अर्थ

सिमी खेतीले तिर्खुमा समृद्धि: घरदैलोमै बजार, किसानको जीवनस्तरमा सुधार

जुम्लाको तिर्खु गाउँमा सिमी भण्डारण गर्दै स्थानीय महिला। तस्बिर: गोल्डेन बुढा/जुम्ला

जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खु गाउँका किसानहरूका लागि सिमी खेती अब परम्परागत बाली मात्र रहेन, यो उनीहरूको आर्थिक समृद्धिको मुख्य आधार बनेको छ।

विगतमा उत्पादन बेच्न सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्त भएका यहाँका किसानहरू अहिले घरदैलोमै व्यापारीलाई सिमी बेचेर मनग्य आम्दानी गरिरहेका छन्। सिमी खेतीबाटै गाउँको समग्र जीवनस्तरमा उल्लेख्य परिवर्तन आएको छ।

स्थानीय किसान सुनकली बोहोरा यसको एक ज्वलन्त उदाहरण हुन्। कुनै समय सिमी बेच्न दुई घण्टा हिँडेर सदरमुकाम खलंगा पुग्ने र यात्रामा पाँच सय रुपैयाँसम्म खर्च गर्ने सुनकलीले यस वर्ष गाउँमै प्रतिकिलो २०० रुपैयाँका दरले सिमी बेचिन्।

‘यो वर्ष गाउँमै सिमी बेच्न पायौँ, हामीले भनेको मूल्य पनि पायौँ,’ उनले भनिन्।

मंगलबार मात्रै २० हजार ८ सय रुपैयाँ नगद बुझेकी उनी वार्षिक करिब ७ क्विन्टल सिमी उत्पादन गर्छिन् र गत वर्ष मात्रै करिब ६० हजार रुपैयाँ आम्दानी गरेकी थिइन्।

सुनकली मात्र होइन, तिर्खुका अन्य किसानको कथा पनि उस्तै छ। नुनकली बोहोराले यस वर्ष ४६ हजार रुपैयाँको सिमी बेचिन् भने जुनपुरा बोहोराले १५ हजार ४ सय रुपैयाँ हात पारिन्।

किसानहरूका अनुसार सिमीको आम्दानीले नै घरको दाल-चामल, तेल-नुन, लत्ताकपडादेखि बालबालिकाको शिक्षा र बजारमा पढ्ने छोराछोरीको कोठा भाडासम्मको खर्च धानेको छ।

पछिल्लो समय गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनबारे सीप विकास भएपछि किसानहरूमा व्यावसायिक चेतना बढेको छ। ‘गुणस्तरीय सिमी उत्पादन गर्न सके बजार खोज्न टाढा जानु पर्दोरहेनछ,’ सुनकलीको अनुभव छ।

पहिले चामलसँग सिमी साट्ने अवस्थाबाट गुज्रिएका किसानहरू अहिले एकै ठाउँमा उत्पादन संकलन गरेर बिक्री गर्छन्, जसले व्यापारीलाई समेत सहज बनाएको छ। उनीहरू भन्छन्, ‘पहिले सिमी लगाउँथ्यौँ, अहिले सिमी व्यवसाय गर्न सिक्यौँ।’

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकले पनि गाउँमा आएको यो सकारात्मक परिवर्तनलाई पुष्टि गर्छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा जिल्लामा सिमी खेतीको क्षेत्रफल २,२५० हेक्टर पुगेको छ भने उत्पादन बढेर ४,२६० मेट्रिक टन पुगेको छ। उत्पादकत्व पनि प्रतिहेक्टर १.८ बाट १.८९ मेट्रिक टन पुगेको छ।

सिमी खेतीको यो व्यावसायिक विस्तारले तिर्खु जस्ता दुर्गम गाउँहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै लगेको छ।

प्रकाशित: २ मंसिर २०८२ २०:५८ मंगलबार