अर्थ

मालपोतको ९ महिनाको आम्दानी साढे ११ करोड

मालपोत कार्यालय गाईघाटले चालु आर्थिक वर्ष ०८१/८२ को ९ महिना अवधिमा साढे ११ करोड बढी राजश्व सङ्कलन गरेको छ । गएको साउनदेखि चैत मसान्तसम्ममा मालपोतको आमदानी ११ करोड ७२ लाख ८४ हजार १ सय २९ रुपैँया भएको पुगेको छ ।

मालपोत कार्यालयले घर जग्गा रजिस्ट्रेसन शुल्क, सेवा, रोक्का तथा अन्य शुल्क शीर्षकमा राजश्व उठाउने गरेको छ । त्यस्तै लाभ कर पनि मालपोतले राजश्व असुल्ने अर्को महत्त्वपूर्ण स्रोत हो । कार्यालयको सबभन्दा ठूलो आमदानीको स्रोत भने घरजग्गा रजिस्ट्रेसन, सेवा र रोक्का तथा फुकुवाबापतको कर हो ।

कार्यालयका सूचना अधिकारी नायब सुब्बा तिलक नेपालीका अनुसार साउनदेखि चैतसम्ममा घर जग्गा रजिस्ट्रेसन शुल्क, रोक्का र फुकुवा शुल्कबापत ९ करोड २२ लाख ३६ हजार ९ सय १ रुपँैँया सङ्कलन भएको छ । त्यस्तै लाभ कर बापतको शुल्क २ करोड ४९ लाख १३ हजार ३ सय ३ रुपैँया उठेको छ । अन्य शुल्कबापतको रकम १ लाख ३३ हजार ९ सय २५ रुपैँया सङ्कलन भएको नासु नेपालीले बताए ।

मालपोत कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा १६ करोड ७० लाख ४९ हजार ३ सय २३ रुपैँया राजश्व उठाएको थियो । जसमा घर जग्गा रजिस्ट्रेसन, रोक्का र फुकुवाबापत १२ करोड ३२ लाख ३४ हजार ३ सय ५७ रुपैँया सङ्कलन भएको थियो । त्यस्तै लाभ कर गत वर्ष ४ करोड ३८ लाख १४ हजार ९ सय ६६ रुपैँया उठेको थियो । मालपोत अधिकृत दुविन्द्रप्रसाद बरालले बताए ।

कार्यालय प्रमुख मालपोत अधिकृत दुविन्द्रप्रसाद बरालका अनुसार मालपोत कार्यालयमा सङ्कलित राजश्व सङ्घीय सरकार र स्थानीय तह तथा प्रदेश सरकारलाई बाँडिएर जान्छ । लाभ कर बापतको राजश्व रकम सरकारलाई पठाउनुपर्छ भने घर जग्गा रजिस्ट्रेसन शुल्कबापतको रकम स्थानीय तह र प्रदेश सरकारले बाँडेर लिन्छन् । बाँडफाँड रकम स्थानीय तहलाई ६० र प्रदेशलाई ४० प्रतिशतका दरले लिने हाकिम बरालले बताए ।

यो ९ महिनाको सङ्कलित राजश्वको आकार गत वर्ष उठेको अङ्कभन्दा झण्डै साढे ४ करोडले थोरै छ । तर, यस वर्ष पनि गत वर्षकै हाराहारी अथवा केही बढी राजश्व सङ्कलन हुने अपेक्षा गरिएको हाकिम बरालले बताए ।  

प्रकाशित: १७ वैशाख २०८२ १३:०४ बुधबार