कञ्चनजंघा हीरक महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको छ।
हिमालयन् ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय व्यवस्थापक डाक्टर घनश्याम गुरुङ र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूसहितको उपस्थितिमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको लेलेपमा रहेका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिए।
आज (शुक्रबार)बाट सुरु हुने कञ्चनजंघा हीरक महोत्सवको उद्घाटनका लागि भने नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईसहितका अतिथि उपस्थित हुने कार्यक्रम रहेको महोत्सव आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए।
महोत्सववैशाख ७ गतेसम्म चल्ने छ। महोत्सवकै अवसरमा बैशाख ३ गतेदेखि अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता जारी छ। उक्त प्रतियोगितामा ताप्लेजुङका मैवाखोला र आठराई त्रिबेणी बाहेक ७ तथा पाँचथरको याङवरक गरी ८ टिमको सहभागिता रहेको खेल संयोजक सन्तोष लिम्बूले जानकारी दिए।
महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत हुने छ। उक्त कार्यक्रमका लागि चर्चित हाँस्य कलाकार मनोज गजुरेल, मिलन नेवार, डेविड शंकरसहितका कलाकार ताप्लेजुङ आइसकेका छन्।
प्रकाशित: ५ वैशाख २०८२ ११:०० शुक्रबार