जुम्लाको सदरमुकाम खलंगामा सोमबारदेखि प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।
उद्योग वाणिज्य संघ जुम्लाको आयोजना संचालित महोत्सव वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। ‘‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधारः जुम्ला विकासको मूल आधार’’ भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभाका सांसद देवेन्द्रबहादुर शाहीले गरे।
महोत्सवले कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे। ‘‘स्थानीय उत्पादनको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ,’’ सांसद शाहीले उद्घाटन समारोहमा भने।
महोत्सवमा स्थानीय सामग्रीको प्रदर्शनी, प्रवर्द्धन र बजारीकरण गरिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले जानकारी दिए।
उनका अनुसार महोत्सवमा कर्णाली क्षेत्रका कलाकारहरुको मात्र प्रस्तुति हुनेछ। देउडा गायक नवराज भण्डारी, विपना सिंह, सम्झना अधिकारी लगायत जुम्लाबाट काठमाडौं पुगेका कलाकारहरुको समेत प्रस्तुति रहनेछ। साथै जिल्लाका स्थानीय प्रतिभाहरूले पनि प्रतिनिधित्व गर्नेछन्।
‘‘महोत्सवमा स्थानीय स्वाद चखाउने व्यवस्था मिलाइएको छ,’’ अध्यक्ष देवकोटाले भने, ‘‘यसले रैथाने संस्कृति र संस्कारको पहिचान दिन मद्दत गर्नेछ।’’
महोत्सवमा २२ वटा स्टल राखिएको छ। पहिलो दिन पाँच वटा स्टल सञ्चालनमा आए पनि बाँकी सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ।
स्टलहरूलाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्टलहरूलाई क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यसपटक महोत्सव कभर्ड हलको मैदानमा आयोजना गरिएको छ। अघिल्ला वर्षहरूमा सीमाचौर वा नेपाली सेनाको टुँडिखेल मैदानमा महोत्सव आयोजना गरिँदै आएकोमा, सीमाचौरमा रंगशाला निर्माण भइरहेकाले र सेनाले मैदान नदिएपछि कभर्ड हलमा कार्यक्रम सारिएको आयोजकले जनाएको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले महोत्सवले कर्णाली क्षेत्रका सम्भावनाहरू उजागर गर्ने बताए। ‘‘अब आयातमा निर्भर होइन, स्थानीय उत्पादन वृद्धि गर्नुपर्छ। स्याउ, सिमी, कालिमार्सी र रातिमार्सी धान तथा पशुपालन क्षेत्रको विस्तारले समृद्धिमा टेवा पुग्नेछ,’’ उनले भने।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने बताए।
प्रकाशित: १५ वैशाख २०८२ १८:२५ सोमबार