उदयपुरका स्थानीयतहको आर्थिक वर्ष ०८०र८१ को बेरुजु साढे ३१ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षण (मलेप)को प्रतिवेदनले उदयपुरका ४ नगर र ४ गाउँपालिकामा बेरुजु रकम ३१ करोड ५३ लाख ८३ हजार देखाएको हो। सबभन्दा बढी बेरुजु जिल्ला सदरमुकाम त्रियुगा नगरपालिकाको रहेको छ । सबैभन्दा कमभने उदयपुरगढी गाउँपालिकामा देखिएको प्रतिवेदनले देखाएको छ ।
त्रियुगाको ३ अर्ब ४३ करोड ६ लाख ३६ हजार खर्चको लेखापरीक्षण गर्दा १२ करोड ३० लाख ९१ हजार बेरुजु देखिएको छ । अंकका आधारमा नगरतर्फ सबैभन्दा कम बेरुजु बेलका नगरको छ भने गाउँपालिकातर्फ सबैभन्दा बढी लिमचुङबुङ र सबैभन्दा थोरै उदयपुरगढीको छ ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु ४ करोड ४० लाख ८ हजार, कटारी नगरपालिकाको बेरुजु ४ करोड १९ लाख ८७ हजार र बेलका नगरपालिकाको बेरुजु ४ करोड १७ लाख ३६ हजार देखिएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा बढी बेरुजु लिमचुङबुङको २ करोड ४१ लाख ४३ हजार देखिएको छ । ताप्लीको १ करोड ५२ लाख २९ हजार, रौतामाईको १ करोड ३० लाख ७२ हजार र उदयपुरगढीको बेरुजु १ करोड २१ लाख १७ हजार रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।
विगत वर्षको तुलनामा यो वर्ष ताप्लीको बेरुजु उल्लेख्यमात्रामा घटेको पाइएको छ । गतवर्ष ५ करोड ६२ लाख १४ हजार बेरुजु रहेको ताप्लीको यो वर्ष झण्डै ४ करोडले घटेको छ ।
प्रकाशित: ६ जेष्ठ २०८२ १७:१७ मंगलबार