका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

‘पुनःनिर्माणका लागि सरकारसँग मिलेर काम गर्छौं। तपाईं सम्पूर्ण उद्योगी–व्यवसायीलाई पनि मनकारी मन लिएर सहयोग गर्नुस्,’ उनले भने।

अध्यक्ष श्रेष्ठले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन महासंघले अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको जानकारी दिए।

‘विश्वका ७० वटा उद्योग तथा वाणिज्य संघलाई सहयोगका लागि पत्र लेखेर पठाइसकेका छौँ,’ उनले भने, ‘नेपाललाई सहयोग चाहिएको छ, तपाईंहरूले सहयोग गरिदिनुस् भनेर पत्र पठाएका छौँ।’

अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी फुट्ने समस्या बढ्दै गएको र त्यसको असर नेपालले भोगिरहेको भन्दै यसबारे गम्भीर भएर सोच्नुपर्ने समय आएको बताए।

‘मानव सभ्यता नदीबाटै सुरु भएको हो। तर, पर्यावरणीय जुन समस्या नेपालले भोगिरहेको छ, यसबारे नेपालले सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘विपद् निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरू छन्। यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा राज्य, समाज र निजी क्षेत्रले गम्भीर भएर सोच्नुपर्नेछ।’

जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून अर्थात् ०.०४ प्रतिशत मात्रै भए पनि त्यसको असर भने ठूलो मात्रामा भोगिरहेको उनले बताए।

महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र उद्योग वाणिज्य संघले आवाज बुलन्द गर्नुपर्ने बताए।

राजनीतिक उथलपुथलदेखि प्राकृतिक विपद्सम्मका घटनामा उद्योगी–व्यवसायी समस्यामा पर्दै आएको उल्लेख गर्दै उनले लगानी सुरक्षाको वातावरण निर्माणमा महासंघ र संघले भूमिका खेल्नुपर्ने बताए।

प्राकृतिक विपत्तिका कारण पर्यटन क्षेत्रसमेत तहसनहस हुने अवस्था आएको उनले बताए।

‘आज पर्यटक आउने स्थिति छैन, उनीहरू आउनेवाला पनि छैनन्। पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला? यसबारे चिन्तन–मनन गर्ने र गराउनेतर्फ लाग्नुपर्नेछ,’ उनले भने।

नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रबाहेक अन्य क्षेत्र सुरक्षित र खुला रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए।

विपद्का कारण पोखराको पर्यटन क्षेत्र खस्किएको उल्लेख गर्दै उनले पोखरासहित समग्र नेपालको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसारमा योगदान गर्ने प्रतिबद्धता जनाए।

अध्यक्षको दौडमा चार उम्मेदवार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा हुँदैछ। आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा दुई प्यानलसहित चार जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षका उम्मेदवारद्वय बलराम आचार्य र शोभा गौतमले प्यानलसहित, तथा उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

अध्यक्षका उम्मेदवार बुद्धाचार्य संघका सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष छन्। एलिगेन्स ट्रेड सेन्टरका सञ्चालक उनी सुनचाँदी व्यवसायमा समेत संलग्न छन्।

रियलस्टेट, पर्यटन व्यवसायलगायत आधा दर्जन संस्थाका सञ्चालक पोखरेल तेस्रोपटक अध्यक्षका प्रत्यासी बनेका हुन्। यसअघि दुई पटक पराजित भइसकेका उनी संघको सदस्य, उप–महासचिव र महासचिवसमेत भइसकेका छन्।

प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्य आचार्य सप्लायर्सका सञ्चालक हुन्। संघको सदस्य, कोषाध्यक्ष हुँदै वाणिज्यतर्फको उपाध्यक्ष भइसकेका उनी अध्यक्ष पदका दाबेदार बनेका हुन्।

प्यानलसहित उम्मेदवारी दिएकी गौतम पुष्पाञ्जली इभेन्ट सेन्टर, लुब्रिकेन्ट्स बिक्री गर्ने सुप्रिम सप्लायर्सलगायत चार संस्थाकी सञ्चालक हुन्। वर्तमान कार्यसमितिकी महासचिव रहेकी गौतम पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अठोटसहित चुनावी मैदानमा उत्रिएकी छन्। उनी यसअघि सदस्य र उप–महासचिवसमेत भइसकेकी छन्।

अध्यक्ष पदमा चार जनाबीच प्रतिस्पर्धा भए पनि अन्य पदाधिकारीमा भने आचार्य र गौतम प्यानलबीच प्रतिस्पर्धा हुँदैछ।

संघको वरिष्ठ उपाध्यक्षका लागि आचार्य प्यानलबाट दिनेशचन्द्र बास्तोला र गौतम प्यानलबाट टीकाराम सुवेदी प्रतिस्पर्धामा छन्। सुवेदी वर्तमान कार्यसमिति सदस्य हुन् भने बास्तोला उद्योगतर्फका उपाध्यक्ष हुन्।

उद्योगतर्फको उपाध्यक्षका लागि आचार्य प्यानलबाट ललितबहादुर कुँवर र गौतम प्यानलबाट सौगात थापा प्रतिस्पर्धामा छन्। थापा र कुँवर दुवै वर्तमान कार्यसमिति सदस्य हुन्।

वाणिज्यतर्फको उपाध्यक्षका लागि आचार्य प्यानलबाट मनोजकुमार श्रेष्ठ र गौतम प्यानलबाट भीम गौतम उम्मेदवार छन्। गौतम वर्तमान कार्यसमिति सदस्य हुन् भने श्रेष्ठ कोषाध्यक्ष हुन्।

महासचिवमा आचार्य प्यानलबाट सुदीप प्रधानाङ्ग र गौतम प्यानलबाट तारानाथ ढुंगाना उम्मेदवार छन्। प्रधानाङ्ग वर्तमान उप–महासचिव हुन् भने ढुंगाना यसअघि पनि महासचिव पदमा पराजित उम्मेदवार हुन्।

कोषाध्यक्षमा आचार्य प्यानलबाट देवेन्द्र प्रजु र गौतम प्यानलबाट जीवनप्रकाश श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ। प्रजु र श्रेष्ठ दुवै वर्तमान कार्यसमिति सदस्य हुन्।

उप–महासचिवमा भने तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ। आचार्य प्यानलबाट प्रदीप राजभण्डारी, गौतम प्यानलबाट यादवप्रसाद पोखरेल र स्वतन्त्रबाट रामचन्द्र तिमिल्सिना उम्मेदवार छन्। तीनै जना वर्तमान कार्यसमिति सदस्य हुन्।

खुला सदस्यतर्फ गोविन्दबहादुर केसी, मनोहरी पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलीपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि वस्तुगततर्फका चार सदस्यमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरु तथा उद्योगतर्फको एक सदस्यमा पिताम्बर अधिकारी सर्वसम्मत भइसकेका छन्।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन्।

प्रकाशित: २० भाद्र २०८३ २१:५६ शनिबार