अर्थ

पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम

<br>

पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम खुलेको छ। ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरा महानगरपालिका–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नयाँ सोरुम खोलेको हो।

सोरुमको शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे। उक्त सोरुम तीनएस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्णरुपमा अद्यावधिक गरिएको छ। झण्डै बिसहजार वर्गफुट क्षेत्रफलमा फैलिएको सोरुमले ग्राहकलाई एउटै स्थानबाट सबैखाले सेवा उपलब्ध गराउने ईलाइट मोटर्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक गोपाल बरालले जानकारी दिए।

‘अत्याधुनिक प्रविधि सहितको सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ,’ उनले भने। सोरुम ओमोडा एण्ड जेकुको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको उनले बताए।  

सोरुमको उद्घाटन अवसरमा ओमोडाको नयाँ जेकु जे ५ पनि सार्वजनिक गरिएको छ। ओमोडाको पछिल्लो पटक आएको जेकु जे ५ गाडीको मन्त्री विन्दुकुमार थापासँगै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशक गौरव शारडा लगायतले सार्वजनिक गरे।

नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शन गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल रहेको एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले बताए।

जेकु जे५ का प्रमुख विशेषतामा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयरटायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधा रहेको कम्पनीका बजार शाखा प्रमुख ज्ञानेन्द्रबहादुर चन्दले जानकारी दिए। उनले भने,‘गाडी मात्र राम्रो होईन, हामीले दिने सेवा सुविधा पनि उत्कृष्ट छ। हामीले सबै प्रदेशका सहरहरुमा चार्जिङ स्टेशन पनि बनाएका छौं।’ 

ईलाईट मोटर्स प्रालिका प्रबन्ध निर्देशक बरालले पोखरामा जेकु जे५ले चाँडै पोखरेलीको मन जित्ने दाबी गरे। उनले भने,‘पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ सोरुम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनःसुनिश्चित गरेका छौं।’

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अमोडाको जेकु जे५ले पोखरेलीको मन जित्ने विश्वास व्यक्त गरे। उनले व्यवसायीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागिरहेको बताउँदै उनले भने,‘स्पेयर पार्टस्, चार्जिङ लगायतका सेवालाई सर्वसुलभ बनाउने हो भने गाडीका प्रयोगकर्तालाई सहज हुन्छ।’ यो गाडीको मुल्य ६५ लाख रुपैयाँ पर्ने पनि इलाइट मोटर्सले बताएको छ।

प्रकाशित: १४ भाद्र २०८२ १७:२५ शनिबार

ओमोडा एण्ड जेकु नयाँ सोरुम सञ्चालन