अर्थ

बुध्द एयरको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान शुरु

बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट नेपालगञ्जका लागि भरेको हो। पहिलो उडानमा ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडेको थियो।

बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो। त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रंगरंगोनका काम सम्पन्न गर्न करिब एकमहिना लागेको एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

एटीआर ७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेको पनि एयरलाइन्सले बताएको छ। क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रुपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ। जहाजमा रहेको आधुनिक नेभिगेसन प्रणालीले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्थामा पनि उडान तथा अवतरणलाई थप सहज बनाउने एयरलाइन्सको भनाई छ।

बुध्द एयरले केही समयभित्र थप एक अर्को एटीआर–७२–६०० सिरिजका जहाज भित्र्याउने तयारी पनि गरेको छ। बुद्ध एयरसँग अहिले १४ वटा एटिआर–७२–५००र एउटा एटिआर–७२–६०० गरेर १५ वटा जहाज छन। बुध्द एयरले यसअघि दुईवटा एटीआर जहाजहरु उडानबाट बिदाई गरिसकेको छ।  

हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयरले नयाँ सिरिजको जहाज थप गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १ सय ४० भन्दा बढि उडान भरिरहेको छ। अन्तरर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकाता साताको ४ दिन उडान भरिरहेको छ। यसैगरि पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ।

प्रकाशित: १९ भाद्र २०८३ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App