ताप्लेजुङमा पशुजन्य पदार्थको उत्पादनमध्ये दूध र ऊनको उत्पादनमा वृद्धि भएको पाइएको छ भने मासु र अण्डाको उत्पादनमा गिरावट आएको देखिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार दूधको उत्पादनमा ०.५५ प्रतिशत र ऊनको उत्पादनमा १२.०७ प्रतिशत वृद्धि भएको छ।
मासुको उत्पादनमा ६.१४ प्रतिशत र अण्डाको उत्पादनमा ३७.०६ प्रतिशतले गिरावट आएको छ। यो आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ बिचको अन्तर हो।
दाहालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ताप्लेजुङमा ७ हजार ४६ मेट्रिकटन दूध उत्पादन भएकोमा सो भन्दा पछिल्लो अघिल्लो आवमा बढेर ७ हजार ८५ मेट्रिकटन पुगेको छ।
यस्तै ऊन आव २०८१/८२ मा ३ हजार ५ सय ६८ किलोग्राम उत्पादन भएकोमा अघिल्लो आवमा बढेर ३ हजार ९ सय ९९ किलोग्राम पुगेको छ।
उता, आव २०८१/८२ मा २ हजार ४ सय ५८ मेट्रिकटन मासु उत्पादन भएकोमा आव २०८२/८३ मा घटेर २ हजार ३ सय ७ मेट्रिकटनमा सीमित भएको छ।
पशुजन्य पदार्थको उत्पादनमध्ये सबैभन्दा धेरै गिरावट अण्डाको उत्पादनमा देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका अनुसार यहाँ आव २०८१/८२ मा २६ लाख ६ हजार वटा अण्डा उत्पादन भएकोमा आव २०८२/८३ मा घटेर १६ लाख ४० हजार वटामा सीमित भएको छ।
प्रकाशित: २१ भाद्र २०८३ १४:०६ आइतबार