खोटाङको रैथाने बाली कोदोले व्यावसायिक बिस्कुटको रूप पाएको छ। ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’ को अवसर पारेर शुभम् फाउण्डेशनले स्थानीय सरकारको सहकार्यमा ‘दिक्तेल कोदो बिस्कुट’ को व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको हो।
फाउण्डेशनका कार्यकारी निर्देशक सूर्य राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानको यन्त्रबाट बिस्कुट उत्पादन थालिएको हो।
कोदोको पिठो, घ्यू, दूध र चिनी मिसाएर बनाइएको सय ग्राम तौलको बिस्कुटको प्याकेटलाई ५० रुपैयाँ मूल्य तोकिएको छ।
शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले संयुक्त रूपमा बिस्कुट सार्वजनिक गरेसँगै यसको औपचारिक बजारीकरण थालिएको हो।
फाउण्डेशनले कृषि ज्ञान केन्द्र र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मा बिस्कुटसँगै कोदोबाट निर्मित केक, मःम, कुकिज, सेलरोटी, रक्सी (आरखा) र तोङ्बाजस्ता दर्जनौँ परिकार समेत प्रदर्शनीमा राखिएको थियो।
‘कोदोबाट बन्ने खाद्य परिकारको व्यावसायिक उत्पादन र बजारीकरण गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ कार्यकारी निर्देशक राईले भने, ‘हामीले जिल्लामा उत्पादन हुने सबै कोदो खपत गर्ने आश्वासन किसानलाई दिएका छौं।’
उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेका सम्पूर्ण मापदण्ड पूरा गरेर उत्पादन थालिएको जानकारी दिए।
कार्यक्रममा अतिथिहरूले कोदोको बिस्कुट स्वादिलो, गुणस्तरीय र स्वास्थ्यकर भएको प्रतिक्रिया दिए।
जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्थानीय उत्पादनको प्रवर्द्धनले युवा पलायन रोक्न र गाउँमै स्वरोजगार सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। ‘समृद्धिको खोजीमा युवा विदेश पलायन भइरहेका छन्। अब गाउँमै बसेर रैथाने अन्नबालीको औद्योगिकीकरण गर्दै रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने।
नगर उपप्रमुख विशन राईले नगरपालिकाले ‘उपप्रमुखसँग कृषक कार्यक्रम’ मार्फत रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदान दिने नीति लिएको बताए।
फाउण्डेशनले उत्पादन गरेका कोदोका परिकारलाई नगरभित्रका विद्यालयमा दिवा खाजाको रूपमा प्रयोग गराउने तयारी भइरहेको समेत उनले जानकारी दिए।
स्वास्थ्य विज्ञहरूका अनुसार कोदोमा रोग प्रतिरोधी क्षमता बढाउने, मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रण गर्ने तत्व पाइन्छ। नगर कृषि शाखा प्रमुख तेजप्रसाद जैसीका अनुसार चामल र मकैभन्दा कोदोमा ३५ गुणा बढी क्याल्सियम हुन्छ।
दिवसको अवसरमा आयोजित ‘कोदोको उपयोगिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी विपासा खनाल प्रथम भएकी छन्। प्रतियोगिताका विजेता तथा व्यावसायिक कृषिमा संलग्न किसानहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो।
प्रकाशित: १७ श्रावण २०८२ १५:३२ शनिबार