जुम्लाबाट निर्यात भएको लगभग १३ करोड मुल्य बराबरको स्याउ अलपत्र परेको छ। शनिबारदेखि खसेको पहिरो पन्छाउन नसक्दा बजार लगिएको स्याउ बीच बाटोमै अलपत्र परेको हो। जुम्ला-सुर्खेत सडक खण्ड अन्तर्गतको कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लादेखि स्याउ बोकेर गएका २० वटा ट्रक रोकिएका छन्। सडक अवरुद्धको तीन दिन भइसक्दा पनि पन्छाउन नसक्दा स्याउ बोकेका ट्रकहरू बाटोमै रोकिएका हुन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार एक ट्रकमा न्यूनतम ६ देखि ९ मेट्रिक टन स्याउ छ। एउटा ट्रकमा न्युनतम ८ मेट्रिक टन स्याउ राख्दा पनि एक सय ८४ मेट्रिक टन स्याउ बाटोमै अलपत्र छ । प्रमुख अधिकारीले जुम्लाका ८ वटै स्थानीय तहको स्याउ बाटोमा रोकिएको बताए। अहिले बगैँचामै किसानले प्रतिकेजी स्याउ ७० रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। उनले भने, ‘यो पटक स्याउ गत वर्षको तुलनामा घटेको छ।’

कृषि कार्यालयका अनुसार १० देखि १३ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन हुने अनुमान गरेको हो । जसमा ५ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर जाने प्रक्षेपण गरिएको छ ।जुम्लाको स्याउ निर्यातको बारेमा नाग्मा प्रहरी चौकी कालिकोट र जुम्ला विमानस्थलमा रेकर्ड फाइल राखेर तथ्यांक सङ्कलनको काम सुरु भइरहेको छ। यो वर्ष जुम्लाका किसानले भदौ २ गतेदेखि स्याउ टिप्न सुरु गरेका थिए।
ब्लाष्टिङ गरेर छिट्टै सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए। कृषि विकास कार्यालयले पहिरो पन्छाउन ढिलाइ गर्दा किसानको स्याउ बाटामै रोकिएकोले छिटोभन्दा छिटो सडक खुलाउन उनको माग छ ।
हिमा गाउँपालिका (३ मोफ्ला गाउँका स्याउ किसान गोपाल रोकायाले सडकले हरेक वर्ष स्याउ किसान र व्यापारीलाई घाटा पुर्याउने गरेको दुखेसो पोखे ।
नाग्मा प्रहरी चौकीका अनुसार, भदौ १४ गते ८ वटा, १५ गते ११ वटा र १६ गते दुई वटासहित कुल २३ वटा ट्रक स्याउ बीच बाटोमै रोकिएका छन्। असई यम शर्माले अहिले जुम्लादेखि जाने हरेक मालबाहक गाडीले स्याउ बोकेर जाने गरेको बताउँछन्।
४० क्विन्टल स्याउ लिएर गएका स्याउ किसान कालीबहादुर रोकायले पहिरोले निकै नोक्सानी व्यहोर्नुपरेको बताए।
गतवर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए । स्याउ कुहिएर लाखौँको क्षति भएको थियो। जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारसम्म पुग्ने गरेको छ।
जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।
प्रकाशित: १६ भाद्र २०८२ १९:३२ सोमबार