अर्थ

यही परिस्थिति अरु लम्बिए लाभांश बढाउन मुस्किल

झन्डै १ वर्षदेखि टुरिजम् डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा महेश ढकाल छन्। उनीसँग १३ वर्ष जतिको बैंकिङ अनुभव छ। ७ वर्ष नेपाल बैंकमा, ३ वर्ष कमर्ज एन्ड ट्रस्ट र करिब डेढ वर्ष सिद्धार्थ डेभलपमेन्ट बैंकमा काम गरिसकेका ढकाल स्याङ्जामा जन्मेका हुन्। बैंकको पछिल्लो वित्तीय अवस्था, मर्जरको सम्भावना, चुक्ता पुँजी बढाउने योजना, बैंकको लगानी, भावी योजना, विकास बैंकका क्षेत्रमा देखिएका अवसर, चुनौती, समग्र विकास बैंकको अवस्था लगायत विषयमा केन्द्रित रहेर नागरिकका विष्णु बेल्वासेले ढकालसँग गरेको कुराकानी:

तराईमा जारी आन्दोलन र भारतको नाकाबन्दीले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पारेको छ?

तराईमा जारी आन्दोलनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवैतर्फबाट असर गरेको छ। इन्धन तथा कच्चा पदार्थको अभावले औधोगिक उत्पादन ठप्प जस्तै छ। मजदुरले छाक टार्न सकेका छैनन्। भूकम्पपछि वृद्धि भएको रेमिटेन्स खर्च हुन सकेको छैन। ठूला राष्ट्रिय गौरवका आयोजना तथा निर्माणाधीन साना तथा ठूला जलविद्युत आयोजनाको काम रोकिएको छ। होटलहरु क्षमताको करिब २० प्रतिशत मात्र सञ्चालनमा आएका छन्, यसले गर्दा पर्यटन व्यवसायमा प्रत्यक्ष र गम्भीर असर परेको छ। अर्थतन्त्रको गतिशीलतामा सुस्तता आएकोले कर्जाको माग रोकिएको छ भने बैंक तथा वित्तीय संस्थाको साँवा र ब्याज भुक्तानीमा गम्भीर असर पारेको छ। बैंक वित्तीय संस्था तथा सम्पूर्ण कम्पनीको मुनाफा घट्न जाँदा सरकारले संकलन गर्ने आयकर घट्नेे, आयात रोकिदा भन्सार लगायत अप्रत्यक्ष राजस्वमा कमी आउने हुनाले सरकारको राजस्व उठाउने लक्ष्यमा नै नकरात्मक असर पर्न जान्छ। यसले सरकारले विकास निर्माणको लागि छुट्याएको बजेटको लागि स्रोतको अभाव हुन जाने र अन्य माध्यमबाट जुटाउन सकिने अवस्थामा पनि खर्च गर्न नसकिने हुनाले विकास निर्माण, राजस्व असुली, रोजगारी सिर्जना लगायत अर्थतन्त्रको समग्र क्षेत्रलाई असर गर्ने देखिन्छ। जसले गर्दा नेपालको आर्थिक वृद्धिदर अनपेक्षित रुपले घट्ने अवस्था छ। अर्कोतर्फ विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आउँदा नेपालमा भने अनौपचारिक बजार वृद्धिले मुद्रास्फीति हुने देखिएको छ।

इन्धन अभावका कारण बैंकले दिने सेवाको समयसमेत परिवर्तन गर्नुपर्ने अवस्था आएको छ भनिन्छ नि! यसमा तपाईंको धारणा के छ?

दैनिक १२ घन्टासम्म विद्युत कटौती छ। वैकल्पिक व्यवस्थाका लागि इन्धन अभावका कारणले नियमित रुपमा सेवा दिन सकिएको छैन। यस बैंकले उपलब्ध गराइरहेको सन्ध्याकालीन सेवाको समयमा कटौती गर्नुपरेको छ भने कतिपय बैंकहरुले विद्युत कटौतीको समयमा नियमित सेवा पनि रोकेका छन्।

लामो समयको बन्द हडतालले बैंकको नाफा खुम्चिने त होइन?

