अर्थ

ब्रोकर लाइसेन्स दिन बैंकलाई अर्थ समिति निर्देशन

मुलुकका वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले  निर्देशन दिएको  छ। पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन गर्न ११ महिना अघि गठन भएको उपसमितिकी अध्यक्ष राम कुमारी झाँक्रीले आज अर्थ समितिमा प्रतिवेदन बुझाउँदै बैंंकलाई ब्रोकर लाईसेन्स दिन सिफारिस गरेकी हुन्।

नेपाल सरकारद्वारा गठित अर्थ समितिको उपसमितिले बोर्डले तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन निर्दैशन दिएको हो।  

त्यसैगरी, सेयर खरिद बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ती गर्ने र गाभिने नीतिगत व्यवस्था गर्न सिफारिस गरिएको छ।  

उपसमितिले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न सुझाव दिएको छ।  

अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यावद, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरेको थियो।  बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा गठित उक्त समितिले अध्ययन गरी उक्त प्रतिवेदन तयार गरेको थियो।  

प्रकाशित: २३ असार २०७७ १०:४२ मंगलबार

अर्थ समिति निर्देशन ब्रोकर लाइसेन्स