जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो।
तिला गाउँपालिका-९ रासागाउँका माेतिराम बुढाले असिनाले बालीनालीमा क्षति पुर्याएकाे बताए। उनले भने, 'भित्र्याउन तयारी अवस्थामा रहेको जौं सखाप बनायो, पूरै खेतमै झारिदियाे। यता बारीमा लगाएको गहुँबालीमा नाेक्सान गरेको छ। सिमी, आलु, मकै, फापर पनि पूरा नष्ट गरेको छ।'
अर्का किसान उमेश रावतका अनुसार फलफूलहरू स्याउ, आरु, ओखरका चिचिलासमेत असिनाले झारेको छ। उमेशले गुनासो गरे, ‘यो वर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन अहिले असिना जति पर्यो। पहिलोपटक यति धेरै मात्रामा असिना परेको छ। भित्र्याउने बेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु।’
तत्कालै किसानको मन थाम्न स्थानीय सरकार र प्रशासनले राहतकाे उचित प्रबन्ध मिलाउनुपर्ने उनीहरूको भनाइ छ।यस्तै असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ। भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी किसान बताउँछन्।
असिनाले राँसाका १ सय १० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन्। यता तिला-९ का वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए। उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो। अब उहाँहरूलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ।’
अध्यक्ष रावतले स्थानीय सरकारले किसानका दु:ख पीडा झरेका आँसु पुछ्ने प्रायास गर्ने बताए। सक्नेजति राहत उपलब्ध गराउने वाचा उनले गरे। अन्य प्रशासन, प्रदेश र संघका हारगुहार गर्ने उनको भनाइ छ।
यस्तै मंगलबार बेलुका परेको वर्षा संगै आएको बाढीले जुम्लाको हिमा गाउँपालिका-१ देवारगाँउका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएकाे छ। खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रूपमा क्षति पुगेको छ।
रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिरोले धानका बेर्नामा क्षति गर्दा किसनाहरू रोपाइँ नहुने चिन्तमा छन्। १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा क्षति पुर्याएको तिला-१ का वडाध्यक्ष रतन शाहीले बताए।
अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ। देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्ण रूपमा नष्ट गरेको शाहीले बताए। रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरू अन्य बाली लगाउने विकल्पको खोजीमा छन्।
यसअघि वैशाखमा जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा लाखौंको क्षति पुर्याएको थियो।
प्रकाशित: १० जेष्ठ २०८२ १०:०७ शनिबार