लामो बन्द तथा नाकाबन्दीका कारण देशको समग्र आर्थिक अवस्था असहज भइरहेको समयमा विकासको मेरुदण्ड मानिने बैंकिङ क्षेत्र यस बिषम परिस्थितिबाट मुक्त रहन सक्दैन। कर्जाको नयाँ माग छैन भने भएको कर्जा लगानी समेत नियमित हुन सकेको छैन। देशको अर्थतन्त्र नै ओरालो लागेको बेलामा बैंकको नाफा नखुम्चने कुरै रहेन। हामी आफ्नो लगानी वृद्धि तथा सेवा सुविधा साबिकबमोजिम नै ग्राहकसम्म पुर्याबउन निरन्तर प्रयत्नशील छौ।

बैंकिङ प्रणालीमा प्रशस्त लागानीयोग्य पुँजी (तरलता) छ, तर लगानी हुन सकेको छैन भनिन्छ नि?

नेपालको सन्दर्भमा बैंकहरुको तरलता अस्थिर खालको छ। नेपालमा छोटो समयमा पनि कहिले तरलता बढी त कहिले कम भएको जस्तो देखिन्छ। यद्यपि, पछिल्लो एक वर्ष भन्दा बढी समयदेखि बढी नै तरलता भएको अवस्था छ। यो अवस्थामा नेपाल राष्ट्र बैंकले बजारबाट तरलता खिच्ने काम पनि गरिरहेको छ। लगानीको अवसर राम्रो हुँदाहँुदै पनि असहज अवस्थाका कारण बैंकहरुले आफूसँग भएको स्रोत तथा जनशक्ति प्रयोग गरी उद्देश्य अनुसारको लगानी गर्न सकिरहेका छैनन्। त्यसले गर्दा स्रोतको केही भाग निष्त्रि्कय वा न्यून आय गर्ने स्रोतको रुपमा रहन गएको छ। असहज अवस्थाले जलविद्युत, पर्यटन जस्ता महŒवपूर्ण क्षेत्रका साथै अन्य उद्योगमा अपेक्षित रुपमा लगानी हुन सकेको छैन। जसको कारण बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ। यस्तो अवस्था लामो समय रहँदा निक्षेपको ब्याज थप घट्न जाने र नेपालबाहिर निक्षेप अथवा लगानी सर्ने प्रवृत्ति बढ्न सक्छ।

टुरिजम् डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ?

हाल बैंकको निक्षेप करिब ७ अर्ब, कर्जा लगानी करिब ५ अर्ब ७० करोड रहेको छ भने पुँजी कोष अनुपात करिब १३.७० प्रतिशत, निष्त्रि्कय कर्जा करिब २ प्रतिशत र तरलताअनुपात करिब ३३ प्रतिशत छ। गत आवमा बैंकले करिब ४० प्रतिशत व्यवसाय वृद्धि र करिब ५० प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको छ। यसरी बैंकको कार्यसम्पादन र परिसूचकहरु एकदम राम्रो छ। बैंकको शाखा संख्या १५ छ। पूर्वमा भोजपुरदेखि पश्चिममा बैतडीसम्म शाखा फैलिएका छन्। डेभलपमेन्ट बैंकमध्ये विदेशी विनिमयमा सबैभन्दा बढी कारोबार र आम्दानी गर्ने टुरिजम् बैंक नै हो। दिगो आर्थिक विकासका लागि पयर्टन, जलविद्युत लगायत क्षेत्रमा लगानी बढाउँदै छौं। लगानीकर्तालाई केही वाणिज्य बैंकहरुले भन्दा पनि बढी प्रतिफल दिन सकिरहेका छौं। समग्रमा भन्नुपर्दा अवस्था अत्यन्तै सन्तोषजनक छ।

बैंकले चालु आर्थिक वर्षभित्र के–कस्ता योजना ल्याउँदै छ?

यो आर्थिक वर्षमा पहिलो योजना पुँजी वृद्धि गर्ने नै हो। यसका लागि हामीले पुँजी योजना तयार गरी राष्ट्र बैंकमा पेस गरिसकेका छौं। मर्ज सम्बन्धमा कार्यदल बनाएर अध्ययन गरिरहेको छ। टेक्नोलोजीमा आधारित स्मार्ट मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, पिओएस जस्ता आधुनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हाम्रो योजना छ। त्यसैगरी बैंकको प्रचारप्रसार (ब्रान्डिङ० मा जोड दिने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने जस्ता कार्य जारी छन्।

समग्रमा नेपालमा विकास बैंकको अवस्था कस्तो छ?

