अर्थ

ताप्लेजुङका तीन स्थानीय तहले १० असारअघि नै बजेट ल्याउने

ताप्लेजुङका केही स्थानीय तहले असार १० गते अघि नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन्। 

आठराई त्रिवेणी गाउँपालिकाले असार ८ गते नीति, कार्यक्रम र बजेट ल्याउने भएको छ। पालिका अध्यक्ष दीपेन्द्र पोमूले असार ८ गतेका लागि तयारी भइरहेको बताए। पालिकाले वडा र टोलस्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेको छ। यसअघि जेठ २० गतेसम्म नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागिएको थियो। 

सिरिजङ्गा गाउँपालिकाले असार ८ वा ९ गतेभित्र बजेट पारित र स्वीकृत गर्ने योजना बनाएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार असार ७ र ८ गते कार्यपालिका बैठक बोलाइएको छ। 

स्वीकृत भएमा सिरिजङ्गाले सोही दिन वा भोलिपल्ट गाउँसभामार्फत बजेट पेश गर्नेछ। पालिकाले यसअघि १५ दिन सुझावका लागि समय दिएको थियो र वडास्तरमा योजना छनोट र बजेटबारे छलफल गरेको थियो। 

मैवाखोला गाउँपालिकाले गत वर्ष असार ९ गते बजेट ल्याएकोमा यस वर्ष असार १० अघि नै ल्याउने तयारी गरेको छ। पालिका अध्यक्ष विजयप्रकाश बनेमले जेठ २७ गतेदेखि बजेट अधिवेशन बोलाएर नीति र कार्यक्रम पारित गरी असार १० अघि बजेट ल्याउने बताए।

प्रकाशित: २१ जेष्ठ २०८२ ०९:५२ बुधबार

#NagarikNews