अर्थ

कंचनजंगा पदमार्गमा ‘स्नो पोल’

पाँचथर – कञ्चनजंगा हिमालको बेस क्याम्पसम्म पदमार्ग क्षेत्रमा हिउँले बाटो नदेखिने समस्यालाई समाधान गर्न ‘स्नो पोल’ गाडिएको छ। हिउँ पर्ने सिजनसँगै पर्यटकले बाटो भुल्ने सम्भावना बढ्ने भएकाले पदमार्गमा पर्ने ताप्लेजुङका विभिन्न ठाउँमा सांकेतिक बोर्ड र स्नो पोल राखिएको हो।

हिउँले पदमार्ग छोपिएको बेला एउटा पोलदेखि अर्को पोलसम्म देखिने गरी राखिएको छ। विदेशी पर्यटकको आगमन बढिरहेको बेला उनीहरूको सुविधालाई ध्यानमा राखी पोल राखिएको हो। सांकेतिक वार्डहरू नभएका र हिउँ पर्दा पर्यटक हराउने गरेको पाइन्छ। रङ लगाएर पदमार्गको बेस क्याम्पसम्म स्नो पोल गाडिएको छ। वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडको प्राविधिक सहयोगमा २ सय थान स्नो पोल र १ सय थान साइन बोर्ड राखिएको छ। समृद्ध पहाडका वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठ पर्यटकको सुविधाका लागि बाटो देखाउने गरी पोल र सांकेतिक बोर्ड राखिएको बताउँछन्।

कञ्चनजंघा हिमालका उत्तर र दक्षिण गरी दुई बेस क्याप्स रहेका छन्। दुवैतिर पर्यटकलाई सजिलो होस् भन्ने हिसाबले काम गरिएको श्रेष्ठको भनाइ छ। घुन्सादेखि उत्तरी बेस क्याम्प पाङपेमा बेस क्याम्पसम्म पोल गाडिएको छ। रानीपुलदेखि भरियालाई सामान बोकाएर लगी सो क्षेत्रमा राखिएको हो। खम्बाचेन, लोनाक हुँदै बेस क्याम्पसम्म पोल राखिएको छ। पाङपेमा बेस क्याम्प ५ हजार १ सय ४० मिटर उचाइमा पर्दछ।

वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडको प्राविधिक सहयोगमा २ सय थान स्नो पोल र सय थान साइन बोर्ड राखिएको छ।

‘हिउँ पर्न थालेपछि बाटो छोपिन थाल्छ। पर्यटकले बाटो भुल्ने खतरा हुन्छ। यस किसिमका अग्ला पोल राख्दा बाटो पहिल्याउन सजिलो हुन्छ,’ खम्बाचेनकी किपा शेर्पाले भनिन्, ‘यस पदमार्गको पूर्वाधार विकासमा जोड दिन सके यहाँ आउने पर्यटकलाई सजिलो हुने थियो।’ कञ्चनजंघा पदयात्रा पर्यटकको रोजाइमा पर्ने भए पनि यहाँका पर्याप्त पूर्वाधारको विकास भने सोही अनुरूप हुन सकेको छैन। पदमार्ग व्यवस्थित गर्न सकिएको छैन। खम्बाचेनदेखि कुम्भकर्ण हिमालको बेस क्याम्पतर्फ जान सकिन्छ।

संयोजक श्रेष्ठका अनुसार घुन्साबाट सेलेले पासबाट दक्षिणी बेस क्याम्प जाने ठाँउमा पनि यस्ता पोल राखिएका छन्। गत वर्ष हिउँको सिजनमा पर्यटकले यो पदमार्ग भएर पास गर्न सकेका थिएनन्। उत्तरी बेस क्याम्प पुगेर धुन्सा झरेका पर्यटक सेलेलेपास भएर ४ हजार ५ सय मिटरको उचाइमा रहेको दक्षिणी बेस क्याम्प पुग्छन्। सेलेले पास निक्कै जटिल मानिन्छ। गत वर्ष फागुन–चैतको सिजनमा हिँउले बाटो नदेख्दा पर्यटक सेलेले पास गर्न नसकेको घुन्साका टासी तेन्जिङले बताए। उनका अनुसार पोल भएपछि थप राहत हुने अपेक्षा गरिएको छ।

कञ्चनजंघा संरक्षण परिषद्ले दक्षिणी बेस क्याम्पका लागि वैकल्पिक मार्गको रूपमा लिएको रानीपुल हेल्लोक, यासाङ तोरङदेन चेराम र रामजेर ओक्ताङ रुटमा १ सय वटा साइन बोर्ड राखिएको श्रेष्ठले जानकारी दिए। अहिले यम्फुदिन भएर पर्यटक फर्किने गरेका छन्। यसअघि एक सय स्थानमा घुन्सासम्म साइन बोर्ड राखिएको थियो।
‘पर्यटकको सुविधाका लागि हामीले यो प्रयास गरेका हौं। पर्यटक बढ्ने क्रम जारी छ। पूर्वाधार र सुविधा विकासका लागि जोड दिन आवश्यक देखिएको छ,’ संयोजक श्रेष्ठले नागरिकसँग भने, ‘पदयात्रीलाई बाटो देखाउन तथा आवश्यक जानकारी प्रदान गर्ने हेतुले साइनेज तथा इन्फर्मेसन बोर्ड राखिएको हो। हिउँ पर्ने मौसममा हिउँले बाटो छोप्ने भएकाले स्नो पोल राखिएको हो। नेपालमा रहेका हिमालमध्ये दुईवटा भ्यूमा हेर्न सकिने एक मात्र हिमाल कञ्चनजंघा हो।’

क्ञ्चनजंघा बेस क्याम्प क्षेत्रकुमारी गन्तव्यको रूपमा रहेको छ। ठाउँ ठाउँमा होटल तथा टी–हाउस खुल्ने क्रम बढे पनि पदमार्ग विकास गर्ने र अन्य सुविधाको विस्तार गर्ने काम भने भएको छैन। बिरामी हुँदा स्वास्थ्योपचार, टोलिफोन सम्पर्क, इन्टरनेट र सुरक्षा व्यवस्थाको अभाव छ। केही ठाउँमा रुट मिलाउनुपर्ने देखिन्छ भने बाटोलाई पर्यटक हिँड्ने किसिमको बनाउन आवश्यक छ। यो क्षेत्र दक्षिण एसियाकै पहिलो समुदायमा हस्तान्तरित संरक्षण क्षेत्र हो। ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि रानीपुलसम्म गाडीमा जान सकिन्छ। ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म ८ वटा क्याम्प रहेका छन्।
सुविधा कम भए पनि पर्यटक बढ्ने क्रममा छ। दुईवटा बेस क्याम्प भएको तथा लोभलाग्दो क्षेत्र भए पनि अन्नपूर्ण बेस क्याम्प झै पर्याप्त पर्यटक आउन सकिरहेका छैनन्। लामो दूरी भएको पदमार्ग भएकाले यहाँ विविधता भरिपूर्ण भएको घुन्साका पर्यटन व्यवसायी हिमाली चुङदा शेर्पा बताउँछन्। ‘हिँड्नलाई सजिलो बाटलगायत पूर्वाधारको कमी छ। यो रुट लामो भएकाले महँगो हुन जान्छ,’ उनले भने, ‘व्यवस्थित गर्न सरकारले विशेष पहल गर्नुपर्छ।’

प्रकाशित: १४ कार्तिक २०७६ ०२:१२ बिहीबार

कंचनजंगा पदमार्ग