मुख्य कुरो त विकास बैंकलाई हेर्ने दृष्टिकोणलाई नै कमजोरीको रुपमा रहेको मैले ठानेको छु। विगतमा विभिन्न समस्या आएको कारणले पनि होला सरकारका विभिन्न निकायबाट निक्षेप लिन नपाउने, विभिन्न बैंक ग्यारेन्टी जारी गर्न नपाउने, एलसी खोल्न नपाउने लगयत सीमा तोकिएको छ। यी कुराहरु बजारलाई छोड्नुपर्छ भन्ने लाग्छ। विकास बैंकले गर्न पाउने/नपाउने भन्ने हुनु हुँदैन। प्रतिस्पर्धाको आधारमा खुल्ला रुपले काम गर्न छाड्नु पर्छ। चाहे त्यो विकास बैंक होस वा वाणिज्य बैंक। जुन बैंक सक्षम छ र ग्राहकको विश्वास जित्न सक्छ उसले काम गर्छ। यसरी गरेका कार्यको नियमन बढाउन सकिन्छ।

योगदानको रुपमा हेर्ने हो भने बैकिङ क्षेत्रको कुल आकारको करिब १५ प्रतिशत हिस्सा विकास बैंकले ओगटेको छ। राष्ट्रियदेखि जिल्ला स्तरसम्मका विकास बैंकहरु रहेकोले वाणिज्य बैंकहरु नभएको क्षेत्रमा समेत विकास बैंकले बैंकिङ सेवा दिइरहेका छन्। प्रतिफलका हिसाबले हेर्दा विकास बैंकहरुको पुँजीको प्रतिफल दर अधिकांश वाणिज्य बैंकको भन्दा राम्रो छ र सोही अनुसार मुनाफा वितरण गरिरहेको हुनाले विकास बैंकहरुको योगदान उल्लेख्य रहेको छ।

बैंक, विकास बैंक, वित्तीय संस्था मर्जरप्रति आकर्षित देखिएका छन्। यो बैंक पनि मर्जरमा जाने तयारीमा छ कि?

पक्कै पनि। हामीले मातृभूमि विकास बैंक प्राप्त गर्न समझदारी गरिसकेका छौ। अन्य वित्तीय संस्थासँग पनि विभिन्न चरणमा छलफल भइरहेका छन्। वाणिज्य बैंकबाट चित्तबु‰दो प्रस्ताव आए मर्जरमा जान सकिन्छ। कर्जाको गुणस्तर, राम्रो नेटवर्क, दक्ष कर्मचारी, संस्थागत सुशासन रहेको र व्यवसाय वृद्धि गर्ने अवसर रहेको बंैंक वा वित्तीय संस्थालाई मर्ज वा प्राप्त गर्ने योजना रहेको छ। राष्ट्र बैंकको पुँजी वृद्धि सम्बन्धी निर्देशन बमोजिम हामी जस्तै राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असारभित्र २ अर्ब ५० करोड पुँजी पुर्यानउनुपर्नेमा यस बैंकले मर्जर/एक्विजिसन, हकप्रद सेयर तथा बोनस सेयर मार्फत तोकिएको न्यूनतम पुँजीभन्दा बढी हुने गरी ३ अर्ब पुर्याबउने सोच बनाएको छ। त्यसबाहेक शाखा विस्तार, ग्राहक सेवाको अभिवृद्धि जस्ता योजना बैंकले राखेको छ।

बैंकका भावी योजना के छन्?

बैंकका भावी योजना स्पष्ट छन्। बैंकले ३ वर्षभित्र मर्जर/एक्विजिसनबाट देशभर सञ्जाल भएको सबभन्दा ठूलो विकास बैंक बन्ने सोच बनाएको छ। ग्राहकको चाहना बमोजिमका समयसापेक्ष, सान्दर्भिक र नविन सेवा सुविधा विकास गर्दै देशकै स्तरीय विकास बैंकको रुपमा स्थापित हुने र लगानीकर्ता, कर्मचारी र निक्षेपकर्तालाई राम्रो प्रतिफल र आकर्षक सुविधा प्रदान गर्दै जाने जस्ता योजना छन्। साथै सेवाको गुणस्तर, सेवा शुल्क र कारोबार वाणिज्य बंैकिङ स्तरमा पुर्यााइने छ।

यो बैंकको छुट्टै विशेषता के हो, जुन अन्य विकास बैंकसँग छैनन्?

