अर्थ

पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने

नेपालीको महान् चाड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ। 

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा पोखरा-६ लेकसाइडस्थित बाराही खेल मैदानमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन कात्तिक ८ गते महोत्सव आयोजना गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

‘टीका, जमरा र चङ्गा चेट: पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई दशैंको टीका र जमरासमेत लगाइदिने आयोजक ओटेफ गण्डकीकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन्। उनका अनुसार महोत्सवमा बडादशैंको महत्वबारे पर्यटकलाई जानकारी गराइनेछ।

महोत्सवको मुख्य आकर्षणका रूपमा चङ्गा चेट प्रतियोगिता रहने अध्यक्ष न्यौपानेले जानकारी दिइन्। त्यसबाहेक चंगरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा आकर्षणका रूपमा रहनेछन्।

महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत रोटेपिङसहित विविध कार्यक्रम गरिने ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन्। ‘हाम्रो मौलिक पर्व बडादशैंलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउनु नै महोत्सवको उद्देश्य हो’, उनले भनिन्।

महोत्सवको उद्घाटनअघि खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन झाँकी सहित र्‍याली आयोजना गरिने ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिइन्। उनका अनुसार कोजाग्रत पूर्णिमाका दिन पूर्वाह्न १०:३० बजेदेखि झाँकीसहितको र्‍याली निकालिनेछ।

महोत्सवले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने आयोजकको विश्वास छ। संस्कृतिलाई पर्यटनसँग जोडेर महोत्सव आयोजना गरिएको र यसले इभेन्टहरूको सहर पोखरामा पर्यटक आकर्षित गर्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन्। 

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले संस्कृतिलाई पर्यटनसँग जोडेर कार्यक्रम आयोजना गरिनु सुखद पक्ष भएको बताए। उनले भने,‘बडादशैं नेपालीको महान् चाड भएकाले यहाँको संस्कृति र परम्पराबारे विदेशी पर्यटकलाई जानकारी दिँदा नेपाली परम्परा विदेशसम्म पुग्छ र त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्छ।’ तर महोत्सवमा बडादशैंबारे जानकारी दिन यसको सांस्कृतिक पक्ष, किम्वदन्तीलगायतबारे सही सूचना दिइनुपर्ने उनको भनाइ छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत जनशक्ति सराफले महोत्सवले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले ओटेफले आयोजना गर्ने महोत्सव सफल बनाउन पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

महोत्सव सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ। जुन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा कार्यालयसँगै नेपाल पर्यटन बोर्ड र प्रायोजकबाट संकलन गरेर खर्च गरिने ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन्।

प्रकाशित: १० आश्विन २०८३ १०:२५ शनिबार