उदयपुरमा गतवर्ष साउनको मध्यसम्ममा सम्पूर्ण रोपाइँ भईसकेको थियो । तर, यस वर्ष भर्खर ८५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
ज्ञान केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार गएको ३ दिनमा २० प्रतिशत रोपाइँ बढेको छ । शुक्रबारसम्म ६५ प्रतिशत रोपाइँ भएकोमा शनिबार राति घनघोर वर्षा भएपछि सोमबारसम्ममा थप २० प्रतिशत रोपाइँ भएको यादवले बताए ।
‘साउन सुरु हुँदासम्म उदयपुरमा ४४ प्रतिशत मात्र रोपाइँ भएको थियो, दोस्रो सातासम्म बल्ल ६५ प्रतिशत पुगेको थियो’ यादवले भने ‘तर, ३ दिनअघिदेखि भारी वर्षा भईरहेकाले ह्वात्तै बढेर ८५ प्रतिशत पुगिसक्यो ।’
यही रफ्तारले रोपाइँ हुने हो भने अबको सातादिनभित्र शतप्रतिशत रोपाइँ भईसक्ने अनुमान यादवको छ । उनले भने ‘यही गतिमा रोपाइँ हुने हो भने बाँकी १५ प्रतिशत सक्न सातादिन काफी हुन्छ भन्ने लाग्छ ।’
कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो वर्षदेखि धान खेतीको जमिन र उत्पादन दुवै बढे्दै गएको छ । गतवर्ष १२ हजार ७ सय ९४ हेक्टरमा धान खेती लगाइएको थियो । जसमा प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रकाशित: १९ श्रावण २०८२ १८:३२ सोमबार