अर्थ

एक महिनामा ३१ वटा खाद्य सामग्रीको नमूना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमूना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।  

कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा रसुवागढी नाका हुँदै आयात भएका ३१ थान खाद्य सामग्रीको नमूना परीक्षण गरिएको छ। नाकाबाट सामग्री आउने क्रम बढेसँगै परीक्षणमा पनि वृद्धि भएको हो। गएको वर्ष पहिलो महिनामा सामग्री आयात नभएका कारण नमूना परीक्षण गरिएको थिएन।  

कार्यालयका अनुसार साउन महिनामा २८.४२ टन खाद्य सामग्री आयात भएको छ। तथ्यांकअनुसार पूmल तथा सागपातजन्य १५ टन, खाद्यान्न दलहन तथा अन्य ५ टन, मसलाजन्य १ सय ५० केजी, चियाजन्य ५ सय ७० केजी र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका ७.७ टन खाद्य सामग्री आयात भएको हो।  

नाकाबाट सामग्री आउने क्रम बढेकाले परीक्षण बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। उनका अनुसार आएका सामग्री सबै मापदण्ड अनुसारका छन्। ‘योभन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, उनले भने, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन्।’  

गएको वर्ष चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको थियो।  

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमूना परीक्षण गर्दै आएको छ। कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आएका सामग्रीमध्ये भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १०, जेठमा २१ र असारमा ९ वटा सामग्रीको नमूना परीक्षण गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ। कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ। कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।  

अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ५ भाद्र २०७८ ०९:०१ शनिबार

रसुवागढी नाका