अर्थ

चार महिनामा ६ हजार २९ सवारीलाई कारबाही, ८९ लाख बढी राजस्व संकलन

कपिलवस्तुमा चालु आर्थिक वर्षको चार महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको २ हजार ८५६ सवारी साधनलाई कारबाही गरिएको छ।

चालु आर्थिक वर्ष २०८३/०८४ को साउन देखि कार्तिक सम्म ट्राफिक नियम पालना नगर्ने त्यति संख्या सवारीलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो।

सवारी कारबाहीबाट ८९ लाख ७ हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले बताए।

चार महिनामा २ हजार ८९६ ट्रक र टिप्पर कारबाहीबाट ५१ लाख ७० हजार ५ सय, ६ सय ४९ बसबाट ११ लाख ४२ हजार ५ सय,  कार र जिप गरी १ हजार ५४७ कारबाहीबाट १७ लाख ५० हजार, ४८ ट्याक्टरबाट ४८ हजार ८ सय २ मोटरसाइकलबाट ७ लाख ७ हजार अन्य ८७ कारबाहीबाट ८९ हजार उठेको हो।

साउनमा १ हजार ३२७ सवारीलाई कारबाही गरी १८ लाख ८४ हजार ५ सय, भदौमा १ हजार ६७४ सवारीलाई कारबाही गरी २३ लाख ७८ हजार, असोजमा १ हजार ६०८ सवारीलाई कारबाही गरी २४ लाख ६७ हजार ५ सय तथा कार्तिकमा १ हजार ४२० सवारीलाई कारबाही गरी २१ लाख ७७ हजार राजस्व संकलन गरिएको हो।

‘ट्राफिक नियम पालना नगर्दा नै अधिकांश सवारी दुर्घटना भएका छन्,’ ढकालले भने। सवारी नियम, दुर्घटनाको कारण र सडकको अवस्था अनुसार चलाउन ट्राफिक प्रहरीले पटक पटक सचेतना कार्यक्रम सञ्चालन गदै आएको छ। तर पनि पनि चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएर अकालमा ज्यान गुमाउनेदेखि घाइते र अंगभंग हुनेसम्मका समस्या आइपर्ने गरेको उनले बताए।

उनले सवारी सधानको संख्या बढ्दै गए पनि सडकको बिस्तार नगरिँदा पनि दुर्घटना भएको बताए। सवारी सधानको संख्यामा वृद्धि भएपछि बर्सेनि दुर्घटना हुने क्रम पनि बढेको उनी बताउँछन्।

दुर्घटनाको मुख्य कारण भने ट्राफिक नियम पालना नगर्नु, विना सवारी अनुमति पत्र (लाइसेन्स) सवारी चलाउनु, सहचालकलाई सवारी चलाउन दिनु तथा सडकको दुरावस्था पनि उत्तिकै जिम्मेवार रहेको प्रहरी निरीक्षक ढकालले बताए।

यस्तै क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने, तीव्र गतिमा गुड्ने तथा मादक पदार्थ सेवन गरेर नियम उल्लङ्घन गर्नेहरू दुर्घटनामा पर्ने गरेको बताइएको छ।

४ महिनामा  विद्यार्थी, चालक व्यवसायी, सर्वसाधारण, यात्रु गरी ९ सय ८१ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो। जसबाट ५४ हजार ८९२ जना लाभांवित भएका थिए।

भारवाहन क्षमता भन्दा बढी मालसामान बाेकेका २ हजार ६५६ भारतीय सवारीलाई कारबाही सिफारिस

चार महिनामा भारवाहक क्षमता भन्दा बढी वजन ढुवानी गरेको २ हजार ६५६ भारतीय मालवाहक सवारी साधनलाई आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीले यातायात सेवा कार्यालय तौलिहवाबाट पठाएको छ।

प्रत्येक सवारी साधनबाट १० हजारका दरले जरिबाना तिराइएको थियो। जसबाट २ करोड ६५ लाख ६० हजार संकलन भएको छ।  

कपिलवस्तुमा चार महिनामा सवारी दुर्घटनामा २६ जनाको मृत्यु

कपिलवस्तुमा चार महिनामा सडक दुर्घटनामा २६ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउन देखि कार्तिक महिना सम्म दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

चार महिनामा कुल २ सय ९२ दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा १९ पुरुष, ४ महिला र ३ बालक हुन्। साउनमा ९, भदौमा ३ असोजमा ७ र कार्तिकमा ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्।

दुर्घटनामा ४ सय ३२ सवारी साधन संलग्न थिए। दुर्घटनामा १ सय २३ गम्भीर घाइते भएका थिए। यस्तै ३ सय ५६ जना साधारण घाइते भएका थिए।

गत आर्थिक वर्ष २०८२/०८३ मा  ६ सय ८५ दुर्घटनामा ७७ जनाको ज्यान गएको थियो। चार महिनामा दुर्घटनामा परी १९ चौपायाको मृत्यु र ७ चौपाया घाइते भएका थिए।

प्रकाशित: ३ मंसिर २०८३ १२:०४ बिहीबार