विदेशी मुद्राको कारेाबारमा हामी अन्य विकास बैंकभन्दा अगाडि छौं। यो हाम्रो मुख्य विशेषता हो। कतिपय वाणिज्य बंैकहरुले समेत विदेशी मुद्राको लागि हामीसँग सोधपुछ गर्छन्। ट्राभल एजेन्सी, टुर अपरेटरको लागि आवश्यक बैंक जमानतमा पनि हामी अग्रणी स्थानमा छौं। अर्को महŒवपूर्ण कुरा, हाम्रो आम्दानी नितान्त सञ्चालन कारोबारबाट मात्र छ। अन्य धेरै बैंकहरुको जस्तो सेयर, घर–जग्गा खरिद–बिक्री जस्ता गैरसञ्चालन कारोबार तथा आम्दानी नभएकोले हामी शुद्ध बैंकिङ गरिरहेको छौं भन्ने स्पष्ट हुन्छ।

प्रविधिमा पनि हामी अगाडि छौं। भिसा डेबिट कार्ड, ट्राभल कार्ड, मोबाइल बैंकिङ, युटिलिटी बिल भुक्तानी, मर्चेन्ट पेमेन्ट, मोबाइल टप अप, एबिबिएस, एपर्समा आधारित मोबाइल बैंकिङ तथा ई–बैकिङ जस्ता आधुनिक प्रविधियुक्त सेवाहरु सुलभ र स्तरीय तरिकाबाट प्रदान गर्दै आएका छौं। साथै, स्विफ्ट सेवा तथा नोस्ट्रो खाता पनि हामीसँग उपलब्ध छ। हालसालै व्यावसायिक व्यक्तित्वहरुलाई लक्षित गरी प्रोफेसनल कर्जा धितो विना नै व्यक्तिगत जमानीका आधारमा दिन सुरु गरेका छौं, जो आफैंमा फरक छ। साथै, विकास बैंक भएर पनि हामीले वाणिज्य बैंकको जस्तै ब्याजदरमा कर्जा लगानी गरिरहेका छौं।

स्वस्थ बैंक बनाउनका लागि के आवश्यक पर्छ?

संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायी व्यवस्थापन, संस्थागत संस्कृति जस्ता कुराहरु स्वस्थ बैंकका सूचक हुन्। आर्थिक अनुशासन र नैतिक बन्धनभित्र रहेर काम गर्न सकेमात्र स्वच्छता कायम हुन सक्छ भन्ने यस बैंकको विश्वास छ।

यस बैंकले भिसा डेबिट कार्ड र अमेरिकन डलर ट्राभल कार्डको सेवा दिइरहेको भन्नुभयो, यसले के कस्तो सुविधा पुर्याकइरहेको छ?

हो, नगण्य विकास बैंकहरुले मात्र सुरु गर्न सकेको र केही वाणिज्य बैंकले पनि नगरेको भिसा कार्डको सेवा यस बैंकले सुरु गरेको छ। कुनै पनि कामले विदेश भ्रमणमा जाँदा विनाझन्झट कार्डको माध्यमबाट कारोबार गर्न सकिन्छ। भिसा कार्डको प्रयोग गरी सजिलै किनमेलका साथै सबै किसिमका भुक्तानी गर्न सकिन्छ। कार्डको प्रयोगबाट भौतिक रूपमा पैसा बोक्ने झन्झट रहँदैन र यो सुरक्षित र छरितो पनि छ।

थप शाखा विस्तार गर्ने योजना के छ?

हामीले हालै वीरगन्जमा १५औं शाखा विस्तार गरेका छौं। आगामी दिनमा समेत पूर्वदेखि पश्चिमसम्म फैलने गरी मर्जरमार्फत वा स्वयं बैंकले शाखा सञ्जाल विस्तार गर्दै जाने योजना छ।

अगामी वर्षमा सेयरधनीले अझै उच्च लाभांश पाउने सम्भावना कतिको छ?

बैंकको प्रत्येक वर्षको लाभांश वृद्धिदर राम्रो छ। देशको विद्यमान परिस्थिति अरु लम्बिन गए लाभांश बढाउन निश्चय नै मुस्किल पर्नेछ। तर पनि हामी व्यवसाय र मुनाफा वृद्धिको लागि निरन्तर प्रयासरत छौं र हुनेछौं।

प्रकाशित: ११ पुस २०७२ २३:५९ शनिबार