अर्थ

ताप्लेजुङका सहकारी संस्थाले नयाँ बिधिबाट सुरु गरे साधारणसभा

ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाले साधारणसभाका क्रममा आफ्ना सदस्यलाई वितरण गर्न तयार पारेको प्रतिबेदन पुस्तिका । तस्बिर : नागरिक

यसअघि तामझामका साथ साधारणसभा गर्दै ताप्लेजुङका सहकारी संस्थाले यसवर्ष भने नयाँ बिधिबाट साधारणसभा गर्न थालेका छन्। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिना भिडभाड र बिल्कुल नयाँ ढंगबाट यहाँका सहकारी संस्थाले साधारणसभा सुरु गरेका हुन्। ताप्लेजुङकै पूरानो र सबैभन्दा बढी बित्तीय कारोबार गर्ने ठानिएको ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाले बुधबारबाट साधरणसभा सुरु गरेको छ।  

साधारणसभा पुस १५ गतेसम्म कायम रहने सहकारी संस्थाका अध्यक्ष टामन सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारी संस्थाले साधारणसभा गर्न आफ्ना सदस्य संख्यालाई आधार मानेर बार्षिक प्रगति प्रतिबेदनको मस्यौदा तयार कार्यालयमा राखेको छ। सदस्य संख्याका आधारमा सम्बन्धित सहकारी संस्थाले सो प्रतिबेदन अध्ययन गरी आफ्ना राय सल्लाह दिन आफ्ना सदस्यहरुलाई पुस १५ गतेसम्मको समयावधि तोकेको छ। सम्बन्धित सहकारी संस्थाका सदस्यले आ–आफ्नो संस्थाको कार्यालयमा गइ बार्षिक प्रगति प्रतिबेदनको मस्यौदा बुझ्ने छन् र यहिँ क्रममा हस्ताक्षर समेत गर्नेछन्। प्रतिबेदनमा आफ्नो राय, सल्लाह वा टिप्पणी केहि भए सहकारीका सदस्यले संस्थाले तोकेको दिन भित्रमा मौखिक वा लिखित रुपमा जानकारी दिने छन्।  

सहकारी संस्थाले सदस्यहरुबाट प्राप्त उपयुक्त सल्लाह र सुझावलाई समेत समाबेश गरी बार्षिक प्रगति प्रतिबेदनलाई अन्तिम रुप दिने छ। ‘अन्तिम प्रतिबेदन बुझ्न जाँदा गरिएको हस्ताक्षरलाई उपस्थिति मान्ने गरी यहिँ आधारमा साधारणसभा सम्पन्न गर्न सहकारी संघमा आबद्ध सदस्यलाई जानकारी गराउने निर्णय भए अनुसार ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाले साधारणसभा सुरु गरेको हो अध्यक्ष सिग्देलले भने। जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका उनले जिल्ला भरका सहकारी संस्थाले यहि बिधिमार्फत यसवर्षको साधारणसभा सम्पन्न गर्ने योजना बनाएको बताए।  

यसअघि साधारणसभामा आएबापत सदस्यहरुले पाउने यातायात बापतको खर्च सदस्यले प्रतिबेदन लगैकै दिनमा समेत वितरण गर्न सक्ने वा अरु कुनै बिकल्प छान्ने भन्ने निर्णय सम्बन्धित सहकारी संस्थाले गर्ने भएका छन्। तर, यो खर्च वितरण गर्ने वा नगर्ने भन्ने विषय सम्बन्धित सहकारी संस्थामा निर्भर रहने छ। प्रतिबेदन लिन जाँदा सहकारी सदस्यले मास्क, स्यानीटाइजरसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्ने योजना बनाएको छ। सामान्यतया सहकारी संस्थाको साधारणसभा पुस मसान्तसम्ममा पूरा भइसक्नुपर्ने हुन्छ।  

केन्द्रीय सहकारी संघले भर्चुअल बिधिबाट सकिए सो माध्यमको समेत उपयोग गर्न सक्ने गरी बिकल्प दिएको थियो। तर इन्टरनेट सहितको प्राविधिक समस्याका कारण ताप्लेजुङसहितका दुर्गम क्षेत्रहरुमा भर्चुअल माध्यमबाट सहकारी संस्थाको साधारणसभा सम्पन्न गर्न नसक्ने भन्दै जिल्ला सहकारी संघले नयाँ जुक्ति निकालेर साधारणसभा सुरु गरेको जनाएको छ।

प्रकाशित: १ पुस २०७७ ०७:०२ बुधबार